coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ओलम्पियन लामाको प्रतिमा स्थापना गरिने

काठमाडौं – नेपाली खेलकुदमा ऐतिहासिक सफलता प्राप्त गरेका ओलम्पियन एवं तेक्वान्दो खेलाडी विधान लामाको प्रतिमा स्थापना गरिने भएको छ।

सोमबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा ओलम्पियन लामाको आगामी ६ महिनाभित्र मूर्ति स्थापना गरिने जानकारी गराइयो। नेपाल तामाङ घेदुङ सङ्घले लामाको मूर्ति निर्माणका लागि समिति बनाएर कार्य योजना छिट्टै तयार गर्ने जनाएको छ। समितिका संयोजक डिएन घिसिङ तीन दशक अगाडि नेपालको नाम र इज्जत विश्वभर फैलाउन सफल लामाको प्रतिमा स्थापना गर्न लागिएको बताउछन्। लामाको मूर्ति काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित उनकै जन्मथलोमा बनाइने छ।

लामाले सन् १९८४ देखि १९९० सम्म राष्ट्रिय टिमबाट तेक्वान्दो खेल्नुभएको थियो। उनले सन् १९८६ मा पहिलो पटक १०औं एसियाली खेलमा नेपालको तर्फबाट कास्य पदक तथा सन् १९८७ मा स्पेनमा भएको ८ औं विश्व तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जितेका थिए। लामाले सन् १९८८ को आठौं एसियन च्याम्पियनसिपमा रजत पदक जित्न सफल भएका थिए।

त्यसैगरी दक्षिण कोरियाको सोलमा सम्पन्न २४औं ग्रीष्मकालीन ओलम्पिक खेलमा लामाले कास्य पदक जितेका थिए। पत्रकार सम्मेलनमा आफ्नो खेल जीवनबारे स्मरण गर्दै लामाले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए। आफूलाई साधारण खेलाडीका रुपमा मात्रै लिन आग्रह गर्दै उनले पढ्ने बेला भागेर ब्रुस लिको चलचित्र हेर्न जाने गरेको र त्यसैबाट प्रभावित भइ तेक्वान्दोतर्फ आकर्षित भएको बताए।

नेपालमा २०३९ सालपछि मात्रै सर्वसाधारणलाई तेक्वान्दो खेल्न दिइएको लामाको भनाइ थियो। उनले आफू पनि त्यसपछि मात्रै तेक्वान्दो खेल्न थालेको बताए। नेपालको इतिहासमा जिवित खेलाडीको मूर्ति बन्न लागेको यो पहिलो पटक हो।   (रासस)

प्रकाशित: १९ कार्तिक २०७५ ११:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App