६ वैशाख २०८१ बिहीबार
समाज

प्रहरीको कार्यक्षेत्रमा हस्तक्षेपले विवाद

दाङ - प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुखबीच प्रहरीलाई कसले परिचालन गर्ने भन्ने विवाद बढ्दै जाँदा प्रहरी प्रमुखको सरुवा भएको छ। प्रहरीको क्षेत्राधिकारमाथि सिडिओले हस्तक्षेप गरेको भन्दै त्यसलाई रोक्न खोजेपछि दाङका प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माको सरुवा भयो। प्रहरी प्रमुखका विरुद्ध सिडिओ आफैं गृह मन्त्रालय धाएपछि शर्माको सरुवा भएको हो।

दाङका सिडिओ गजेन्द्रबहादुर श्रेष्ठले जिल्लास्थित प्रहरी कार्यालयका प्रमुखहरुलाई आफूखुसी परिचालन गर्न खोजेको विषयलाई शर्माले रोकेपछि उनीहरुबीच विवाद बढेको थियो। एसपी शर्माको सरुवा प्रकरणको प्रमुख कारण प्रहरीको अधिकारमाथि सिडिओको हस्तक्षेप रहेको प्रहरी स्रोतले दाबी गरेको छ । सिडिओ श्रेष्ठले भने आफूले एसपी शर्माको सरुवाका बारेमा कुनै पहल नगरेको दाबी गरेका छन् । एसपी र सिडिओबीच केहि समययता प्रहरी परिचालनका विषयमा दूरी बढेको थियो। एसपी शर्माले आफूलाई बिनाकारण सरुवा गरिएको बताए । ‘मैले गल्ती गरेको भए प्रदेशमा डिआइजी हुनहुन्छ, उहाँलाई भनेको भए मैमाथि छानबिन हुन्थ्यो । बिनाकारण मलाई आएको अढाइ महिनामै सरुवा गरियो’, उनले भने । स्रोतका अनुसार एसपी शर्मा आउनुपूर्व प्रहरीका तल्ला एकाइलाई श्रेष्ठले ठाडो निर्देशन दिएर परिचालन गर्दै आएका थिए । यस कार्यमा एसपी शर्माले रोक लगाएका थिए। स्रोतका अनुसार कुनै व्यक्तिलाई पक्राउ गर्न र छोड्न समेत निर्देशन जाने गरेको भन्दै एसपी शर्मा सिडिओप्रति रुष्ट थिए । सिडिओ श्रेष्ठले भने आफूले प्रहरीलाई कुनै गलत नियतले निर्देशन नदिएको दाबी गरेका छन् । ‘मैले नियत खराब राखेर अहिलेसम्म कुनै गतिविधि गरेको छैन’, उनले भने।

प्रहरी परिचालनदेखि खोला उत्खननसम्मका गतिविधिमा विवाद बढेपछि सिडिओको दबाबमा दाङका प्रहरी प्रमुखको सरुवा भएको छ।

एसपी शर्माका कारण प्रहरीमाथिको अधिकार खोसिएपछि श्रेष्ठ असन्तुष्ट बनेका थिए । ‘अपराध नियन्त्रणका लागि मैले प्रहरीलाई निर्देशन दिनु कुनै गल्ती हो जस्तो मलाई लाग्दैन’, प्रजिअ श्रेष्ठले भने, ‘एसपी साप सकृय नभएपछि चाँडो एक्सन लिनका लागि मैले प्रहरीलाई आफैं तत्काल निर्देशन दिने गरेको हुँ । उहाँले आफ्नो अधिकारमाथि हस्तक्षेप भएको ठान्नुभयो’, सिडिओ श्रेष्ठले भने।

प्रहरी परिचलानमा देखिएको विवाद खोला उत्खननका विषयमा झनै चुलिएको थियो। स्थानीय खोलामा हुने अवैध उत्खननमा संलग्नलाई सशस्त्र प्रहरी लगाएर पक्राउ गर्न थालेपछि प्रहरीले आफ्नो अधिकार मिचिएको महसुस गरेको थियो । यस प्रकरणमा एसपी शर्माले अवैध उत्खननमा संलग्न भएकालाई सिडिओले संरक्षण गरेको आशंकासमेत व्यक्त गरेका थिए । ‘उहाँ (श्रेष्ठ) ले मलाई कुनै पनि विषयको कहिल्यै जानकारी नै नदिई सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाउनुभयो। प्रहरीको कामलाई उहाँले आफैं गर्न खोज्नुभयो ’, एसपी शर्माले भने । यी दुईबीचको विवादमा जुवा काण्डले समेत मलजल ग-यो । कोजाग्रत पूर्णिमाका दिन घोराहीस्थित एक घरमा जुवा खेलिरहेको सूचना आफूलाई प्राप्त भएको भन्दै प्रजिअ श्रेष्ठले घोराहीस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रञ्जन अवालेलाई छापा मार्न निर्देशन दिएका थिए । अवालेले भने एसपीको निर्देशन पाएमा मात्रै छापा मार्न जाने जबाफ सिडिओलाई दिएका थिए । एसपी शर्माले तत्काल प्रहरी निरीक्षक अवालेलाई एक्सनमा जान निर्देशन दिएका थिए । लगत्तै प्रहरीको टोली जुवा अखडा चलेको भनिएको स्थानमा पुगेको थियो । तर, सिडिओ श्रेष्ठले उक्त स्थानमा अनुसन्धानका एसपी र सशस्त्र प्रहरीलाई समेत खटाए । केही बेर प्रहरीकै बीचमा घटनास्थलमै विवादसमेत भएको थियो।

उक्त घरमा जुवा खेलेको प्रमाण नपाएपछि यो मुद्दा प्रहरीले हेर्न चाहेन । श्रेष्ठले उक्त घरमा रहेका सबैजनालाई नियन्त्रणमा लिएर आउन एसपी शर्मालाई भनेका थिए । सिडिओको सल्लाहअनुसार एसपी शर्माले उक्त घरमा रहेका सबैलाई नियन्त्रणमा लिन थप प्रहरी खटाए । तर उक्त मुद्दा सिडिओले हेर्नुपर्ने सर्त एसपी शर्माले राखे । ‘जुवा खाल भनिएको घरमा जुवाको कुनै प्रमाण भेटिएन,’ प्रहरी स्रोतले भन्यो, ‘प्रमाणै नभेटिएपछि प्रहरीले यो मुद्दा आफूले लिन चाहेन, सिडिओकै निर्देशनमा छापा मारिएकाले उहाँले नै यो मुद्दा हेर्नुपर्ने अडान लिएको थियो । सिडिओले भने घटनास्थलमा खटिएका प्रहरी अधिकारीले नै मुद्दा हेनुपर्ने आशय व्यक्त गरेपछि यस घटनाले विवादमा घिउ थप्ने काम गरेको थियो।

यो घटनापछि एसपी शर्माले प्रजिअ श्रेष्ठका गार्र्डलाई झिकाइदिएका थिए । सादा पोसाकमा नेपाल प्रहरीका ती गार्ड छापा मारिएको घरमा जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि बनेर छिरेका थिए । जिल्ला प्रशासनको प्रतिनिधि बन्ने अधिकार सिडिओका गार्डलाई नहुने भन्दै कारबाहीस्वरुप एसपी शर्माले ती प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिदिएका थिए । यो घटनाले थप रुष्ट प्रमुख जिल्ला अधिकारी त्यसलगत्तै काठमाडौंतर्पm लागेको र केही दिनमै एसपी शर्माको सरुवा भएको स्रोतले बतायो।

प्रकाशित: १९ कार्तिक २०७५ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App