७ वैशाख २०८१ शुक्रबार
अर्थ

पाँचवटा आन्तरिक विमानस्थल विस्तार गरिँदै

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले केही दिनअघि मात्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रेको सुरुवात आफैंले गरे। देशको हवाई उडान व्यवस्थित भएमात्रै पर्यटक भित्र्याउन सकिने भन्दै पर्यटन मन्त्री अधिकारीले सार्वजनिक कार्यक्रममा बोल्दै आएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रेसँगै ६ महिनाभित्र तयार हुने मन्त्री अधिकारीको दाबी छ।  

यही क्रममा आन्तरिक उडानतर्फको चारवटा विमानस्थल पनि छिट्टै विस्तार प्रक्रियामा जाने भएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको चारवटा विमानस्थललाई व्यवस्थित गर्ने उद्देश्यले विस्तार गर्न लागेको बताइएको छ। सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने घोषणासँगै विभिन्न आन्तरिक विमानस्थलको सुधार तथा व्यवस्थापनले तीव्रता पाएको छ।

प्राधिकरणले जनकपुर, चन्द्रगढी, भरतपुर, धनगढी र सिमीकोट  विमानस्थलको धावनमार्ग विस्तार गर्ने जानकारी दिएको छ । प्राधिकरणका प्रवक्ता विरेन्द्रप्रसाद श्रेष्ठले विशेषगरी जनकुपर चन्द्रगढी भरतपुर र धनगढीको विमानस्थको कालोपत्रेमा एक लेयर थपिने जानकारी दिए।

‘प्राधिकरणले चालू आर्थिक वर्षभित्रै विमानस्थल विस्तार सहित लेयर थप्ने तयारी छ। टेन्डर प्रक्रियासँगै काम तीव्र गतिमा लानेछौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘केही फ्लाइट रोकेर वा डाइभर्ट गरेर भए पनि तोकिएको समयमा काम सकाउन निर्देशन दिन्छौं।’

विमानस्थल विस्तारमा ‘स्लोरी सिल’ एक तह पोत्ने काम हुन्छ। जहाज उडान र अवतरण गर्दा रनवे कहीँ न कहीँ क्र्याक भएको हुनाले दुर्घटना हुन नदिन पनि कालोपत्रे गर्न लागिएको प्रवक्ता श्रेष्ठको भनाइ छ।

चन्द्रगढी विमानस्थलको धावनमार्गको पिचको मोटाइ १० सेन्टिमिटर छ। यो धावनमार्गमा थप ६ सेन्टिमिटर पिच थप्ने प्राधिकरणले जनाएको छ।

भरतपुर विमानस्थल धावनमार्गमा पनि ६ सेन्टिमिटर मोटाइ थपिने छ। धनगढी विमानस्थल धावनमार्गको पिच अहिले १० सेन्टिमिटर मोटाइमा छ। यसमा पनि ६ सेन्टिमिटर नै मोटाइ थप्न लागिएको छ । सिमीकोट विमानस्थलको धावनमार्गमा भने पाँच सेन्टिमिटर मोटाइ थप्न लागेको प्राधिकरणले जनाएको छ । अहिले यसको मोटाइ १० सेन्टिमिटर छ।

आन्तरिक उडानतर्फको व्यस्त चन्द्रगढी, भरतपुर र धनगढी विमानस्थल ट्रंक रुट अन्तर्गत पर्छन्। चार विमानस्थलको धावनमार्ग विस्तारका लागि प्राधिकरणले ठेक्का प्रक्रिया सुरु गरिसकेको छ।

प्रकाशित: १९ कार्तिक २०७५ ०१:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App