coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

हाम्रो हिरो पद्म दाइ

पद्मरत्न तुलाधर (पद्म दाइ) अब यस संसारमा रहनु भएन । नेपालको एक ‘अनमोल रत्न’को अन्त्य भएको छ । यो आजको सत्य हो । जन्मेपछि मानिसको जीवन अन्त्य हुन्छ । यो अवश्यम्भावी छ । यस वास्तविकता हामी सबैले जानेका र मानेका छौँ पनि । तथापि उहाँको निधनबाट हामी स्तब्ध भएका छौँ । यति चाँडो हामीलाई छोडेर जानु हुनेछ भनेर कल्पना पनि गरिएको थिएन । किनभने यही भदौ १ गते नेवारी संस्कृतिअनुसार उहाँको जंकु (७७ वर्ष ७ महिना ७ औँ जन्म दिन) मनाउने क्रममा करिब ४ घण्टासम्म हामी अधिकारकर्मी उहाँको साथमा थियौँ । त्यस अवसरमा एक अन्तक्र्रिया कार्यक्रम पनि भएको थियो । विभिन्न कोणबाट उहाँका बारेमा परिचर्चा एवं समीक्षा भएका थिए । वक्ताहरू उहाँका समीपमा रहेर काम गर्ने व्यक्तिहरू नै थिए । मुलुकको ऐतिहासिक राजनीतिक परिवर्तनका लागि पु-याउनुभएको भूमिकाकोे खुलेर प्रशंसा भयो । उहाँले भाषा–संस्कृति, पत्रकारिता, राजनीति, शान्ति प्रक्रिया र मानव अधिकारका क्षेत्रमा पु-याउनु भएको अतुलनीय योगदानसमेतको चर्चा भएको थियो । आज हामीले यो स्वीकार्नु पर्छ– वास्तविक जीवनको एक ‘हिरो’ हुनुहुन्थ्यो, पद्म दाइ।

पद्म दाइले राष्ट्रका लागि स्वार्थरहित भावबाट पु-याउनु भएको योगदान केलाउन त्यति सजिलो छैन । उहाँसँग नागरिक समाज र अधिकारकर्मीका नाताले गरेको संगतबाट मैले महसुस गरेका, जानेका र बुझेका केही अंश मात्र कोर्ने जमर्को गरेको छु । मलाई थाहा छैन, उहाँले यस मुलुकका लागि पु-याउनु भएको सेवा र व्यक्तिगत जीवनका बारेमा मैले कति न्याय गर्न सक्नेछु भनेर । तर उहाँलाई मैलै जति जानेँ र बुझेँ त्यसका आधारमा केही अंश मात्र यहाँ कोट्याउने कोसिस गरेको हुँ।

भाषा–संस्कृति, पत्रकारिता, राजनीति, शान्ति प्रक्रिया र मानव अधिकारका क्षेत्रमा पु-याउनु भएको अतुलनीय योगदानसमेतको चर्चा गर्दा उहाँ वास्तविक जीवनको एक ‘हिरो’ हुनुहुन्थ्यो।

साधारण जीवनशैली एवं असल बानी–व्यवहारका धनी भए पनि उहाँको असाधारण व्यक्तित्वबाट प्रभावित नहुने सायद कोही सहभागी थिएनन् होला भदौ १ गतेको कार्यक्रममा । आफ्नो प्रचार गर्न नरुचाउने अत्यन्तै कोमल मन भएका, शालीन, सभ्य र सुसंस्कृत पद्म दाइका बारेमा जानकारी नभएका कतिपय कुरा थाहा पाउने मौका पाइएको थियो, त्यस अवसरमा । आफ्नाबारेमा भएका टीका–टिप्पणी र धारणालाई बडो नम्र एवं धैर्यपूर्वक सुन्नुभयो, पद्म दाइले । प्रायः सार्वजनिक कार्यक्रममा बोल्न छोडिसक्नु भएका उहाँले त्यस दिन आफूलाई लागेका कुराहरू मन खोलेरै करिब ४५ मिनट बोल्नुभयो।

