८ वैशाख २०८१ शनिबार
अन्य

‘सहरको यातायात भद्रगोल भयो’

आशिष गजुरेल, यातायातविद्

तपाईँको बुझाईमा सहर भनेको के हो?
मानिसलाई सामाजिक जीवन बिताउन आवश्यक पर्ने सबैखाले सेवा सुविधा भएको ठाउँ नै सहर हो । सहरका बस्ती गुजुप्प हुन्छन् । त्यहाँ जनघनत्व पनि बढी हुन्छ । उक्त जनघनत्वलाई सहजै व्यवस्थापन गरेर सहरलाई व्यवस्थित पार्ने सामथ्र्य त्यहाँको राज्यसँग हुनुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगार र अन्य सेवा सुविधाको हकमा पनि सहर अगाडि नै हुन्छ।

घुमेकामध्ये मनपर्ने सहर कुन हो?
पछिल्लो समय अमेरिकाको हवाई सहर घुमेको थिएँ । त्यो सहर निकै रमाइलो र युनिक लाग्यो । त्यहाँको हरेक पक्ष व्यवस्थित र आकर्षित छन्।

काठमाडौं कस्तो लाग्छ?
काठमाडौंको भौगोलिक र ऐतिहासिक पक्ष हेर्ने हो भने यो ठाउँ संसारकै नमुना र फरक सहर हो । काठमाडौंलाई सबै संस्कृति र समुदायको फूलबारी अटेको सहर पनि भनिन्छ । यहाँ अनेकौं कला–कौशल, संस्कृति र परम्परा लुकेका छन् । यहाँको मौसम संसारमै नपाइने किसिमको छ । तर, मानवीय रूपमा भएको विकासका गतिविधि ठिक भएनन् । तिनले सहरको विनास गरे । सहर बनाउने जिम्मेवार निकायले पनि सहरको मौलिकपना बिग्रदा पनि त्यसतर्फ हेक्का नै राखेनन् । पछिल्लो समय काठमाडौंलाई धेरैले जागिरे सहर बनाए । कसैले पनि अपनत्व महसुस हुने गरी सहर बनाउनतर्फ लागेनन् । बरु भएको सेवा–सुविधा उपभाग गर्ने होडबाजी सहरवासीमा चल्यो।

तपाईंको विचारमा सहर कस्तो हुनुपर्छ?
सहरको सार्वजनिक यातायात अति नै व्यवस्थित हुनुपर्छ । सार्वजनिक यातायात निजी सवारी भएका व्यक्तिलाई पनि सार्वजनिक यातायातमै सवार गर्न आकर्षित पार्ने किसिमको हुनुपर्ने हो । तर, हाम्रोमा त अति नै भद्रगोल भयो । सडक त चौडा पारियो । तर, सवारी साधनको संख्या अति नै बढ्यो । के कारणले यातायात भद्रगोल भयो अध्ययन गरेनौं । बाहिरबाट आउनेले झट्ट हेर्दा देख्ने भनेकै सडक र यातायात हो । तर, त्यो व्यवस्थित भएन । त्यस कारण सहर भन्नेबित्तिकै हामीमा व्यवस्थित, शान्त र सुविधायुक्त भन्ने किसिमको भावना आउँछ, वास्तवमा त्यो नै सहर हो । सहरमा सबैखाले सुविधा भएनन् भने त्यसलाई सहर भन्न सुहाउँदैन।

काठमाडौैं किन अव्यवस्थित भएको होला?
हामी सबैको हेलचेक्र््याइँले काठमाडौं कुरूप भएको हो । सरकारले सडक विस्तार, धुवाँधुलो, ट्राफिक जामलगायत विषयलाई समाधान गर्न सकेको छैन । जसकारण यहाँको हावापानी प्रदूषित भएको छ । यसले मानव स्वास्थ्यमा सिधै असर पारेको छ । अब यसप्रति सबै पक्ष होसियार हुन जरुरी छ।

सहर सपार्ने चार उपाय के हुन सक्लान्?
सार्वजनिक यातायात सुधार्ने, खुल्ला ठाउँ तथा पार्क बनाउने, साइकलमैत्री र पैदलयात्रा मैत्री सहर बनाउने तथा बिजुली, खानेपानी, ढललगायत पक्षलाई व्यवस्थापन गर्ने।

सरकारी निकायबीच सानातिना विकासका काममा पनि समन्वय हुँदैन । हरेक निकायले समन्वय नै नगरी लापरबाही पाराले विकासका काम गर्ने प्रवृत्ति छ, यसलाई के भन्नुहुन्छ ?
यो अति नै खराव पक्ष हो । सरकारी निकायबीच समन्वय नहुँदा सहर बिग्रिएको छ । सहर बनाउने छरिएका धेरै निकाय छन् । तर, सडकको खास जिम्मा कस्को हो भनेर थाहा पाउन गाह्रो हुन्छ । जिम्मेवार निकायले सही ढंगले काम गरेको भए यति धेरै टाउको दुखाई हुने थिएन होला।

