coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनियाँ बजार खुला गर्ने सीको प्रतिबद्धता

सांघाईमा सुरु भएको चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई सोमबार सम्बोधन गर्दै राष्ट्रपति सी चिनफिङ। तस्बिर : एजेन्सी

सांघाई (एजेन्सी) – चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ बजारको पहुँचलाई खुला गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

विश्वका ठूला अर्थतन्त्र भएका देशले चीनले प्रतिबद्धता व्यक्त गरेबमोजिम सुधारका कदम नचालेको आरोप लगाइरहेका बेला राष्ट्रपति सीको सोमबार यस्तो प्रतिबद्धता आएको हो।

चीनले आयातित वस्तुको घरेलु उपभोगमा मद्दत गर्ने, करलाई न्यूनिकरण गर्ने, भन्सार जाँचपास कार्यविधिलाई सहज बनाउने तथा बौद्धिक सम्पत्तिको उल्लङ्घन गर्नेविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता पनि राष्ट्रपति सीले व्यक्त गरेका छन् । ‘हामी विश्वस्तरीय व्यावसायिक वातावरण निर्माण गर्नेछौं,’ सांघाईमा आयोजित आयात मेलामा सम्बोधन गर्दै राष्ट्रपति सीले बताए । उनले विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई मुलुक चीन र अमेरिकाबीचको व्यापार युद्धले विश्व अर्थव्यवस्थामा समस्या निम्त्याउने खतरा रहेको समेत औल्याएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ । राष्ट्रपति सीले अमेरिकी राष्ट्रपतिको नाम नलिई राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण विश्व खुला व्यापारमा समस्या आइरहेको आरोप पनि लगाएका छन् । राष्ट्रपति सीले अमेरिकी संरक्षणवाद, पृथकतावाद, र झगडालू प्रवृत्तिको आलोचना गर्दै अरुको घरमा आक्रमण गर्नुअघि आफ्नै घरभित्रका समस्या सुल्झाउनुपर्नेमा जोड दिए।

‘आफ्ना समस्या ढाकछोप गर्न अरुमाथि औंला ठड्याउनु ठीक होइन,’ उनले भने । बेइजिङले पहिलो वार्षिक चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई खुला बजारप्रतिको प्रतिबद्धताको एक संकेतका रुपमा लिएको छ। अमेरिका र चीन दुवैले एकअर्काका उत्पादनमाथि करवृद्धि गरेका कारण व्यापारिक तनाव शिखरमा पुगेको छ।    

सांघाई एक्स्पोमा जेनेरल मोटर्स, फोर्ड, माइक्रोसफ्ट, सामसुङ, वाल्मार्ट र टेस्लासमेतका कम्पनीले भाग लिएका छन् । आयोजकले संयुक्त राज्य अमेरिका, युरोप र एसियाली क्षेत्रसमेतका एक सय ३० मुलुकका तीन हजारभन्दा बढी विदेशी कम्पनीका सामग्री प्रदर्शनीमा राखिएको बताएका छन्। प्रदर्शनीमा रसियाका प्रधानमन्त्री दिमित्री मेडभेडेभ र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसमेतका विभिन्न देशका सरकार प्रमुख पनि सहभागी भएका छन्।

प्रकाशित: २० कार्तिक २०७५ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App