४ वैशाख २०८१ मंगलबार
समाज

राज्यको नजरमा नपरेका पर्यटकीय गन्तव्य

पर्यटन गन्तव्यको सूचीमा पर्न नसकेको धार्मिक पर्यटकीय गन्तव्य चन्दननाथ मन्दिर तस्बिरः डिबी/नागरिक

जुम्ला – तत्कालिन कर्णालीको सदरमुकाम खलंगास्थित चन्दननाथ भैरवनाथ मन्दिर धार्मिक पर्यटन केन्द्र हो। कर्णालका सबै क्षेत्रबाट पूजाआजा गर्न मान्छे चन्दननाथ आउछन्। विहानैदेखि आन्तरिक तथा वाह्य पर्यटकको चन्दननाथमा घुइचो लाग्ने गर्दछ। तर, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्रालयले छनोट गरेका एक सय पर्यटकीय गन्तव्यमा चन्दननाथ पर्न सकेन्। चन्दननाथ भैरवनाथ गुठी समितिका पूर्व अध्यक्ष गौरीनन्द आचार्य राजनीतिक पहुँच नपुग्दा चन्दननाथ प्रर्यटकीय गन्तव्यको सूचिमा पर्न नसकेको बताउँछन्।

चन्दननाथ बाबालाई मुसिकोटे राजाका सन्तानले  कुल देवताको रूपमा पुज्छन्। चन्दननाथमा दत्तातय भगवानको चरणपादुका छ। चरणपादुका दर्शन गर्न विहानै ४ बजेदेखि विशेष भेटी चढाएर प्रवेश गर्न सक्ने व्यवस्था मिलाइएको छ। ‘नयाँ कृत्रिम रुपमा बनाइएका सम्पदा पर्यटकीय गन्तव्यको सूचीमा पर्न थाले, परम्परादेखि प्रशिद्धि कमाएका गन्तव्य छुट्न थाले’, पूर्वअध्यक्ष आचार्यले भने, ‘यो नेपालकै लागि राम्रो संकेत होइन्।’

पर्यटकीय गन्तव्यको सूचीमा जुम्लाको सिजा सभ्यता र यस आर्थिक वर्षमा निर्मित डुंडुल चैत्य समावेश छन्। कर्णाली प्राकृतिक पर्यटनको अथाह संभावना भएको क्षेत्र हो भन्ने तर व्यवहारमा सबै पर्यटन गन्तव्यलाई सूचीमा राख्न कन्ज्युस्याई गर्नुले अहिले पनि अन्यायमा परेको महसुस कर्णालीवासीले गर्न थालेका छन्। मुगुको रारा हुँदै जुम्ला खलंगा पुग्ने पर्यटकले चन्दननाथ मन्दिरको अवलोकन र दर्शन गरेर मात्रै फर्किने गरेका छन्।

उड्ययनमन्त्रालयले यहाँका पर्यटन क्षेत्रको अपमान हुने गरी प्रकासित गरेको पर्यटन गन्तव्यको सूची तत्काल सच्याउन कर्णालीवासीले माग गरेका छन्। जुम्लाको तातोपानी कुण्ड, पाण्डवगुफा, कनकासुन्दरी मन्दिर, पातारासी गाउँपालिकाको देवस्थल, वाता झरना पनि पर्यटकको रोजाइमा पर्ने गन्तव्य हुन्।

पर्याप्त अध्ययन र अनुसन्धान बिनै सरकारले उत्कृष्ट एक सय पर्यटकीय गन्तव्य घोषणा गरेकोप्रति स्थानीय आक्रोशित छन्। मन्त्रालयले घोषणा गरेका पर्यटकीय गन्तव्यमा कर्णालीका महत्वपूर्ण पुरातात्विक, धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदा पर्न नसक्नु कर्णालीको पहुँच सिंहदरबारसम्म पुग्न नसक्नु भएको संस्कृति सम्बन्धी जानकार रमानन्द आचार्य बताए। जुम्लाको चन्दननाथ मन्दिर, मुगुको छायाँनाथ, हुम्लाको एलबाङ गुम्बा, कालिकोटको चुलिमालिकालाई सूचीमा समावेश गर्न कन्ज्युस्याई गरिएको छ, उनले भने।

सरकारले गन्तव्यको सूचीमा डोल्पाको सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज र त्रिपुरासुन्दरी धार्मिक पर्यटन क्षेत्र, जुम्लाको सिँजा सभ्यता, डुंडुल चैत्य, हुम्लाको लिमी उपत्यका, मुगुको राराताल, रारा–सेफोक्सुन्डो ट्रेकिङ, कालिकोटको पचाल झरनालाई मात्र सूचीमा अटाएको छ।

कर्णालीको प्रमुख शक्तिपीठ मानिएको चन्दननाथ मन्दिरलाई संघीय सरकारले पर्यटकीय गन्तव्यमा समावेश नगरेर पक्षपात गरेको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताइन्। तातोपानी गाउँपालिकाको तातोपानी धारा, चन्दननाथ नगरपालिकाकै दानसाँघु दोभान लगायत साँस्कृतिक तथा धार्मिक पर्यटकीय गन्तव्यलाई छुटाउनु राम्रो पक्ष नभएको उनको भनाई छ।

चन्दननाथ बाबाको चिनोस्वरूप नेपालको सबैभन्दा अग्लो धान फल्ने ठाउँ छुमचौर, सिँजाको कनकासुन्दरी, सिँजा दरबार, कालीकोटको खाँडाचक्र कोट दरबार, युद्ध पर्यटकीय पिली र कोटवाडा, चुलीमालिका हुँदै पुगबाट रारा जोड्ने पर्यटन मार्ग, चिल्खायाको रुरु बन्चुपाटनलाई सूचीबाट छुटाइएको छ।

प्रकाशित: १९ कार्तिक २०७५ ०५:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App