विगतमा राष्ट्रिय स्तरमा उठेका विवादका बारेमा त्यहाँ व्यक्त धारणाप्रति उहाँले कुनै प्रतिक्रिया दिनुभएन । उहाँको भद्रताको अद्भुद नमुना थियो, त्यो । यही कारणबाट हुनसक्छ नेपाली समाजमा उहाँविरुद्ध उठेका भ्रामक समाचार तथा धारणालाई कहिल्यै चिर्न चाहनु भएन पद्म दाइले । भन्दा दुःख लाग्छ– उहाँको त्यो अभिव्यक्ति हामी अधिकारकर्मीका लागि अन्तिम बन्न पुग्यो । मैले बिताएको त्यस क्षण मेरा लागि अन्तिम भेट भयो।

पद्म दाइ स्वास्थ्यमन्त्री छँदा भनिएको ‘गाई काट्न पाउनुपर्ने’ अभिव्यक्तिले त्यति बेला मुलुकभर निकै विरोध भयो । उहाँले मन्त्री पदबाट राजीनामा दिनुभयो तर यसबारे स्पष्टीकरण दिने अथवा बचाऊ गर्नुभएको थाहा पाइएन । कार्यक्रमबाट थाहा भयो, त्यस बखत त्यहाँ उपस्थित रेडियो नेपालका ‘घटना र विचार’का एक प्रतिनिधिले ‘कुनै समुदायले गाई काट्न पाउनुपर्छ भन्ने माग राखे के गर्ने ?’ भन्ने उहाँको प्रश्नलाई गलत ढंगबाट रिपोर्टिङ गर्दा मुलुकभर यसको नकारात्मक तरंग फैलिएको थियो।

उहाँको भाषा एवं पहिचानको आन्दोलनलाई पनि धेरैले बुझेनन् र गलत अर्थ लगाए । मैले बुझ्दा यसको पृष्ठभूमि उहाँको व्यक्तिगत जीवनसँग गाँसिएको थियो । पञ्चायत कालमा जेल पर्दा आमा भेट्न आएको प्रसंग उहाँले सुनाउने गर्नुहुन्थ्यो । उहाँकी आमा नेवारी भाषा मात्र बोल्न जान्ने । त्यतिबेला जेलमा नेपालीबाहेक अन्य भाषामा कैदी–बन्दीसँग संवाद गर्न पाइँदैन थियो । त्यसैले उहाँकी आमाले पद्म दाइसँग बोल्न नपाई छुटिनुपरेको पीडाले उहाँलाई जीवनभर सतायोे । यो भनाइ पोख्दा भावविह्वल भएर उहाँको आँखाबाट बलिन्द्र आँसु झर्ने गर्थे । यसबाट हामीलाई उहाँको भाषा तथा पहिचानको संवेदनशीलतालाई बुझ्न भने सजिलो हुन्थ्यो र भएको छ पनि । उहाँ व्यावहारिक हुनुहुन्थ्यो तर त्यसलाई स्वार्थी समूहहरूले राजनीतिकरण गर्दै आए सायद यसलाई जारी राख्नेछन् पनि।

पञ्चायत कालमा जेल पर्दा आमा भेट्न आएको प्रसंग उहाँ सुनाउने गर्नुहुन्थ्यो । उहाँकी आमा नेवार भाषा मात्र बोल्न जान्ने । त्यतिबेला जेलमा नेपालीबाहेक अन्य भाषामा कैदी–बन्दीसँग संवाद गर्न पाइँदैन थियो । त्यसैले उहाँकी आमाले पद्म दाइसँग बोल्न नपाई छुटिनुपरेको पीडाले उहाँलाई जीवनभर सतायोे ।

