इलाम घुम्ने सिजन

शनिबार, ०८ असोज २०७३, ११ : ४९ भीम चापागाईं

लहरै चियाको हरियो गलैंचामा नीलो आकाश र सेतो हिमाल पृष्ठभूमि राखेर फोटो खिच्न पाए स्वर्गै पुगिएला भन्ने लागेको थियो पोखराका रोमन गुरुङलाई। नभन्दै, उनी इलाम पुग्न योजना बनाएको लामो समयपछि यहाँ आइपुगे।

 इलामका कन्याम, अन्तुडाँडा र सन्दकपुर पुग्न उनले योजना बनाएकै ५ वर्षै बितेछ। तर, कहिल्यै भनेजस्तो ‘साइत' जुरेन रे। ‘इलामको चियाबारी, अन्तुडाँडा, इलाम बजार, माइपोखरी र सन्दकपुरको नाम सुन्नेबित्तिकै घुम्न आउन मन लागेको थियो,' उनले सुनाए, ‘निकै समयपछि साइत जुर्‍यो।' पत्नी र छोरासहित कन्याममा भेटिएका गुरुङले सुनाए, ‘हाम्रो पोखरा पनि सौन्दर्यमा कम होइन तर इलामको प्रकृति हेर्दा त झन् उदेकै लागेर आयो। हिमाल, पहाड र तराई नजिकै लाग्ने, जताततै हरियाली।'

 उनी सन्दकपुरसमेत पुग्ने योजनाले आएछन्। तर, असोज नलागेसम्म त्यहाँको यात्रा अलि असहज हुने सुनेर पुनः आउने बाचा गर्दै फर्किन लागेका रहेछन्। उनले कन्याम, फिक्कल र इलाम बजारलाई मात्रै यो वर्षको गन्तव्य बनाउन भ्याए। ‘इलामका पर्यटकीयस्थल जति घुमे पनि नअघाइने रहेछ,' उनले भने, ‘छिनमै घाम लाग्ने, छिनमै भुइँकुहिरो र पानी। यस्तो मौसम झनै अनौठो लाग्यो।' आकाश उघि्रएर घमाइलो हुनेबित्तिकै धेरैलाई इलामे हरियो चियाबारी तान्न थालिहाल्छ। यसरी नै तानिएका थिए रोमन पनि।

नयाँबजारको सिद्धपोखरी, सोयाङको साततले झर्ना र मलुपोखरी, माइमझुवाको जैविक विविधता, टोड्के झर्ना पर्यटनका भविष्य हुन्। सदरमुकामनजिकैको बालनगाउँ, जमुनाको चोयाटार वन, छिन्टापु, प्याङको थुम्के, पानीटार चियाबारी, सिद्धिथुम्का, मिक्लाचोङलगायत गन्तव्यहरुको पूर्वाधार विकास हुन सके इलामले पर्यटनमा कोल्टे र्फन सक्छ।

भदौ दोस्रो साता बितेपछि बर्खाको हिलो, फोहोर सकिएर त्यसै पनि ‘दसैं' आउँछ। दसैं आएसँगै इलामको पर्यटकीय मौसम सुरु हुन्छ। चियामा ढकमक्क हरियो मुना टिप्ने सिजन बाँकी नै रहेका बेला आकाश छ्याङ्ग खुलेको छ। कन्यामको हरियो चियाबारीको पृष्ठभूमिबाटै कञ्चनजंघा नियाल्न सकिन्छ। तराईमा गर्मीको भावर उठिरहेको भदौ र असोज महिना इलामका लागि भने उत्कृष्ट मौसम बनाएर पर्यटक स्वागत गरिरहेको हुन्छ। झापाको चारआलीबाट मेची राजमार्गतिर मोडिनेबित्तिकै इलामको चिसो हावाले छुन थाल्छ।

 कोल्बुङको उकालो सुरु भएसँगै मेची राजमार्ग वरपर चियाका बुट्टामात्र होइन, इलामे किसानको पौरख पनि छरपस्ट देखिन्छ। इस्कुस बेचेर वर्षको ३ लाख रुपैयाँसम्म आम्दानी गर्ने किसानको खेती नजिकै देख्न सकिन्छ। अकबरे खोर्सानी, मौसमी र बेमौसमी तरकारी, फलफूल अनि काँक्रा खेतीबाट लाखौं रुपैयाँ आम्दानी गरिरहेका किसानले आफ्ना उत्पादन उज्यालो नहुँदै सडकसम्म ल्याइसकेका हुन्छन्। अनि, कुटीडाँडाका सिँढी उक्लिएर ‘बहिनी पाथीभरा'को दर्शन गरेपछि हर्कटे, कन्याम चियाबारीलगायत पर्यटकीयस्थलको काखमै आइपुगिन्छ।