तपाईँ कस्तो सहरको परिकल्पना गर्नुहुन्छ?
मलाई जर्मनीको यातायात क्षेत्र एकदमै मनप-यो । त्यहाँ धेरै थरीका सार्वजनिक यातायात गुड्छन् । सडकको आसपासमा हरियाली छ । ठाउँ–ठाउँमा खुल्ला ठाउँहरू छन् । सबैतिर हराभर र सफा सुग्घर छ । ठुल्ठूला सपिङ मल पैदल यात्रा मैत्री छन् । त्यहाँ सवारीसाधन छिर्न दिइन्न । हाम्रा सहर पनि त्यस्तै हो भन्ने लाग्छ । कम्ती सार्वजनिक यातायात अलि व्यवस्थित भइदिएको भए हाम्रा सहर यति साह्रै दिक्क लाग्ने थिएनन् होला।  

विदेशी देशका सहर भन्दा हामी केमा फरक रहेछौं?
नेपाल र अरु देशका सहरबीच धेरै भिन्नता छ । अरु देशका सहर भौतिकरूपमा धेरै नै विकसित भइसकेका छन् । विकास निर्माणको पक्षलाई हेर्दा अरु मुलुुकका देश नेपालभन्दा धेरै अघि पनि छन् । हामीलाई अरु देशजस्तै बन्न ५/६ सय वर्ष लाग्छ । प्राकृतिक सौन्दर्य र मौलिकतालाई हेर्ने हो भने हाम्रा सहर अग्रपंक्तिमा छन्।

सार्वजनिक यातायात भद्रगोल बन्नुको कारण के होला?
सहरका सडक मोटरसाइकलका कारण अव्यवस्थित बनेका छन् । मोटरसाइकल थेग्ने नसक्ने भइसक्यो । यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय चुनौतीपूर्ण बनेको छ । यसको व्यवस्थापनको एउटा उपाय सार्वजनिक यातायातलाई व्यवस्थित गर्नु पनि हुनसक्छ।

कुन–कुन देशका सहर घुम्नुभएको छ?
मैले धेरै देशका सहर घुमेको छु । युरोपमा १० बर्ष बसेँ । जर्मनी, फ्रान्स, इन्डोनेसिया, चीन, भारत, अमेरिकातलगायत धेरै देशका सहर पुगेको छु । त्यहाँका सहर अति नै सुन्दर छन् । सहर हेर्दै आनन्द आउँछ । कतै फोहोर देखिन्न । यी देशका सहरको ऐतिहासिक पक्ष र आधुनिक पक्ष राम्रो छ । विश्वका धेरै मानिस यी सहरमा तानिएका छन्।

पछिल्लो समय घुमेको सहर कुन हो?
केही दिनअघि अमेरिका बसेर आएँ । अमेरिका सबैको सपनाको सहर हो । यो सहरमा पुग्ने सबैको सोच हुन्छ।

उपत्यकाको मननपर्ने पक्ष के के हुन्?
प्रदूषण र ट्राफिक जाम यहाँको सबैभन्दा मननपर्ने पक्ष हो ।

मनपर्ने पक्ष?
यहाँको मौसम सदावहार छ । पुराना संस्कृति, परम्परा र दरबार क्षेत्रलाई हेर्दा पनि उपत्यका रमणीय लाग्छ।

उपत्यका नजिक घुम्ने ठाउँ?
नगरकोट, गोदावरी, सुन्दरीजल, शिवपुरी, धुलिखेलतिर जान्छु । हामीकहाँ घुम्ने ठाउँहरु सीमित भए।

सहरवासीको बानी–व्यवहार कस्तो लाग्छ?
सहरवासीमा आँचरण र अनुशासन छैन । अर्को कुरा, सहरवासी अलिकति उत्तरदायी भएको भए सहर यति अस्तव्यस्त र भद्रगोल हुँदैनथ्यो । हामी विकास भएन भनेर भित्रभित्रै गुनासो गर्छौं । तर, जिम्मेवार निकायलाई दबाब दिँदैनौँ । सहरमा जथाभावी फोहर फ्याक्छौं।

मन भएर पनि घुम्न नपाएको सहर कुन हो?
मलाई जोमसोम, मुक्तिनाथ र अन्नपूर्ण भेगतिर जाने मन छ । समय व्यवस्थापन गरेर घुम्ने सोच छ।

सहरको मिठो लाग्ने खानेकुरा?
यहाँको मःमः मिठो लाग्छ।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १९ कार्तिक २०७५ ०४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App