द्वन्द्वकालमा माओवादी नेता तथा कार्यकर्तामाथि भएका गैरन्यायिक हत्या, यातना तथा बेपत्ता पार्ने कार्यको विरोध गर्दा ‘पद्मरत्न नै प्रचण्ड हुन्’ भन्ने गलत प्रचारबाजी भयो । त्यसबेला मानव अधिकारवादी समुदायले ‘मानव अधिकारवादी भनेका माओवादी हुन्’ भन्ने आरोपसमेत खप्न बाध्य थिए । भारतको एक टिभी च्यानलले त हदै पार ग-यो । पद्म दाइलाई प्रचण्ड बनाउन कुनै कसर छोडेन । पद्म दाइले लगाएको बिर्खेटोपीको तस्बिरसहित प्रचण्डको त्रासदीय आतंक हप्तौँ दिनसम्म चल्यो । लाग्थ्यो, प्रचण्ड अरु कोही थिएनन् पद्मरत्न हुन्।

उहाँ अन्तर्राष्ट्रिय क्षेत्रसमेतले पत्याएको एक विश्वसनीय र भरपर्दो अधिकारकर्मी हुनुहुन्थ्यो । मेरो जानकारी अनुसार एम्नेस्टी इन्टरनेसनल लन्डनले दुवै द्वन्द्वपक्षबाट भएका ज्यादती र मानव अधिकारका हननसम्बन्धी सत्य–तथ्यको जानकारी पद्म दाइबाट लिने गथ्र्याे । संयुक्त राष्ट्र संघका प्रतिनिधिले पद्म दाइमार्फत तत्कालीन विद्रोही माओवादीसँगको संवाद तथा अन्य सूचना प्राप्त गर्थे।

भदौ १ गतेको कार्यक्रबाट यो पनि थाहा भयो, मदन भण्डारीको अप्रत्यासित निधनपछि मालेको महासचिवको जिम्मेवारी उहाँलाई सुम्पन खोजिएको थियो । तर त्यसलाई उहाँले अस्वीकार गर्नु भएन । त्यसैगरी पहिलो राष्ट्रपतिको चुनावअघि माओवादीका अध्यक्ष पुष्पकमल दाहालले डा. बाबुराम भट्टराईको उपस्थितिमा नागरिक समाजको तर्फबाट राष्ट्रपति बन्न प्रस्ताव गरेका थिए । दाहालले यो प्रस्ताव ‘सी नाइन’ (सिटिजन नाइन)समेतको उपस्थितिमा गरेका थिए । ‘सी नाइन’ भन्ने जनाको नागरिक समूह हो । त्यसमा पद्म दाइ, दमननाथ ढुंगाना, नीलाम्बर आचार्य, डा. वीरेन्द्र मिश्र, डा.महेश मास्के, श्याम श्रेष्ठ, सुशील प्याकुरेल, कनकमणि दीक्षित र मसमेत थियौँ । तर त्यस प्रस्तावलाई पनि उहाँले तत्कालै अस्वीकार गर्नुभयो । यसबाट बुझिन्छ, उहाँ पदीय राजनीतिभन्दा माथि हुनुहुन्थ्यो । यो उहाँको निःस्वार्थपनाको मापन पनि यही हो भन्ने लाग्छ । अर्को शब्दमा भन्ने हो  भने कर्तव्य गर तर व्यक्तिगत लाभको आशा नगर भन्ने विचार बोक्ने नागरिक अगुवा हुनुहुन्थ्यो, पद्म दाइ।

ऐतिहासिक राजनीतिक परिवर्तनहरूमा उहाँको अटुट क्रियाशीलता रह्यो । माओवादीलाई हतियार बिसाएर शान्ति प्रक्रियामा ल्याउन अग्रणी भूमिका खेल्न सफल हुनुभयो उहाँ, दमन दाइको साथ लिएर । लोकतान्त्रिक र मानव अधिकारका मूल्य–मान्यता अक्षुण्ण राख्न रक्षक मात्र होइन, अभियानकर्तासमेत बन्नुभयो । कसैलाई भरसक ‘नाइँ’ अथवा ‘हुँदैन’ भन्न नसक्ने, एक लोकप्रिय एवं असल मान्छेका छविबाट परिचित र नागरिक आन्दोलनमा कहिल्यै नथाक्ने नाम थियो, ‘पद्मरत्न तुलाधर’।