 कन्याम चियाबारीबीच ‘कन्याम इन'बाहेक व्यवस्थित र सुविधासम्पन्न होटल छैनन्। कन्याम इन पनि खानेपानीलगायत दर्जनौं समस्या लुकाएर इलाममा पाहुना पल्काउने प्रयास गरिरहेको छ। होटल एसोसिएसन इलामका अध्यक्षसमेत रहेका कन्याम इनका सञ्चालक टीका ओडारीले इलाम छिर्ने पाहुनालाई त्यहीं स्वागत गरिहाल्छन्। अनि, टक््रयाउँछन् इलामे अर्थाेडक्स अर्गानिक चिया। पहिलो चोटी पिउँदा जिब्रोबाट तीतो हुँदै अन्ननली भएर पेटसम्मै पुगेको अनुभव हुने इलामे चियाले नछाड्दै अर्काे पर्यटकीय बजार पुगिन्छ फिक्कल। त्यसअघि नै कन्याममा चियासँग लुकामारी खेल्न, लभडाँडाबाट हिमाल, पहाड र तराई नियाल्न अनि घोडा चढ्न चाहिँ पर्यटकले छुटाउँदैनन्। करिब १० किलोमिटरमा रहेको फिक्कल बजार कन्याम घुम्न आउने पर्यटकको बासस्थल हो।

 फिक्कलमा छुर्पी, बम्बइसन, ललीपप, घिउ, अकबरेलगायत पर्यटकले चाहेअनुसारका स्थानीय उत्पादन पाइन्छन्। फर्किंदा लैजाने कोसेली पहिल्यै बुक गरिराखे पनि फरक पर्दैन। घुमफिर रमाइलोसँगै इलाममा बसोबास गर्ने जातजाति, इलामे इतिहास जान्न मन लागे फिक्कलबाट ५ सय मिटर झरे पुगिहालिन्छ देशकै लोपोन्मुख जाति लाप्चाहरूको गाउँ। फिक्कल बजार, नजिकै रम्फोकलगायत ठाउँमा उनीहरूका ऐतिहासिक गुम्बा भेटिन्छन्। अनि, भेटिन्छन्, बौद्ध धर्मावलम्बी लाप्चा समुदायका अगुवा, जसले पूर्वी जिल्लाहरूमा पहिले शासन गरेको इतिहास भेटिन्छ।

 सूर्याेदय अवलोकनमा प्रसिद्ध इलामको अन्तुडाँडा जाने बाटो पनि फिक्कलनजिकै छिपिटारबाट छुट्टिन्छ। त्यहाँबाट करिब १३ किलोमिटर जिप यात्रा गरेर पुगिने अन्तुको झुल्केघाम सिजन भदौ अन्तिमदेखि मंसिरसम्म। त्यसपछि चिसो धेरै र आकाश धुम्म पर्ने हुनाले चैत र वैशाखमा मात्रै यो अवसर पुनः आउँछ। अन्तुबाट देखिने सूर्याेदय चित्ताकर्षक मानिन्छ। यहाँबाट सूर्याेदय हेर्न बर्सेनि सयौं स्वदेशी र विदेशी आउँछन्।

 यसरी आउने पर्यटकका लागि गाउँलेले घर–घरमा होमस्टे व्यवस्था गरेका छन्। होमस्टेमा बस्न आउनेका लागि लाप्चा, मगर, राई, तामाङलगायत जातिअनुसार उनीहरूका आ–आफ्नै मेन्यु पनि छन्। उनीहरू आगन्तुकलाई परम्परागत नृत्य देखाएर, गीत सुनाएर मनोरञ्जन दिन्छन्। पाहुनाले चाहेअनुसार, लोकल चामलको भात, लोकल कुखुरा, आलु, सिन्की–गुन्द्रुक, लोकल रक्सी, तोङ्बा, सुकुटी, आलु, अकबरेलगायत टक््रयाउँछन्। अन्तुपोखरी, कृषिले सुधारिएको जीवनशैलीमात्र होइन, भारतसँग जोडिएका गाउँहरूको रहनसहन पनि अनुभव गर्न सकिन्छ। अन्तु घुम्न आउने पाहुनालाई स्थानीय युवाले सामूहिक लगानीमा कटेजसमेत निर्माण गरिसकेका छन्। समालबुङ गाउँका पर्यटन व्यवसायी धनकुमार आले भन्छन्, ‘२–४ सय पर्यटक एकै चोटी अटाउन हामीलाई समस्या छैन। अहिले त घर–घरमा पर्यटक राख्नेगरी व्यवस्थापन भइरहेको छ।' यहाँ ३६ पर्यटकका लागि व्यवस्थित होमस्टे छन्।

