५ वैशाख २०८१ बुधबार
खेल

पोखरा प्रिमियर लिग: उपाधिका लागि चितवन र पोखरा भिड्दै

पोखरा – तेस्रो फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिताको रूपमा पोखराबाट स्थापित पहिलो संस्करण नमस्ते पोखरा प्रिमियर लिगले मंगलबार (अाज) विधिवत् बिट मार्दै छ।

सर्वाधिक राशिको फ्रेन्चाइज क्रिकेटको उपाधिका लागि घरेलु टोली पोखरा पल्टन र नेपाली क्रिकेटको राष्ट्रिय टोलीको कप्तान पारस खड्काले नेतृत्व गरेको चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ । पोखरा र चितवनले फाइनलमा स्थान बनाउन हुलास काठमाडौं रोयल्सलाई पराजित गरेका थिए । पोखराले लिग चरणको अन्तिम खेलमा काठमाडौंलाई पराजित गर्दै शीर्ष स्थान हात पारेर फाइनल प्रवेश गर्दा चितवनले भने इलिमिनेटर खेलमा काठमाडौंलाई पराजित गरेर फाइनल पक्का गरेको थियो।

दुवै टोली फाइनलसम्म आइपुग्दा विदेशी खेलाडीको प्रदर्शन भने लोभलाग्दो रह्यो । नेपाली क्रिकेटरको औसत प्रदर्शन देखियो । पोखराले फाइनलको यात्रा तय गर्दा युएइका तीव्र गतिका बलर मोहम्मद नाभेदको भूमिका महत्वपूर्ण रह्यो । उनले काठमाडौंसँगको लिगको अन्तिम खेलमा तीन छक्का प्रहार गर्दै खेललाई यु टर्न गराएका थिए । त्यसभन्दा अघिल्ला खेलमा भने भारतीय खेलाडी रविन्दर सिंहको इनिङ्स महत्वपूर्ण रह्यो।

लिग चरणका दुई खेलमा पराजित हुँदै कमब्याक गरेको चितवन पनि विदेशी खेलाडीकै भरमा पोखरा प्रिमियर लिगको उपाधि यात्रासम्म आइपुग्यो । सन्नी पटेलको घातक बलिङ र उनको ब्याटबाट निस्किएको रनले चितवनलाई फाइनलमा उभ्याइदिएको हो । फाइनलभन्दा अघिसम्मको स्थितिलाई नियाल्दा काठमाडौं रोयल्सका विदेशी खेलाडी गौरव तोमर ६ खेलमा सर्वाधिक २ सय १२ रन बटुल्दै शीर्ष स्थानमा छन् । उनले एकै खेलमा ९५ रन हिर्काएका थिए।

फाइनलसम्म आउँदा पोखराका कप्तान शरद भेषावकर र चितवनका कप्तान पारस खड्काको प्रदर्शन दर्शकको अपेक्षाभन्दा धेरै टाढा क्षितिजमा छ।

फाइनलसम्म आउँदा पोखराका कप्तान शरद भेषावकर र चितवनका कप्तान पारस खड्काको प्रदर्शन दर्शकको अपेक्षाभन्दा धेरै टाढा क्षितिजमा छ । उपाधिका लागि दुवैले आफ्नो ब्याटिङ क्रेजलाई फर्काउने आशा, विश्वास र भरोसामा छन् दर्शक । पारस खड्काको ब्याटिङ हेर्ने हो भने बुटवल ब्लास्टर्ससँग केवल १० रनमा आउट भएका थिए । विराटनगर टाइटन्ससँग ७ रन र काठमाडौं रोयल्ससँग २ रनमै पवेलियन फर्किएका थिए । उनीभन्दा अगाडि पोखरा पल्टनका कप्तान भेषावकर छन्।

उपाधि जित्नेमा दुवै टोली आशावादी र विश्वस्त छन् । लयमा फर्किएको चितवनले फाइनलमा लय दोहोर्याउने रणनीति बुन्नेछ । पोखरा पनि लिग चरणमा चितवनलाई हराउँदै फाइनलसम्मको यात्रा तय गरेकाले उपाधि जित्नेमा अझ बढी विश्वस्त छ । पोखराका कप्तान शरद भेषावकरले लिग चरणमा चितवनलाई पराजित गरेकाले फाइनलमा पनि हराउने दाबी गरे । ‘हाम्रो उद्देश्य नै पोखरालाई पोखराकै मैदानमा उपाधि दिलाउने हो,’ उनले भने, ‘त्यही रणनीतिअनुसार खेल्छौं।’

चितवनका कप्तान पारस खड्काले पनि उपाधि जित्नेमा विश्वस्त रहेको बताए । ‘उपाधि जित्ने नै एक मात्र लक्ष्य हो,’ उनले भने, ‘पोखराको कमजोरीलाई केलाउँदै त्यस्तै रणनीति अख्तियार गर्नेछौं ।’ लिग चरणमा चितवन पोखरासँग पाँच विकेटले पराजित भएको थियो । जुन हारको बदला लिने अवसर चितवनलाई फाइनलमा आएर मिलेको छ । चितवनलाई पराजित गर्न भारतीय खेलाडी रविन्दर सिंहको व्याटबाट अर्धशतकीय पारीको इनिङ सामेल थियो । अब फाइनलमा भने उनको प्रदर्शन कस्तो हुने हो त्यो  प्रतीक्षाको विषय छ।

