coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

वर्ष दिन बित्दासमेत क्षतीग्रस्त पुल पुनर्निर्माण भएन

वर्ष दिन बित्दासमेत मर्मत हुन नसकेको मात्तिम–५ र टेम्मा–९ जोड्ने बर्मीस्थित क्षतीग्रस्त झोलुंगे पुल। तस्बिरः दमन राई

खोटाङ– बाढीले बगाएको वर्षदिन बित्दासमेत झोलुंगे तथा काठे पुल पुननिर्माण हुन नसक्दा खोटाङका दर्जनौं गाविसका स्थानीयलाई आवतजावतमा समस्या भएको छ। वर्ष दिनअघि साप्सु तथा तावा खोलामा आएको बाढीले बगाएको दर्जनौँ झोलुंगे तथा काठे पुल मर्मत हुन नसक्दा स्थानीय सकसपूर्ण यात्रा गर्न बाध्य छन्।

भारी वर्षापछि २०७२ साल असार १९ गते राति साप्सु र तावा खोलामा आएको भीषण बाढीले क्षतीग्रस्त बनाएको झोलुङ्गे तथा काठे पुल मर्मत तथा पुःर्ननिर्माण हुन नसक्दा मात्तिम, छितापोखरी, टेम्मा, रतन्छा, दोर्पाचिउरीडाँडा, खिदिमालगायतका गाविसका सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो। झोलुंगे पुल तथा काठे पुल बगेपछि स्थानीय सहित विद्यालय जाने साना उमेरका विद्यार्थी सबैभन्दा बढी मारमा परेको मात्तिम–४ का स्थानीय भवनकुमार आचार्यले बताए।

‘ठूला मान्छे त जसोतसो खोलो तर्छन्,’ आचार्यले भने, ‘तर स्कुले केटाकेटीलाई वर्षामा विद्यालय पठाउनै मुस्किल भइरहेको छ।’ तावा खोला र साप्सु खोला हिउँदमा हिँडेरै तर्न सकिने अवस्था भए पनि वर्षामा भने अनिवार्य पुल आवश्यक छ। प्रयोग हुँदै आएको पुल बाढीले बगाएपछि स्थानीय वर्षाको समयमा अर्को पुल भेट्नका लागि घण्टौँ घुम्न बाध्य छन्।

तावा खोलामा आएको बाढीले बगाएको मात्तिम–४ र छितापोखरी–८ जोड्ने सिरुवारी झोलुङ्गे पुल तथा मात्तिम–५ र टेम्मा–९ जोड्ने बर्मीस्थित झोलुंगे पुल अहिलेसम्म पुःर्ननिर्माण हुन सकेको छैन। बर्मीस्थित पुल आवतजावत गर्न नमिल्नेगरी क्षतविक्षत बनेको छ भने, सिरुवारी पुलको छितापोखरीतर्फको जगको नामनिसाना नै बाँकी छैन। सो पुल लट्ठासहित मात्तिमतर्फ पाखामा लतारिएको छ। यस्तै, साप्सु खोलामा आएको बाढीले रतन्छा–४ र दोर्पाचिउरीडाँडा–५ जोड्ने लामदुवाली पुल बगाएपछि वर्ष दिनदेखि स्थानीय सकसपूर्ण यात्रा गर्न बाध्य छन्। बाढीले पुल चुँडाएपछि गाविस–गाविसबीचको सीधा सम्पर्क हालसम्म बिच्छेद छ।

पुलको अभावमा खोलो तरेर एक गाविसबाट अर्को गाविसमा पुग्न सकसपूर्ण यात्रा गर्न बाध्य बनेको मात्तिम–५ का स्थानीय ज्ञानेन्द्र चामलिङले बताए। पुल अभावमा आवतजवत गर्न समस्य भए पनि यस बिषयमा कसैको ध्यान जान सकेको छैन। तत्कालिन प्रजिअ गोबिन्द सापकोटाको अध्यक्षतामा बसेको दैबी प्रकोप उद्धार समितिको बैठकले पुल निर्माणका क्रममा सहयोग गर्ने दातृनिकायलाई नै पुन पुल पुनर्निर्माणका लागि आग्रह गर्ने निर्णयबाहेक अन्य काम अघि बढ्न नसकेको स्थानीयको गुनासो छ।

खिदिमा–९ र २ जोड्ने खोबु दोभानको काठे पुल बग्दा खिदिमा–१ र २ का सर्वसाधारण बढी मारमा परेको स्थानीय सामाजिक परिचालक नबिन राईले बताए। खोबु दोभानको काठे पुलबाट खिदिमाका स्थानीय भोजपुरसम्म पुगेर ओहोरदोहोर गर्छन्। खिदिमा–५ र ८ जोड्ने पत्रांगेटार काठे पुल बग्दा तराई जानेआउने स्थानीयलाई समस्या भइरहेको छ।

रतन्छा–१ र ९ जोड्ने गाग्री दह काठेपुल तथा रतन्छा–२ र ९ जोड्ने बेलिया टार काठे पुल बगेपछि वर्षा याममा बाँझेच्यानडाँडा–९, रतन्छा–१ र २ का विद्यार्थीलाई साकेला उच्च मावि जानआउन समस्या छ। छितापोखरी–६ र ७ जोड्ने काठे पुल बाढीले बगाएपछि धिप्लुङ मावि जाने छितापोखरी–६, ७, ८ र ९ का विद्यार्थीलाई आवतवात गर्न समस्य भएको सामाजिक परिचालक रविना सुबेदी बताउँछिन्।

तावा खोलाको बाढीले बगाएका खिदिमाका पाँच वटा काठे पुल पनि पुःर्ननिर्माण हुन सकेको छैन। बाढीले खिदिमा–१ र ९ जोड्ने, खिदिमा–१ र २ जोड्ने, खिदिमा–९ र २ जोड्ने खोबुदोभान, खिदिमा–२ र ९ जोड्ने र खिदिमा–५ र ८ जोड्ने पत्रांगेटार काठे पुल बगाएको थियो। यस्तै, रुपूवाँ खोलाको बाढीले बेपत्ता बनाएको बाँझेच्यानडाँडामा बाँझेच्यानडाँडा–८ र ८ जोड्ने ढारेढुंगा काठे पुल, च्यानडाँडा–९ र ९ जोड्ने चिप्लेढुंगा काठे पुल, च्यानडाँडा–८ र ९ जोड्ने मुस्तेरी काठे पुल, रतन्छा–१ र च्यानडाँडा–८ जोड्ने ससाखोर काठे पुल, कुन्तुङदेबी थान काठे पुल, दोब्रोवा खोला काठेपुल र साप्सु दोभान काठे पुल हालसम्म पुःर्नमर्मत गर्न सकिएको छैन।

बाढीले मात्तिम–५ मा ढाँडे दोभान काठे पुल, मात्तिम–१ र टेम्मा–९ जोड्नेलगायतका काठे पुल बगाएको छ। बाढीका कारण खोलाको चौडाई फराकिलो बनेकाले सबै ठाउँमा पुःन काठे पुल राख्न सकिने अवस्था छैन। बाढी आउनअघि छोटो काठे पुलले काम गरिरहेको खोलाको फाँटमा अहिले झोलुंगे राख्नुपर्ने अवस्था बनेको रतन्छा–१ का स्थानीय चक्रप्रसाद फुयाँलले बताए।

‘पहिला खोलो साँघुरो थियो, र जताततै काठको काम चलाउ साँघु राखिएको थियो,’ फुयाँलले भने, ‘बाढीले खोलो फराकिलो बनाएकाले न काठे पुल राख्न सकियो न त झोलुंगे पुल नै।’

बेलिया खोलामा आएको बाढीले रतन्छा–१ र ९ जोड्ने गाग्री दह काठेपुल, रतन्छा–२ र ९ जोड्ने बेलिया टार काठे पुल, रतन्छा–१ मबु र रतन्छा–९ जोड्ने, रतन्छा–२ र ८ जोड्ने चप्लेटी काठे पुल, ओखरबोटे काठे पुल, रतन्छा–१ र ४ जोड्ने बेलीया दोभान काठे पुल तथा रतन्छा–३ र मात्तिम–७ जोड्ने काठे पुल बगाउँदा स्थानीय मारमा छन्।

मात्तिमका आमाछोरीलाई बेपत्ता बनाएको बाढीले दर्जनौँ नहर तथा लघुजलबिद्युत आयोजनासमेत बगाएको थियो। बाढी गएपछि जिल्ला दैबिक प्रकोप उद्धार समितिको निर्देशनमा प्रभाबित क्षेत्रमा स्थलगत अध्ययनका लागि पुगेको प्राविधिक टोलीले पुल पुःर्ननिर्माणकालागि मात्र १२ करोढ ५३ लाख बढि रकम लाग्ने मूल्यांकन प्रतिबेदन बुझाएको थियो।

कटानका कारण पुल जोखिममा
बाढीको कटानका कारण खोटाङको खिदिमा–७ र छितापोखरी–९ जोड्ने स्टील ट्रस ब्रीजको जग जोखिममा परेको छ। सो पुलको खिदिमातर्फको जग ८ मिटर कटानमा परेको छ। यस्तै, खिदिमा–३ र खिदिमा–८ किवा जोड्ने ट्रस ब्रीजको जग कटानहुँदा जुनसुकैबेला पुल भत्किने जोखिम बढेको स्थानीय बताउँछन्। जग कटान हुँदा मात्तिम–६ आहाले र छितापोखरी–८ गोगने जोड्ने झोलुंगे पुल उच्च जोखिममा परेको छ। पुलको जग अड्याइएको ढुंगा नढले पनि चिराचिरा परेर चर्किएको मात्तिममा गाबिस सचिव होमनाथ खनालले बताए। सोही खोलाको बाढीको कटानले खिदिमा–७ र खिदिमा–८ किवा जोड्ने झोलुंगे पुलको जग पनि कमजोर बनाएको छ।

 

प्रकाशित: ८ आश्विन २०७३ ०९:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App