 चियाबारीले ढाकेको इलाम सदरमुकाम घुम्ने सिजन पनि यही हो। सदरमुकामबाट १३ किलोमिटरमा पर्ने माइपोखरीको जैविक विविधता अवलोकन र अध्ययन गर्ने सिजन भदौपछि नै सुरु हुन्छ। यो मौसम पर्यटकका लागि उपयोगी भएकाले प्रायः पर्यटकले खाली हुँदैन माइपोखरी। धार्मिक आस्थाको केन्द्र पनि भएकाले माइपोखरीमा पूजापाठ गर्ने, जल चढाउने, सदबीज छर्ने कामका लागि धार्मिक पर्यटक धुइरो लाग्छन्। यहाँ मंसिरे एकादशीमा ठूलो मेला लाग्छ।

 जिल्लाकै अग्लो (३ हजार ६ सय ३६ मिटर) सन्दकपुर जाने सिजन पनि असोज–मंसिर नै हो। यसबाहेक फागुन–वैशाखसम्म सन्दकपुर पुग्दा रमणीयस्थल अवलोकन गर्न पाइन्छ। नेपालकै भू–भाग भएपनि भारतले बढी प्रयोग गरिरहेको सन्दकपुर सर्वाेच्च शिखर सगरमाथा देखिने नेपालसँग जोडिएको एउटै मात्र विन्दु हो। त्यही महŒवको प्रचार गरेर नेपालभन्दा भारतले सयौं गुणा पर्यटक उतैबाट सन्दकपुरसम्म ल्याइरहेको स्थानीय होटल व्यवसायी पासाङदाबा शेर्पा बताउँछन्। ‘नेपालले सन्दकपुरलाई कहिल्यै हेरेन,' यहाँ पुग्ने सबैजसो नेपालीसँग उनको एउटै दुखेसो छ, ‘सन्दकपुरसम्म आउने बाटोमात्रै व्यवस्थित गरिदिए हजारौं इलामबासीको कायापलट हुन्छ।'

 सन्दकपुरमा पनि व्यवस्थित होटल छैनन्। शेर्पा च्यालेट होटलले आएका पर्यटक धानिरहेको छ। भारतपट्टि भने दर्जनौं कटेजहरू छन् पर्यटकका लागि। भारततिरबाट यहाँ तेस्रो बंगाली र तेस्रो मुलुकका पर्यटक आउँछन्। नेपालतिर आइपुग्ने र यताबाट सन्दकपुरसम्म पुग्ने पर्यटक भने आन्तरिक र बंगाली मात्रै हुन्। पशुपतिनगर नाकामा दुवैपट्टि अध्यागमन सुविधा नभएकाले तेस्रो मुलुकका पर्यटक भारतबाट नेपाल छिर्न पाउँदैनन्। झापाको काँकडभिट्टाबाट भित्रिएका पर्यटकको गन्तव्य भने इलामतिर पर्दैन। उनीहरू झापाबाट सीधै धरान, चितवन, पोखरा र काठमाडौंतिर लाग्छन्।

 चर्चामा रहेकाभन्दा चर्चा हुन बाँकी पर्यटकीयस्थलले इलामे पर्यटनको भविष्य कोर्दैछन्। नयाँबजारको सिद्धपोखरी, सोयाङको साततले झर्ना र मलुपोखरी, माइमझुवाको जैविक विविधता, टोड्के झर्ना पर्यटनका भविष्य हुन्। सदरमुकामनजिकैको बालनगाउँ, जमुनाको चोयाटार वन, छिन्टापु, प्याङको थुम्के, पानीटार चियाबारी, सिद्धिथुम्का, मिक्लाचोङलगायत दर्जनौं पर्यटकीयस्थलको पूर्वाधार विकास हुन सके इलामले पर्यटनमा कोल्टे फेर्ने जिल्लास्थित मेची पहाडी पर्यटन प्रवर्द्धन समितिका कार्यकारी निर्देशक केशव धौराली बनाउँछन्। किरात धार्मिकस्थल लारुम्बा पनि यही सिजनमा घुम्न उपयुक्त छ।

 जिल्लामा पछिल्लो समय अभियानझैं चलेको अर्गानिक खेती प्रणाली पनि अर्काे विशिष्ट चिनारी बन्न सक्छ। तर, त्यसका लागि पनि किसानलाई सहयोग खाँचो छ। कुनै होटलमा छिर्नेबित्तिकै पर्यटकलाई नाममात्रको सेवा दिएर उसबाट महँगो रकम असुल्नु चाहिँ यहाँका व्यवसायीले सुधार गरिहाल्नुपर्ने पक्ष बनेको छ। तीतो लागेपनि यो यथार्थमा सुधार गर्न सकेमात्र इलामे पर्यटनको भविष्य उज्वल हुने देखिन्छ।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad