८ वैशाख २०८१ शनिबार
विचार

स्वच्छताको मध्यमार्ग

संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्चमा रहेको ‘इनोभा बेमेन्स हस्पिटल’ मा गत हप्ता नवजात शिशुको शरीरमा ब्याक्टेरियाको लेपन गरियो । भर्खरै जन्मिएको बच्चामा उक्त सुक्ष्म जीवाणुको संक्रमण कुनै भवितव्यका कारण नभएर औषधि उपचारको अनुगमन गर्ने अमेरिकी संस्था ‘फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडिए)’ को स्वीकृतिमा गरिएको अनुसन्धान हो।

आमालाई लागेको रोग तथा खानपिनको खराब असरबाट बच्चालाई बचाउन प्रकृतिले शिशु बढ्ने पाठेघरलाई अत्यधिक सुरक्षित राख्छ । पाठेघरको सुरक्षा संयन्त्र विशेष प्रकृतिको हुन्छ । तरस्वच्छ वातावरणमा हुर्किएको बच्चा जन्मनेबित्तिकै बाहिरीजीवाणुको घेराबन्दीमा पर्छ । बाह्य संक्रमणले बच्चालाई के कस्तो असर पार्छ ? अनि नवजात शिशुलाई कस्तो वातावरणमा हुर्काउन उचित हुन्छ भन्ने प्रश्न समाजमा टड्कारो देखिन्छ?धनीका सन्तान घरको सफा चौहद्दीमा हुर्कन्छन् भने गरिबका सन्तान खेतको कान्लामा । तर के धनीका सन्ततिको स्वास्थ्य निम्सरोको सन्तानभन्दा राम्रो छ त? हुर्कँदो बच्चालाई अति स्वच्छ वातावरणमा हुर्काउन उचित कि सामान्य घरायसी वातावरणमा भन्ने प्रश्नका सम्बन्धमा भएका अनुसन्धानको विवेचना यो आलेखको लक्ष्य रह्यो।

नियन्त्रित वातावरणभन्दा सामान्य पारिवारिक परिवेशमा हुर्किएका बच्चा पछिल्ला दिनमा बढी स्वस्थ देखिए । उनीहरूमा बाह्य जीवाणुको संक्रमण पनि कम देखियो।

बच्चा हुर्कने पेटको भित्रीभाग अतिनै स्वच्छ भए पनिपाठेघरको मुखमा भनेसदैवअरबौँको संख्यामा हजारौँ किसिमका सुक्ष्म जीवाणु हुन्छन् । अझ महत्वपूर्ण कुरा त बच्चा जन्मने बेला पाठेघरको मुखमा रहेका ब्याक्टेरियाको प्रकृतिमात्र परिवर्तन हुँदैन । बरु सुक्ष्म जीवाणुको संख्या अत्यधिक मात्रामा बढ्छ । बच्चालाई जीवाणुको संक्रमणबाट जोगाउनु प्रकृतिको दायित्व हुनुपर्नेमा प्रसव वेदनाका समयमा पाठेघरको मुखमा सामान्यभन्दा अत्यधिक ब्याक्टेरिया देखिनु स्वाभाविक रहेन । आखिर त्यस्तो किन हुन्छ त भन्ने प्रश्नको उत्तर खोज्नु अनुसन्धानकर्ताको दायित्व भयो।

प्राकृतिकरूपले सुत्केरी हुँदा बच्चा पाठेघरको मुखमा रहेका ब्याक्टेरियाको संसर्गमा आउने भएकाले शिशुलाई शल्यचिकित्सामार्फत बाहिर ल्याउँदा उक्त संक्रमणको सिकार नहुने ठहर गरियो । र, तद्नुरूपको सुत्केरी संहिता ल्याए केही अस्पतालले । त्यसका अतिरिक्त सामान्यरूपले सुत्केरी गराउँदा मातृ तथा शिशुको स्वास्थ्यमा प्रतिकूल अवस्था आउने देखिए ‘सिजेरियन सेक्सन’ मार्पmत बच्चा झिक्नु सामान्य भयो नै । एउटा ठूलो जमात बन्यो सर्जरीमार्फत जन्मिएका बच्चाको । दुई विधिमार्फत जन्मिएका बालकको स्वास्थ अवस्था तुलना गर्दा अपरेसन गरेर झिकिएकोे बच्चाभन्दा प्राकृतिकरूपले जन्मिएका शिशुको समष्टिगत स्वास्थ्य अवस्था निकै राम्रो देखियो।

सर्जरीमार्पmत बाहिर आएका बच्चा पाठेघरको मुखमा रहेका असंख्य ब्याक्टेरियाले संक्रमण जेलेर जन्मिएको बच्चाभन्दा स्वस्थ हुने ठानिएकामा परिणाम विपरित भयो । ‘सिजेरियन सेक्सन’ मार्पmत जन्मिएका बच्चालाई प्राकृतिकरूपले बाहिर आएका शिशुको तुलनामा दम, एलर्जी, मोटोपन तथा छालाकोरोगले बढी सताएको  देखियो । तथ्यांकले नै जन्मनेबित्तिकै ब्याक्टेरियाको इन्फेक्सन भोगेको बच्चा अर्को पक्षभन्दा स्वस्थ देखिएपछि आमाको पाठेघरको मुखमा रहेका ब्याक्टेरियाले बालकको प्रतिरोधात्मक क्षमता वृद्धि गरी मानिसलाई स्वस्थ हुन मद्दत गर्ने तथ्य उजागर ग-यो । सुत्केरी हुने बेलामा पाठेघरमा देखिने ब्याक्टेरिया इन्फेक्सन गराउने जीवाणु होइनन् बरु शिशुलाई खराव तŒवबाट बचाउने असल कीटाणु देखिए।

विज्ञानमा तर्क होइन, बरु तथ्य बोल्छ । नवीन औषधि तथा उपचार विधिले मानिसको स्वास्थ्यमा सकारात्मक असर पारेको पुष्टि नभईकन कुनै पनि उपचार विधिले मेडिकल प्रोटोकलको मान्यता पाउँदैन । उपचार संहिता स्थापित हुनका लागि फलानो विधिमार्पmत इलाज गर्दा फाइदा हुन्छ भन्ने कुरा तथ्यांकले देखाउन आवश्यक हुन्छ । त्यसका लागि संयुक्त राज्य अमेरिकामा ‘एफडिए’ ले अनुगमनको दायित्व बोक्छ । त्यस्ता निकाय सबै देशमा हुन्छन्, नेपालमा पनिछ।

स्वच्छ वातावरणले मानिसलाई स्वस्थ बनाउँछ। तर कुन तहको स्वच्छता मानिसका लागि लाभप्रद् हुन्छ त भन्ने कुरामा समेत ध्यान दिन आवश्यक देखियो ।

सानो संख्यामा गरिएको स्वेच्छिक अनुसन्धानले आमाको पाठेघरको मुखमा रहेका सुक्ष्म जीवाणुलाई नवजात शिशुमा लेपन गर्दा सकारात्मक परिणाम आएको देखियो । त्यसपछि एफडिएले भर्खर जन्मिएको बच्चालाई आमाको शरीरमा रहेका ब्याक्टेरियाद्वारा संक्रमण गर्दा दीर्घकालीनरूपमा फाइदा हुने÷नहुने एकिन गर्न क्लिनिकल ट्राइल गर्ने अनुमति दियो । गत हप्ता भर्जिनिया राज्यमा सुरु गरिएको अन्वेषण त्यसैको सुरुआतहो । प्रारम्भमा ५० बच्चामा उक्त अध्ययन गरिने अनि सफल भएको खण्डमा उक्त अनुसन्धानको दायरामा थप ८ सय बच्चा समेट्ने लक्ष्य रहेको भनाइ देखियो एफडिएको । कदाचित उक्त अनुसन्धानले सकारात्मक परिणाम दिएको खण्डमा ब्याक्टेरियाको संक्रमणलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने निश्चित छ।

