coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आठौँ राष्ट्रिय खेलकूद स-यो, १३ औँ साग पनि प्रभावित हुने

काठमाडौं– पूर्वाधार अभावका कारण आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता दुई महिनापछि सारिएको छ। आगामी मंसिरमा प्रदेश नं ५ का विभिन्न स्थानमा हुने तय भएको सो प्रतियोगिता आगामी माघ २५ देखि फागुन १ गतेसम्म गर्ने गरी तय भएको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिए।

अघिल्लो महिना नुवाकोटको ककनीमा बसेको राष्ट्रिय खेलकूद परिषद् सञ्चालक समितिको (बोर्ड) बैठकले मङ्सिर ८ गतेदेखि नेपालगञ्ज रङ्गशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रुपन्देहीका विभिन्न स्थानमा सो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । ‘समयमै आवश्यक सबै पूर्वाधार निर्माण हुन सकेन, पूर्वाधार नबनाई प्रतियोगिता गर्दा समस्या हुन्छ,’ उनले भने, ‘दुई महिना पर सार्दैमा केही फरक पर्दैन,’ सदस्यसचिव विष्टले भने।

राष्ट्रिय खेलकूदका लागि सबै तयारी युद्धस्तरमा भइरहेको बताउँदै उनले प्रतियोगिता नयाँ तोकिएको मितिमै हुने दाबी गरे। सदस्यसचिव विष्टले भने, ‘मिति सारेको निर्णय सार्वजनिक गरे ठेकेदारले काम ढिलो गर्लान् भनेर सार्वजनिक नगरेका हौँ, तर राष्ट्रिय खेलकूद चाहिँ कन्फर्म नयाँ तोकिएकै मितिमा हुन्छ, सरकारले यसका लागि आवश्यक बजेट दिने ग्यारेन्टी पनि गरिसकेको छ ।’ 

उनले आगामी फागुन २५ देखि चैत ५ गतेसम्म नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) पनि छ महिना सार्ने प्रस्ताव गरेको जानकारी दिए। आगामी सेप्टेम्बरमा १३औँ साग आयोजना गर्ने उनको भनाई छ। साग सार्ने प्रस्ताव परिषद्ले एनओसी हुँदै दक्षिण एशियाली ओलम्पिक काउन्सिललाई पठाउनेछ । त्यसपछि काउन्सिलको निर्णयअनुसार मात्र नयाँ मिति तय हुनेछ ।‘ओलम्पिक कमिटीसँग समन्वय गरेर हामीले सागपछि सार्ने प्रस्ताव गरेका छौँ, यसबारे छिट्टै निर्णय हुन्छ,’ उनले भने।

भौतिक पूर्वाधार निर्माण तथा टोली तयारीमा पर्याप्त काम हुन नसकेको भन्दै दुवै ठूला खेल सार्ने निर्णय गरिएको हो । युवा तथा खेलकूदमन्त्री परिषद्को अध्यक्ष रहने तर कार्यकारी अधिकार भने सदस्य सचिवमा रहने व्यवस्था छ । 

सदस्यसचिव विष्टका अनुसार आठौँ राष्ट्रिय खेलकूदका लागि भौतिक पूर्वाधार निर्माणलाई ३३ करोड रुपैयाँ बजेट निकासा भइसकेको छ । यसैगरी आयोजनाका लागि पनि ३५ करोड रुपैयाँ आवश्यक पर्नेमा १७ करोड आइसकेको र बाँकी रकम दिन अर्थ मन्त्रालय तयार रहेको पनि उनले बताए। दुई वर्षअघि सातौँ राष्ट्रिय खेलकूद गर्न अर्थ मन्त्रालयले ३३ करोड रुपैयाँ बजेट उपलब्ध गराएको थियो। रासस

प्रकाशित: २० कार्तिक २०७५ १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App