पोखराका लागि सिंहसँगै लिगमा मोहम्मद नाभेद पनि बलिङ र ब्याटिङमा चलेका छन् । विनोद भण्डारी, कप्तान भेषावकर र युवा खेलाडीको रूपमा रोहितकुमार पौडेल चितवनका लागि घातक बन्न सक्छन् । ललितनाथ राजवंशीको स्पिनले पनि चितवनका ब्याट्सम्यानलाई नचाउन सक्ने सम्भावना पनि छ । यता चितवनका सन्नी र स्मित पटेलले पनि आफ्नो प्रभाव जमाउने सम्भावना उत्तिकै छ । शक्ति गौचन, तीव्र गतिका बलर करण केसी र भुवन कार्की पोखरा पल्टनलाई भारी पर्न सक्छन् । ओपनर तथा मिडल अर्डरको रूपमा रहँदै आएका ब्याट्सम्यान हरिशंकर साह पनि चितवनका अर्का भरपर्दा ब्याट्सम्यान हुन् । मोहम्मद आरिफ शेखमाथि समेत चितवनले विश्वास गर्नेछ।

चितवनका करण केसी उत्कृष्ट बलरको उपाधिनिकट छन् । ६ खेलमा उनले ११ विकेट लिइसकेका छन् । उनीभन्दा पछाडि ललितनाथ राजवंशी छन् । उनले ५ खेलमा ९ विकेट लिएका छन् । विराटनगर टाइटन्सका कप्तान सन्दीप लामिछानेले पनि ५ खेलमा १० विकेट लिएका छन् । उत्कृष्ट ब्याट्सम्यानको दौडमा विदेशी खेलाडी नै छन् । काठमाडौं रोयल्सका गौरव तोमर ६ खेलमा २ सय १२ रनसहित शीर्ष स्थानमा छन् । उनीभन्दा पछाडि विराटनगरका मोहम्मद जैद आलम छन् । उनले ४ खेलमा २ सय ९ रन हिर्काएका छन्।

क्विन्स इभेन्ट म्यानेजेमन्ट प्रालिको आयोजना तथा विभिन्न प्रायोजकको प्रायोजन रहेको पोखरा  प्रिमियर लिगको विजेताले २७ लाख रुपैयाँ पाउनेछ । उपविजेताले १० लाख रुपैयाँ पाउनेछ । तीन खेलाडी म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले सुजुकी कम्पनीको मोटरसाइकल प्राप्त गर्नेछन् । इमर्जिङ प्लेयरले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

बलर
करण केसी–६ खेल, २२.३ ओभर, २ मेडन, १४१ रन, ११ विकेट, बेस्ट १९–३, इकोनोमी ६.२६, औसत १२.८१   (चितवन राइनोज)
सन्दीप लामिछाने– ५ खेल, २० ओभर, २ मेडन, १२९ रन, १० विकेट, बेस्ट २५–४, इकोनोमी ६.४५, औसत १२.९० (विराटनगर)
सन्नी पटेल– ६ खेल, २३.२ ओभर, ३ मेडन, ७१ रन, ९ विकेट, बेस्ट ८–४, इकोनोमी ३.०४, औसत ७.८८  (चितनव राइनोज)
ललित राजवंशी– ५ खेल, २० ओभर,० मेडन, १२९ रन, ९ विकेट, बेस्ट १७–३, इकोनोमी ६.०५, औसत १३.४४ (पोखरा पल्टन)
विपिन खत्री– ५ खेल, १७.५ ओभर ० मेडन, ९२ रन, ८ विकेट, बेस्ट १९–२, इकोनोमी ५.१५, औसत ११.५  (बुटवल ब्लास्टर्स)

ब्याटिङ
गौरव तोमार– ६ खेल,  २१२ रन,  सर्वाधिक रन ९५,  औसत ३५.३३          (काठमाडौं रोयल्स)
मोहम्मद जैद आलम–४ खेल, २०९ रन, सर्वाधिक रन ७२, औसत ५२.२५    (विराटनगर टाइटन्स)
दीपेन्द्रसिंह ऐरी– ५ खेल,  १८९ रन, सर्वाधिक रन ५६, औसत ६३              (धनगढी ब्लुज)
रविन्दर सिंह– ५ खेल,  १७० रन,  सर्वाधिक रन ६५, औसत ३४                 (पोखरा पल्टन)
हरिशंकर साह– ६ खेल, १४३ रन, सर्वाधिक रन ६०,  औसत २३.८३             (चितवन राइनोज)

तीन पोखरेली खेलाडी
पहिलो सस्करणको पोखरा प्रिमियर लिगमा तीन पोखरेली खेलाडी दुई फ्रेन्चाइज टोलीमा समावेश छन् । दुई पोखरा पल्टन र एक बुटवल ब्लास्टर्ससँग आबद्ध छन् । बुटवल ब्लास्टर्सबाट खेल्दै आएको विपिन खत्रीले घरेलु क्रिकेट मैदानमा आफ्नो बलिङ छवि देखाइसकेका छन् । तर पोखरा पल्टनमा रहेका दुई खेलाडीले भने बेन्चमै बसेर प्रतियोगिता टुंग्याउने सम्भावना बढेको छ।

पोखरा पल्टनमा पूर्व राष्ट्रिय खेलाडी दीपेश खत्री र युवा क्रिकेटर सुमन घिमिरे छन् । उनीहरू अक्सनबाट खरीद भएका खेलाडी भने होइनन् । बुटवल ब्लास्टर्सले विपिन खत्रीलाई भने ३० हजारको बोली लगाएको थियो । दीपेश र सुमन स्थानीय खेलाडी राख्नुपर्ने नियमअनुसार पोखरामा समावेश भएका हुन्।

प्रकाशित: २० कार्तिक २०७५ ००:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App