स्वस्थ मानिसमा समेत अत्यधिक संख्यामा सुक्ष्म जीवाणु हुन्छन् ।छाला, ज्ञानेन्द्रीय, जनेन्द्रीयलगायत शरीरका सम्पूर्ण भाग ब्याक्टेरियाले छोपेको पाइयो । हानिकारकदेखि लाभदायक ब्यक्टेरियाको घर देखियो हट्टाकट्टा मानिसको शरीर । यद्यपि एउटा निरोगी व्यक्तिमा खराब ब्याक्टेरियाको तुलनामा लाभदायक कीटाणुको संख्या अत्यधिक पाइए । खराब र असल ब्याक्टेरियाको सन्तुलन कायम रहेको अवस्थामा मानिसलाई रोग नलाग्ने र ब्यालेन्स बिग्रिएमात्र हामी बिरामी हुने उक्त क्षेत्रमा भएका चोटिला अनुसन्धानले पुष्टि गरिसकेको विषय भएकाले थप व्याख्या आवश्यक रहेन । त्यसैले खराब ब्याक्टेरियालाई निस्तेज गर्न असल सुक्ष्म जीवाणुको संख्या बडाउन आवश्यक देखियो । उदाहरणका लागि हाम्रो पाचन प्रणालीमा हुने ब्याक्टेरियाले खाना पचाउन मद्दत गर्नेमात्र होइन, बरु भिटामिन केको उत्पादनलगायत रोगसँग लड्नका लागि शरीरको प्रतिरक्षात्मक प्रणालीलाई मजबुत पार्ने भएकाले तिनीहरूलाई असल जीवाणु भनिन्छ । परम्परागत गुन्द्रुक, तामा, सिन्की जस्ता ‘फर्मन्टेसन’ विधिले सञ्चित गरिएका खाद्य वस्तुमा अत्यधिक मात्रामा असल ब्याक्टेरिया पाइने हुँदा त्यस्ता खानेकुराको सेवनले हाम्रो शरीरमा लाभदायक सुक्ष्म जीवाणुको संख्या बढ्नेहो । असल ब्याक्टेरियाको अभिवृद्धिले स्वास्थ्यमा सकारात्मक असर देखिने नै भयो। 

जन्मने बित्तिकै को बच्चालाई अति स्वच्छ वातावरणमा राख्दा पछिल्ला दिनमा उसको शरीरले प्रतिकूल अवस्था सहन नसक्ने ठोकुवा गर्छन् अमेरिकाको टफ्ट्स मेडिकल सेन्टरका अनुसन्धानकर्ता डा जोल विन्स्टक । नियन्त्रित वातावरण भन्दा सामान्य पारिवारिक परिवेशमा हुर्किएका बच्चा पछिल्ला दिनमा बढी स्वस्थ देखिए । उनीहरूमा बाह्य जीवाणुको संक्रमण पनि कम देखियो। हिमालमा जन्मिएको बच्चा वयस्क भएर जनकपुर आउँदासमेत मच्छरको टोकाइले बिक्षिप्त बन्छ, डाबर निस्कन्छ । तरतराईमा हुर्किएको लक्का जवानमा मच्छरको टोकाइले खासै असर पार्दैन । नवजात शिशुमा कीराको प्रारम्भिक टोकाइले ‘एलर्जिक रियाक्सन’ देखिन्छ । तर शारीरिक आन्तरिक प्रतिरक्षा प्रणालीका कारण छिटै नै उक्त बच्चाको शरीरले मच्छरको विषलाई सहजै पचाउन सक्ने क्षमता विकास गर्छ ।शरीरको प्रतिरोधात्मक क्षमता अभिवृद्धि भएपछि बाह्य संक्रमणको असर कम हुन्छ भन्ने सन्देशहो।

जीवनको पूर्वार्धमा माटो, रुखबिरुवा तथा गाईवस्तुसग खेलेका वयस्कमा धुलो, कुकुर÷बिरालो तथा फूलका कणले खासै प्रतिकूल असर देखाउँदैन् । वातावरणको विविध भोगाइ खेपेका बच्चाको हकमा शरीरमा सिपाहीको भूमिका खेल्ने ‘न्युट्रोफिल्स’कोषहरूले जीवनको प्रारम्भमै धुलो/धुँवा तथा सुक्ष्म जीवाणुहरू परिचित भइसकेको हुँदा शरीरले ती तत्वलाई सहजै वरण गर्छ, मानिसमा प्रतिकूल प्रभाव देखिँदैन।

