coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एक महिनादेखि सुनको भाउ ६० हजार हाराहारी

काठमाडौं - पछिल्लो झन्डै एक महिनादेखि सुनको भाउ स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा भर पर्ने सुनको मूल्य स्थानीय बजारमा पनि लामो समयदेखि स्थिर रहँदै प्रतितोला ६० हजारमा कारोबार भएको छ।  

एक दुई सय तलमाथि हुनेबाहेक सुनको मूल्य पछिल्लो झन्डै एक महिनादेखि प्रतितोला ६० हजारको वरिपरी रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गतहप्ता शुक्रबार प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्यमा किनबेच भयो।

अघिल्लो हप्ताको अन्त्यतिर सामान्य महँगिएको सुन गत हप्ता स्थिर रहेको छ। अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर बिस्तारै मजबुत भएकाले पनि भाउमा केही स्थिरता देखिएको महासंघले जनाएको छ । साथै, शुक्रबार युरो र बेलायती पाउन्डको तुलनामा डलर कमजोर भएको हुनाले पनि सप्ताहन्तमा मूल्यमा सामान्य वृद्धि भएको महासंघले जनाएको छ।  

असोजको अन्तिम हप्ता सुनको मूल्य पछिल्लो ६ वर्षकै उच्च बिन्दुमा पुग्दै प्रतितोला ६० हजारमा कारोबार भएको थियो । असोज २६ गते प्रतितोला ६० हजार रुपैयाँ पुगेको सुन त्यसयता एक–दुई सय तलमाथि हुनुबाहेक खासै फरक परेको छैन।

कात्तिक लागेपछि सुनको मूल्य प्रतितोला ६० हजार चार सयसम्म पुगेको थियो । यसै महिना कम बिन्दु हेर्दा ५९ हजार नौ सयसम्म मात्र झरेको थियो।

यसपटक सुनको मूल्य लामो समयसम्म स्थिर रहेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन्। विगत वर्षमा यति लामो समयसम्म सुनको मूल्य स्थिर रहेको आफूलाई अनुभव नभएको उनी बताउँछन्।

पछिल्लो समय नयाँ उचाइमा पुगेको सुनको मूल्य २०६९ भदौ महिनायता कै महँगो भएको शाक्यले बताए । २०६९ भदौ महिनामा प्रतितोला ६३ हजार तीन सयसम्म पुगेको थियो । दुई वर्षअघि नेपाली बजारमा सुनको मूल्य सबैभन्दा कम प्रतितोला ४७ हजार सात सयसम्म झरेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको र त्यसको असर स्थानीय बजारमा परेको हो। अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर तलमाथि हुँदा सुनको मूल्यमा पनि असर पर्छ । त्यसैगरी, अन्तर्राष्ट्रिय सेयर बजार पनि कमजोर हुँदै गएको छ । सेयर बजार कमजोर हुँदा लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन्।

विश्व बजारमा सुनको मूल्यलाई छिमेकी मुलुक भारतले पनि प्रभाव पार्छ । तिहार र छठसँगै विहेको सिजन आउँदै गर्दा भारतीय बजारमा सुनको खपत बढेको व्यवसायी बताउँछन् । त्यसले सुनको मूल्य बढाउन सहयोग गरेको छ।

भारतीय बजारमा सुनको खपत बढे पनि नेपाली बजारमा भने बढ्न नसकेको व्यवसायी बताउँछन्। दसैं, तिहार, छठ लगायत चाडपर्वमा नेपाली बजारमा सुन बढी माग हुन्छ । तर यसपालि भने पहिलाको जस्तो हुन नसकेको व्यवसायीको भनाइ छ।

सरकारले चाडपर्वको अवसर पारेर सुन आयातको कोटा समेत बढाएको थियो । सामान्य दिनमा दैनिक २० किलो आयात भएकोमा चाडपर्वमा हुने खपतलाई ध्यानमा राखेर राष्ट्र बैंकले दैनिक आयात २५ केजी पु-याएको छ।

प्रकाशित: १९ कार्तिक २०७५ ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App