यसै सन्दर्भमा २०४६ पछि ०६२÷०६३ को जनआन्दोलनमा समेत उहाँको अहं भूमिका विशेष स्मरणीय छ । यो आन्दोलन तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरंकुश शासनका विरुद्धमा थियो । २०४६ साल प्रजातन्त्र पुनःस्थापना भएपछि प्रमुख राजनीतिक दलहरू जनता बीच अलोकप्रिय बन्दै गएका थिए । यसको फाइदा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएर गरे । संकट कालको घोषणा भयो। त्यसबेला मुलुकमा माओवादीद्वारा सञ्चालित हिंसात्मक विद्रोह पनि जारी नै थियो । तथापि राजाको प्रत्यक्ष शासनकालबाट सात राजनीतिक दल, माओवादी र नागरिक समाजको दूरी नजिक्याउने काम पद्म दाइसमेतले गर्नुभयो । यसबाट देशमा शान्तिको चाहना बढ्यो । माओवादीबाट एकतर्फी युद्धविराम घोषणा भयो । नेपाल बारका तत्कालीन अध्यक्ष शम्भु थापाको संयोजनमा नागरिक स्तरको २२ सदस्सीय एकतर्फी युद्धविराम अनुगमन समिति बन्यो । माओवादी उपल्लो नेतृत्वसँगको सम्पर्क गर्ने भूमिका पद्म दाइले निर्वाह गर्नुभयो । तत्कालीन माओवादी र सात राजनीतिक दलबीच १२ बुँदे समझदारीमा पुग्न यसबाट सहज भयो र शान्ति प्रक्रियाको वास्तविक थालनी यहीँबाट सुरुवात भएको हो पनि।

यसै सन्दर्भमा माओवादीसमेतको समर्थन र नागरिक समाजको परामर्शमा लोकतन्त्र पुनर्बहालीका लागि २०६२ चैत २४ गतेदेखि जुलुस, हड्ताललगायत विभिन्न कार्यक्रमको घोषणा भयो । यसबाट तत्कालीन निरंकुश शासन झन् कठोर बन्यो । उसले चैत २४ गते बिहान १० बजेदेखि काठमाडौँ उपत्यकाको रिङरोडभित्र कफ्र्यु लागेको घोषणा ग¥यो । यसपछि हामीले कफ्र्युको पहिलो दिन यसलाई तोड्ने निर्णय ग-यौँ।

यही सन्दर्भमा सोही दिन कफ्र्यु कसरी तोड्ने भन्ने छलफल महाराजगञ्ज टिचिङ अस्पतालमा भयो । पद्म दाइले हामीले गोली खाएर मर्दा वा बाँच्दा के गर्दा आन्दोलनलाई फाइदा हुन्छ भन्ने प्रश्न अघि सार्नुभयो । ३ घण्टाको छलफलपछि गोली खाए आन्दोलनलाई फाइदा हुने निचोड निक्लियोे । कफ्र्यु तोड्ने क्रममा गोली लागे के गर्ने भन्ने फेरि अर्को प्रश्न तेर्सियो । यस सवालमा पद्म दाइले भन्नुभयो, ‘अघिका साथीलाई गोली लागेमा पछिल्तिरकाले बोक्ने, अस्पताल ल्याउने र बचाउने । बाँकी साथीहरू अघि बढ्ने र यो क्रम जारी राख्ने।’

सायद कफ्र्यु तोड्ने कुरा राज्यले चाल पाएर होला, हामी निस्कने सडकमा आर्मीको सट्टा सशस्त्र प्रहरी तैनाथ थिए । तिनले बन्दुक बोकेका थिए तर गोली चलाएनन् । हामीलाई पक्रे । पद्म दाइसमेत २४ जना दुवाकोट सशस्त्र प्रहरी गणमा १९ दिन थुनियौँ । मुलुकको लोकतान्त्रिक भविष्यका लागि ज्यानसमेत दिन तयार हुनुपर्छ भन्ने सन्देश यसबाट उहाँले हामी सबैलाई दिनुभएको छ । भावपूर्ण श्रद्धाञ्जली हाम्रा ‘हिरो’ पद्म दाइप्रति।

प्रकाशित: २१ कार्तिक २०७५ ०४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App