मम्फली बदाम, अण्डा तथा माछाले एलर्जी हुने बच्चा धेरै देखिन्छन् । विकसित देशमा उक्त संख्या निकै बढी छ। तथ्यांकले इजरायलका यहुदी बच्चाको तुलनामा बेलायतमा बस्ने त्यही समुदायका नानीहरूमा बदामको एलर्जी दश गुणाभन्दा अधिक देखायो । एकै मूलका बच्चा भए पनि दुई देशमा बस्नेबित्तिकै उनीहरूको शरीरले किन बदामप्रतिको संवेदनशीलतामा त्यति फरक देखायो त? इजरायलमा बच्चालाई सानै उमेरदेखिनै मम्फली बदाम ख्वाउने गरेको देखियो भने बेलायतमा निकै हुर्किइसकेपछि मात्र मम्फली दिने गरेको पाइयो । त्यस्तै जापानका बच्चामा माछाको एलर्जी नगन्य देखियो भने अमेरिकामा मनग्य पाइयो । अध्ययनले जापानमा बच्चालाई सानै उमेरमा माछा ख्वाउने गरेको देखियो भने अमेरिकामा माछा संवेदनशील खानेकुरा भएकाले बच्चालाई खुवाउन नहुने संस्कार स्थापित भएको पाइयो । हुर्किएपछि मात्र ख्वाउने गरेकाले अमेरिकाका बच्चा माछाप्रति धेरै संवेदनशील देखिए । त्यस्तै, एक वर्ष उमेर पुगेपछि मात्र अण्डा खान पाएका बच्चाको तुलनामा चार महिनाकै उमेरमा अण्डा खाएका नानीहरूमा ‘एग एलर्जी’ निकै कम पाइयो । उल्लिखित तथ्यांकले बच्चालाई सानै उमेरदेखि भिन्न खाद्य पदार्थ खान दिँदा उनीहरूमा खानेकुराप्रतिको संवेदनशीलता न्यून गर्न सकिने देखियो । त्यसो हुनुको कारण शरीरका ‘रेगुलेटरी कोसहरू’ सानैदेखि सेवन गरेका वस्तुप्रति कम संवेदनशील हुनु नै हो भन्ने वैज्ञानिक ठहर देखियो । नेपालका बच्चामा विकसित देशमा धेरै देखिने उल्लिखित एलर्जी खासै नहुनुको मुख्य कारण जन्मनेबित्तिकै बच्चालाई घरमा पाकेको सबै खाना ख्वाउनु नै हो भनी ठोकुवा गर्न सकिन्छ।

स्वच्छ वातावरणले मानिसलाई स्वस्थ बनाउँछ। तर कुन तहको स्वच्छता मानिसका लागि लाभप्रद् हुन्छ त भन्ने कुरामा समेत ध्यान दिन आवश्यक देखियो । फोहोर खानेकुरा सेवन गर्दा अथवा दूषित वातावरणमा बस्दा स्वास्थ्यमा अनुकूल प्रभाव पर्छ भन्ने यो लेखको मजबुन हुँदै होइन । बरु अत्यधिक सफाइमा ध्यान दिन आवश्यक छैन भन्ने मात्र हो । खानुअघि हात धुनुपर्छ तरदिनको ५० पल्ट हात धुन आवश्यक छैन भन्ने मात्र हो । बिरामी परेपछि एन्टिबायोटिक्स खानुपर्छ तर हचुवाको भरमा ओखती नखाऔँ र त्यसले शरीरमा भएका असल ब्याक्टेरियालाई समेत नास गर्छ भन्ने हो । गजक्क परेर कोठामा बस्ने व्यक्ति भन्दा खेतमा माटोसँग खेल्ने अनि गोठमा गाईवस्तुसग रमाउने मानिस स्वस्थ हुन्छ भन्ने हो । गाउँमा पाइने गुन्द्रुक तथा सिन्की जस्ता परम्परागत खानेकुराहरू बेरोकटोक बजारमा भित्रने विषादि युक्त तरकारी भन्दा असल छ भन्नेसम्म हो। समष्टिगत रूपमा भन्नु पर्दा स्वस्थ जीवन बिताउन पुर्खाले गरिआएको परम्परालाई समयानुकूल परिवर्तन गरे पुग्छ, अल्ट्रा मोडर्न जीवन शैली अंगाल्न जरुरी छैन भन्ने मात्र हो।

प्रकाशित: २० कार्तिक २०७५ ०३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App