८ वैशाख २०८१ शनिबार
अन्य

आगमघरको अस्तित्व संकटमा

ललितपुरको पाटनमा रहेको ऐतिहासिक आगमघर (महाःद्यःननि) संकटमा परेको छ । जीर्ण आगमघर मर्मततर्फ सरोकारवाला निकायको ध्यान नपुग्दा कृष्ण मन्दिर र पूर्णचण्डी मन्दिरका पुजारीको जरो मानिने आगमघर संंकटमा परेको हो।

आगमघरले कात्तिक नाचका गुरु र नृसिंह खलक राजोपाध्यायहरूको अस्तित्व पनि बोकेको छ । माथिल्लो निकायले चासो नदिँदा पाटनकैे चिनारी आगमघर संरक्षण गर्न नसकिएको महाःद्यःननि आगमघर गुठीका गुठीयार राजोपाध्याय खलकको गुनासो छ । अहिले आगमघरको बाहिरी भाग धरापमा छ । भूकम्पका कारण वरिपरिका पर्खाल भत्किएको थियो । त्यसको मर्मतसम्भारतर्फ कसैको ध्यान पुगेको छैन । आगमघर जीर्ण बनेको छ । आगमघर गुठीका गुठियार रविन्द्रधर शर्माले आगमघरको संरक्षण हुन नसक्दा यससँग सम्बन्धित सांस्कृतिक गतिविधि पनि प्रभावित हुन लागेको जानकारी दिए । उनका अनुसार आगमघरको जीर्णोद्धार तत्काल गरिहाल्नुपर्ने स्थानीयको माग छ। स्थानीयले यसबारे महानगरपालिका र पुरातत्व विभागसँग माग गरिसकेका छन् । तर, ती निकायले कुनै चासो नदिएको शर्माको भनाइ छ । उनले जीर्णोद्धारको लागि प्रक्रियागत समस्या भएको बताए।

यो ठाउँमा पूर्णचण्डी मन्दिर र कृष्ण मन्दिरको नृत्य पूजाको साथमा कार्तिक नाचको नृसिंह अवतारको समेत तान्त्रिक पूजा गरिन्छ । तर, अहिले प्रभावित बनेको छ । ‘दुई चार घरले चाहेर मात्रै आगमघरको अस्तित्व जोगिन्न,’ शर्माले भने, ‘आगमघरको स्वामित्व राज्यले गुठीलाई पनि नदिने र राज्य आफैंले पनि संरक्षण नगर्ने अवस्थाले समस्या सिर्जना गरेको छ।’

गुठीका गुठीयार प्रतापधर शर्माले यो आगमघर बचाउन सकिएन भने कात्तिक नाचको नृसिंह अवतार बन्द हुने अवस्था पुग्ने बताए । उनले आवश्यक पूजाविधि गर्न आगमघरको विकल्प नहुने जानकारी दिए । ‘यसमा कृष्णमन्दिर, पूर्णचण्डी मन्दिरसँग सम्बन्धित तान्त्रिक पूजा हुन्छ,’ कृष्ण मन्दिरका पुजारीसमेत रहेका शर्माले भने, ‘कात्तिक नाचको नृसिंह अवतारसँग सम्बन्धित पूजा पनि गर्नुपर्छ । तर, अहिले उक्त ठाउँको अवस्था विजोग छ । मर्मत गर्नतर्फ कसैले पनि ध्यान दिएका छैनन्।’

कात्तिक नाचका लागि नृसिंहको मुकुण्डो बनाउँदा आगमघरमा तान्त्रिक विधिबाट पूजा गरिन्छ । यहीँबाटै बलिपूजा पनि सम्पन्न गरिन्छ । कृष्णमन्दिरसँगै पूर्णचण्डीको नृत्य पूजाका लागि आवश्यक पर्ने फूल पनि यही आगमघरको बारीबाट टिपेर लग्ने गरिन्छ । तर, अहिले फूल फुल्न छाडेका छन्।

यसअघि गुठीबाट आगमघरको संरक्षणकै लागि भनेर लालपूर्जा बनाउने तयारी भएको थियो । ३५ दिने सार्वजनिक सूचना समेत प्रकाशित गरे पनि लालपूर्जा बनेन । गुठियार शर्माले लालपूर्जाको प्रक्रियाबारे बुझ्न खोज्दा मालपोत कार्यालयले सूचना नै लुकाउने गरेको बताए । उनले संधियारले आगमघरको जग्गालाई सार्वजनिक चोक भनी उल्लेख गरेर जग्गा हडप्ने प्रपन्च रचेको आरोप लगाए । ‘संधियारले अनियमित तरीकाले आगमघरको जग्गातिर झ्याल, ढोका राखेका छन्, स्थानीयको कुरा मानेका छैनन्,’ उनले भने, ‘यस सम्बन्धमा १९ वडा कार्यालयलाई जानकारी गराउँदा वडाले सार्वजनिक चोक भएको बतायो।’

यसबारे स्थानीयले काठमाडौं महानगरपालिकामा उजुरी हालेका थिए । महानगरले पनि लालपूर्जा नभएको भन्दै उजुरी खारेज गरेको थियो । सरकारी निकायले नै चासो नदिँदा र बेवास्ता गर्दा आगमघरको जग्गा नै सार्वजनिक चोकमा परिणत हुने डर देखिएको स्थानीयको गुनासो छ।

यो आगमघर ललितपुर महानगरपालिका १९ वडास्थित वला टोलभित्र पर्छ । भूकम्पपछि आगमघरको दुई तल्ला मात्र बाँकी छ । अन्य भाग भत्किएको छ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनले आगमघरको संरक्षणका लागि वडासँग समन्वय गरिने बताए । ‘ऐतिहासिक र मौलिक कला–संस्कृति हामीले जोगाउँदै आएका छौं,’ उनले भने, ‘आगमघरलाई पनि त्यसको अस्तित्व नमेटिने गरी जोगाउँछौं, यसमा स्थानीयले पनि हातेमालो गर्नुपर्छ।’

प्रकाशित: १९ कार्तिक २०७५ ०५:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App