coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बोलपत्रमा टिपेक्स लगाउँदै सच्याउँदै

काठमाडौं - वीर अस्पतालमा करोडौं अनियमितता भएको पाइएको छ। उपकरण तथा औषधि खरिदमा अस्पताल प्रशासनबाट अनियमितता हुने गरेको ठहर राष्ट्रिय सतर्कता केन्द्रले गरेको छ। केन्द्रको विस्तृत अध्ययन प्रतिवेदनमा अस्पताल प्रशासनका अधिकारीले बोलपत्रमा टिपेक्स लगाएर समेत अनियमितता गरेको उल्लेख छ।

प्रतिवेदनअनुसार अस्पताल प्रशासनले २०७४ मा ‘इन्टरप्रेटिभ सिटी विथ हाई एन्ड नेभिएसन सिस्टम’ का लागि उपकरण उपलब्ध गराउन बोलपत्र आह्वान गरेको थियो, जसमा हिमालय मेडिइच र बायमन्ड इन्टरनेसनलले जर्मनीमा उत्पादित एरो मोडलकोे मेसिन उपलब्ध गराउनेगरी बोलपत्र पेस गरेका थिए । तर एउटा बोलपत्रमा पहिला उल्लेख भएको १८ करोडलाई केरमेट गरी २० करोड ४९ लाख कायम गरी कम्पनीको छाप लगाएकोे केन्द्रको प्रतिवेदनमा जनाइएको छ। यसैगरी हिमालय मेडिइचबाट पेस भएको बोलपत्रमा प्रतिथान १५ करोड ९५ लाख कायम गर्दै २ थानका लागि ३१ करोड ९० लाख प्रस्ताव गरी कबोल अंकमा टिपेक्स लगाई कम्पनीको छाप र हस्ताक्षर भएको प्रतिवेदनमा उल्लेख छ।

औषधि खरिदमा पनि उस्तै
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा आव २०७३/७४ मा क्यान्सरजन्य औषधि खरिदका लागि बोलपत्र आह्वान गरिएकोमा सबैभन्दा घटी कबोल गर्ने डिके मेडी सप्लायर्स र यतिकेम सप्लायर्सको बोलपत्र मूल्यांकन समितिले थप कागजात पेस नगरेको कारण देखाउँदै रद्द ग-यो। समितिले गत आव २०७२÷०७३ मा खरिद गरेको दररेटमै खरिद गरी यस वर्ष अस्पताललाई २८ लाख ४६ हजार २ सय ४ रुपैयाँ भार परेको महालेखा परीक्षकको प्रतिवेदनमा छ । कुनै कारणवश बोलपत्र रद्द गर्नुपरेमा पुनः बोलपत्र आह्वान गर्नुपर्छ तर सो नियमलाई अस्पताल प्रशासनले उल्लंघन गरी पुरानै दररेटमा औषधि खरिद गरेर आर्थिक अनियमितता गरेको प्रतिवेदनमा जनाइएको छ।

यसैगरी अस्पताल प्रशासनले आव २०७३/०७४ मा २४ लाख ४८ हजार ४ सय ९४ रूपैयाँको औषधि र २३ लाख ७६ हजार ८ सय ४८ रूपैयाँको कार्यालय सामग्री सीधै खरिद ग-यो । यसबाट प्रतिस्पर्धी मूल्यमा खरिद गरी सार्वजनिक खरिदमा मितव्ययिता कायम गर्नुपर्ने कानुनी व्यवस्था पालना नभएकोे प्रतिवेदनमा जनाइएको छ। अस्पतालले आव २०७३/०७४ मा अन्य महत्वपूर्ण उपकरण खरिद गर्दा बढी दररेट कबुल्ने फर्मसँग औषधि किनेको केन्द्रले जनाएको छ।

अस्पतालमा सामानको रेकर्ड नै छैन
सतर्कता केन्द्रको प्रतिवेदनमा लामो समयदेखि वीर अस्पतालको जिन्सी निरीक्षण नभएको उल्लेख छ । अस्पतालअन्तर्गतका जनरल स्टोर र मेडिकल स्टोरको जिन्सी निरीक्षण लामो समयसम्म पनि नभएको प्रतिवेदनमा उल्लेख छ । ‘सो विषय लेखा परीक्षण हुँदा महालेखा परीक्षकको कार्यालयले समेत पटकपटक उठाए पनि अस्पताल प्रशासनले गम्भीरतापूर्वक नलिई जिन्सी निरीक्षणप्रति बेवास्ता गर्नुबाट अस्पताल प्रशासन जिन्सी सामान दुरुपयोग गर्ने मनसायबाट प्रेरित भई जिन्सी निरीक्षण नगराएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ।

तत्कालै जिन्सी निरीक्षण गराउन केन्द्रले अस्पताल प्रशासनलाई सुझाव दिएको छ।

अस्पतालले स्टोरमा सामान आयव्यय हिसाबका लागि म्यानुअल इन्ट्री गरे पनि कम्प्युटर सफ्टवेयर प्रयोग नगरेको प्रतिवेदनमा उल्लेख छ । स्टोरमा जिन्सी निरीक्षण विगत २ वर्षदेखि नभएको जनाइएको छ । स्टोरकिपरले स्टोरका लागि आवश्यक सामान सीधै बजारबाट खरिद गर्ने गरेको जबाफ केन्द्रका कर्मचारीलाई दिएको प्रतिवेदनमा जनाइएको छ।

अस्पतालमा रहेका वा अन्य कुनै प्रकारबाट प्राप्त हुन आएका जिन्सी मालसामानको लगत तयार नगर्दा अस्पतालका मालसामान तथा सम्पत्ति केकस्तो अवस्थामा छन्, यसबारे यकिन नभएको केन्द्रले जनाएको छ । यसैगरी अस्पतालका चोरिएका वा हराएका, सडेका, बेकम्मा भएका, मर्मत गरेर पनि प्रयोगमा नआउने र मर्मत हुन नसक्ने सामानको अवस्थाबारे पनि यकिन नभएको प्रतिवेदनमा जनाइएको छ । ‘अस्पतालमा गरिएको स्थलगत निरीक्षणका क्रममा स्टोरमा कम्प्युटर सहायक मोहन श्रेष्ठ विगत २ वर्षदेखि कार्यरत रहेको पाइयो,’ प्रतिवेदनमा भनिएको छ, ‘स्टोरमा विगतमा कार्यरत पुष्पलाल श्रेष्ठ अवकाश भइसके पनि हाल कार्यरत मोहन श्रेष्ठलाई बरबुझारथ नगरेको देखिएको छ।’

कर्मचारी भर्नामा पनि अनियमितता हुने गरेको केन्द्रले औंल्याएको छ । स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी नियुक्त भएको प्रतिवेदनमा उल्लेख छ। करार र ज्यालादारीमा कर्मचारी भर्ना गर्दा कुनै विधि र प्रक्रिया अवलम्बन नगरिएको केन्द्रले जनाएको छ। केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले कारबाहीका लागि प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाएको उनले जानकारी दिए । ‘वीर अस्पतालमा विस्तृत अध्ययन गर्दा ठूलो आर्थिक अनियमितता भएको देखिएको छ,’ उनले भने, ‘कारबाहीका लागि हामीले अख्तियारलाई रिपोर्ट बुझाएका छौं।’

प्रकाशित: १९ कार्तिक २०७५ ०२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App