काठमाडौं - यो वर्षको धनत्रयोदशीका दिन झन्डै ४० किलो सुन र पाँच सय ५० किलो चाँदीको व्यापार भएको छ । धनत्रयोदशीलाई सुन तथा चाँदीका सामान किन्ने दिन मानिन्छ।
यो दिन सुन तथा चाँदीको व्यापार अरु दिनभन्दा दोब्बर भए पनि गत वर्षभन्दा कम भएको छ । यस दिन अरु दिनभन्दा दोब्बर व्यापार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । ‘आजको दिन (सोमबार) सुन झन्डै ४० किलो र चाँदी पाँच सय ५० किलो बिक्री भएको छ,’ शाक्यले भने, ‘यो अरु दिनभन्दा झन्डै दोब्बर हो।’
अचेल सामान्य दिनमा सुन २५ किलो हाराहारी बिक्री भइरहेको छ । चाँदी दुई सय ५० किलोसम्म व्यापार भइरहेको छ।
यस वर्ष अरु दिनभन्दा दोब्बर भए पनि गत वर्षको तुलनामा कम नै भएको शाक्यले बताए । विगतमा यस दिन ५० किलोसम्म सुन बिक्री हुन्थ्यो । चाँदी आठ सय किलोसम्म बिक्री हुने गथ्र्यो।
यस वर्ष सुनको मूल्य महँगो हुँदा उपभोक्ताले किन्न रुची नदेखाएको शाक्यले बताए । विगत एक महिनादेखि सुनको मूल्य ६० हजार हाराहारी छ । सुनको मूल्य उच्च बिन्दुमा पुगेकाले घटेपछि किनौंला भनेर उपभोक्ता पर्खिरहेको व्यवसायीको भनाइ छ।
भूकम्पपछि सुनको कारोबार राम्रोसँग बढ्ने सकेको छैन । जसरी हरेक वर्ष सुन बिक्री दर बढिरहेको थियो, भूकम्पपछिका वर्षमा त्यो नभएको शाक्यले बताए । ‘उपभोक्ताहरु पुनर्निर्माणमा लागेका छन्,’ शाक्यले भने, ‘यसले गर्दा पनि सुन र चाँदी जस्ता सामानमा लगानी गरेका छैनन्।’
अझै केही दिन सुनको मूल्य ६० हजार हाराहारीमै रहने शाक्यले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा खासै परिवर्तन नभएकाले स्थानीय बजारमा पनि घट्ने अवस्था छैन।
एक–दुई दिनयता भारतीय रुपैयाँ मजबुत हुने संकेत देखिएकाले सुनको मूल्य घट्ने विश्लेषण गरिएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १२३२ डलर हाराहारीमा कारोबार भइरहेको छ।
एक–दुई सय तलमाथि हुने बाहेक सुनको मूल्य पछिल्लो झन्डै एक महिनादेखि प्रतितोला ६० हजार वरिपरि छ।
असोजको अन्तिम हप्ता सुनको मूल्य पछिल्लो ६ वर्षकै उच्च बिन्दुमा पुग्दै प्रतितोला ६० हजार रुपैयामा कारोबार भएको थियो । असोज २६ गते प्रतितोला ६० हजार पुगेको सुनको मूल्य त्यसयता एक–दुई सय तलमाथि हुनुबाहेक खासै फरक परेको छैन।
कात्तिक लागेपछि सुनको मूल्य प्रतितोला ६० हजार चार सयसम्म पुगेको थियो । यो महिनाको कम बिन्दु हेर्दा ५९ हजार नौ सयसम्म मात्र झरेको छ।
पछिल्लो समय नयाँ उचाइमा पुगेको सुनको मूल्य २०६९ भदौयता कै महँगो भएको शाक्यले बताए । २०६९ भदौमा प्रतितोला ६३ हजार तीन सय रुपैयाँसम्म पुगेको थियो । दुई वर्षअघि नेपाली बजारमा सुनको मूल्य सबैभन्दा कम प्रतितोला ४७ हजार सात सयसम्म झरेको थियो।
विश्व बजारमा सुनको मूल्यलाई छिमेकी मुलुक भारतले पनि प्रभाव पार्छ । तिहार र छठसँगै विहेको सिजन आउँदै गर्दा भारतीय बजारमा सुनको खपत बढेको व्यवसायी बताउँछन् । त्यसले सुनको मूल्य बढाउन सहयोग गरेको छ।
यता, सरकारले चाडपर्वको अवसर पारेर सुन आयातको कोटा समेत बढाएको थियो । सामान्य दिनमा दैनिक २० किलो आयात भएकोमा चाडपर्वमा हुने खपतलाई ध्यानमा राखेर राष्ट्र बैंकले दैनिक आयात २५ केजी पु-याएको छ।
प्रकाशित: २० कार्तिक २०७५ ०५:२१ मंगलबार