६ वैशाख २०८१ बिहीबार
अन्य

तिहारको पहिरन

कोटेश्वरका धर्म वली तिहारको लागि किनमेलमा व्यस्त छन् । उनी काठमाडौंमा बसेर अध्ययन गर्छन् । यसपाली तिहार मनाउन उनी घर जाने योजनामा छन् । तिहारमा देउसी–भैलो खेल्दै साथीभाइसँग रमाइलो गर्ने उनको योजना छ।

उनी यसपाली दसैँमा घर गएनन् । उनी यसपालीको टीकामा नेपाली दौरा सुरुवाल र कालो भादगाउँले टोपीमा सजिने योजनामा छन्।

‘दौरा सुरवाल र कालो भादगाउँले टोपी लगाउने मौका अघिपछि हुँदैन । त्यही भएर तिहारको यो पहिरन लगाउने योजना छ,’ उनले भने।

तिहार हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड मानिन्छ । यसको स्वागतमा गाउँ–सहर तयार बनेको छ । गाउँघरमा तिहारका धुन गुञ्जन थालिसकेका छन् । कोही देउसी–भैलो खेल्ने योजना बुन्दैछन्।

ललितपुरको पाटन कलेजमा अध्ययनरत इन्दिरा मल्ल पनि यसपालीको तिहारमा नाच्ने योजनामा छिन् । उनी यसपाली काठमाडौंमा नै साथीहरूसँग देउसी–भैलो खेल्ने योजनामा छिन् । ‘चाडबाडको बेला माहोल नै फरक हुन्छ । काम, पढाइ र बोरिङ दैनिकीबाट केही समयको लागि बिदा लिएर रमाउन पाइन्छ । यही कारणले दसैं–तिहार मनपर्छ,’ उनले हाँस्दै भनिन्।

उनले तिहारका लागि किनमेल गरिसकेको बताइन् । उनी भन्छिन्, ‘यसपालीको तिहारमा म लेहेंगा लगाउँछु, बजारबाट रेडिमेड लेहेंगा लिएर पनि आइसके ।’ उनले यसपाली पर्पल कलरको नेट लेहेंगा लगाउने भएकी छन्।

तिहारको किनमेल गर्नेको निकै भीड देख्न सकिन्छ। पसलमा लुगाकपडा, भाइपूजाका सामग्री र झिलिमिली बत्ती किन्ने ग्राहकको घुइँचो देख्न सकिन्छ।

तिहारमा भाइटीकाको दिन लगाइने सप्तरंगी टीकाको सुरुवात दुई हजार वर्षदेखि प्रचलनमा आएको समाजशास्त्री पुरुषोत्तम लोचन श्रेष्ठले बताए । यो पर्वले दाजुभाइ र दिदीबहिनीबीचको पवित्र सम्बन्धलाई प्रगाढ बनाउने उनको विश्वास छ । ‘नेपालमा मनाइने चाडपर्वहरू किम्बदन्तीमा आधारित छन्, तिहारको पनि किम्बदन्ती छ,’ उनले भने।

काभ्रेकी कुसुम केसी पनि यसपालीको तिहार मनाउन घर जाने तयारीमा छिन् । असनमा सप्तरंगी टीका किन्न व्यस्त उनी भाइपूजाका लागि आवश्यक सबै सामग्री किनिसकेको बताउँछिन् । ‘दाजुभाइलाई मनपर्ने उपहार र भाइपूजाको मसला किनिसकेकी छु,’ उनले भनिन्।

उनी तिहारमा पहेलो रंगको चिकेन कढाई गरेको कटनको कुर्ता र हरियो सुरवाल लगाउने योजना रहेको बताउँछिन् । उनी भन्छिन्, ‘म प्रायः कुर्ता सुरवाल नै लगाउँछु । यही लगाउँन सजिलो लाग्छ ।’ कलेजी कुर्ता सुरुवाल लगाएकी उनी यो पहिरनमा राम्री देखिएकी थिइन्।

कीर्तिपुरकी लक्ष्मी महर्जन यसपालीको तिहारमा माइती जाने योजनामा छिन् । उनको माइतीघर कुपन्डोलमा छ । ‘यो वर्षको तिहार मेरो लागि विशेष छ, वर्षौसम्म भेट नभएका दाजु तिहार मनाउन नेपाल आउँदै हुनुहुन्छ,’ उनले हास्दै भनिन्।

उनले तिहारको किनमेल गरिसकेको बताइन् । यसपालीको तिहारका लागि बनारसी साडी किनेको उनी बताउँछिन् । ‘साडी लगाउने मेसो खासै पर्दैन । त्यहि भएर यसपाली रानी रंगको बुट्टे बनारसी साडी लगाउने योजना छ,’ उनले भनिन्।

कुपन्डोलस्थित आरभ कलेक्सनकी सञ्चालिका अनिला श्रेष्ठलाई अचेल भ्याइनभ्याइ छ । उनले छुट अफर ल्याएकी छन् । छुट अफरपछि ग्राहकको संख्या बढेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘यो फेस्टिबल राम्रो व्यापार भएको छ । साडी र कुर्ता सुरुवालको डिमान्ड निकै राम्रो छ।’

उनले दसैँअगाडिदेखि छुट अफर ल्याएको बताइन्।

सरारा, लंग कुर्ती र प्लाजो, साइड कट, तुनावाला कुर्ता र सदाबहार कटन र सिल्कको कुर्ता पिसको राम्रो माग रहेको उनले बताइन् । चाडवाडमा कुर्ती र साडीको माग धेरै हुने उनी बताउछिन् । उनी भन्छिन्, ‘यसपाली बनारसी, जापनिज, कटन, सिम्पल सिल्क, ह्याब्बी कडाई र भेल्भेटको साडीको माग छ, साडीको भन्दा ब्लाउजको फेसन निकै खोजिन्छ।’

अविवाहितले फेसनेबल कुर्ता सेट र विवाहितले लेटेस्ट डिजाइनका साडीहरू किन्ने गरेको उनी बताउँछिन्।

प्रकाशित: १९ कार्तिक २०७५ ०४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App