coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

यसपटकलार्इ सरी

काठमाडौं - लगानीयोग्य रकमको अभाव भएपछि बैंकहरुले ठूला ऋणीलाई ‘सरी’ भन्दै फर्काउन थालेका छन्। लगानी गर्ने पैसा (तरलता)को अभाव झेल्दै आएका अधिकांश वाणिज्य बैंकहरु अहिले १० लाखभन्दा बढी रुपैयाँ ऋण दिन सक्ने अवस्थामा छैनन्।

कतिपय बैंकहरु ठूलो ऋण दिन सक्ने अवस्थामा नरहेको नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष एवं हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए। ‘सानोतिनो ऋण दिन सक्ने अवस्थामा बैंकहरु रहे पनि ठूलो ऋण दिन सक्दैनन्,’ उनले नागरिकसँग आइतबार भने, ‘प्रायः सबै वाणिज्य बैंकको अवस्था यस्तै छ।’

बैंकहरुले एक सय रुपैयाँ निक्षेप संकलन गरे भने ८० रुपैयाँभन्दा बढी लगानी गर्न पाउँदैनन्। अहिले अधिकांश बैंकले संकलन गरेको रकमको ७९ प्रतिशत (एक सय रुपैयाँमा ७९ रुपैयाँ) लगानी गरिसकेका छन् । अब उनीहरु ठूलो लगानी गर्न सक्ने अवस्थामा नभएको राणाको भनाइ छ।

अहिले धेरैजसो बैंकहरुको कर्जा–पुँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) करिब ७९ प्रतिशत पुगेको बैंकर बताउँछन्। पछिल्लो समय बैंकहरुले आक्रामक रुपमा लगानी गरेका कारण लगानीयोग्य रकम अभाव भएको हो।

‘असोज महिनामा बैंकहरुले २१ अर्ब रुपैयाँ मात्र निक्षेप संकलन गरेछन्,’ राणाले भने, ‘जबकि उक्त अवधिमा बैंकहरुले ७२ अर्ब लगानी गरेका छन्।’ निक्षेपभन्दा लगानी बढाएका कारण गत वर्षभन्दा चालु आर्थिक वर्षमा लगानीयोग्य रकमको अभाव छिटो देखिएको बैंकर बताउँछन्।

गत वर्ष पुसदेखि लगानीयोग्य पुँजीको अभाव देखिएको थियो। यो वर्ष कात्तिकदेखि नै तरलताको अभाव देखिएको छ।

सर्वसाधारणले पैसा जम्मा गर्न नआएपछि पुँजी अभावमा ठूलो कर्जा लिन आउनेलाई बैंकहरुले रित्तो हात फर्काउन थालेका छन्। बैंकले मिलेसम्म कर्जा प्रवाह गरेका हुन्। दैनिक ऋणको माग बढ्दै जाँदा त्यस अनुपातमा निक्षेप संकलन नभएपछि अप्ठेरो अवस्थामा पुगेका हुन्। चुक्ता पुँजी आठ अर्ब रुपैयाँ भएका र मुलुककै ठूला वाणिज्य बैंक भनिएकाले १० लाख रुपैयाँभन्दा बढी कर्जा दिन नसक्नुलाई बिडम्बना नै मान्नुपर्ने विश्लेषक बताउँछन्।

‘एउटै व्यक्ति वा संस्था २० लाख रुपैयाँ चाहियो भनेर ऋण माग्न आए दिन सक्ने अवस्था छैनौं,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘ठूलो रकम लगानी गर्न खोज्यो भने कर्जा–पुँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) ८० छुनै खोज्छ।’ सिसिडी रेसियो ८० पुगे राष्ट्र बैंकले कारबाही गर्ने भएकाले बैंक सचेत भएर बस्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

अर्को एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले नाम उल्लेख नगर्न अनुरोध गर्दै भने, ‘ठूलो ऋण माग्नेलाई त परै जाओस् कुनै कुनै बैंकले त २–४ लाख रुपैयाँ माग्न आए पनि दिन सक्ने अवस्था छैनन्।’ सरकारले पुँजीगत खर्च नबढाएको र स्थानीय तहमा गएको पैसा पनि खर्च नभएका कारण यस्तो स्थिति आएको उनले दाबी गरे। हाल सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये २० वटासँग लगानीयोग्य रकमको अभाव छ। ‘करिब २० बैंकको सिसिडी रेसियो ७९ भन्दा माथि भएकाले उनीहरुलाई थप कर्जा लगानी गर्न समस्या छ,’ ती प्रमुख कार्यकारीले भने, ‘यस्तो अवस्थामा कसरी काम गर्ने?’

लगानीयोग्य पुँजी अभावको समस्या अझै जटिल बन्दै जाने नेपाल बैंकर्स संघको भनाइ छ । ‘बैंकमा लगानीयोग्य पुँजी अझै टाइट हुनेछ,’ एक विश्लेषकले भने, ‘चाहिनेभन्दा बढी आक्रमक ढंगले बैंकले लगानी गरेकाले यस्तो समस्या आएको हो।’

अहिले लगानीयोग्य पुँजी अभावकै कारण बैंकहरुले मन फुकाएर लगानी गर्न सकिरहेका छैनन्। हिमालयन बैंकको सिसिडी रेसियो ७८ भन्दा माथि पुगेको पनि राणाले जानकारी दिए।

पहिले निक्षेपभन्दा कर्जामा जोड दिइरहेका बैंकहरु अहिले कर्जा लगानी कम गरेर निक्षेप बढाउन लागेका छन्।

बैंकले मुद्दतीमा ११ प्रतिशतसम्म र बचतमा सात प्रतिशतसम्म ब्याज दिँदा पनि निक्षेप संकलन गर्न सकेका छैनन्। लगानीयोग्य रकमको अभाव यही अवस्थामा लामो समयसम्म रहने हो अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने विज्ञ बताउँछन्।

दुई वर्षयता यस्तै अभाव बैंकहरुले खेप्दै आएका छन्। सरकारले खर्च गर्न नसकेका कारण यस्तो अवस्था आएको हो।

राष्ट्र बैंक भने लगानीयोग्य रकमको खासै समस्या भइनसकेको बताउँछ। ‘बैंकिङ प्रणाालीमा तरलताको केही कमी भएको हो,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘लगानी गर्नै नसक्ने अवस्थामा बैंक पुगेका छैनन्।’

नेपालको अर्थतन्त्र सन्तुलनमा नभएका कारण लगानीयोग्य पुँजी अभाव भइरहने एक विज्ञले बताए। ‘स्वदेशमा उत्पादन हुने वस्तुभन्दा आयात बढी भएकाले सधैं तरलता अभाव झेल्नुपरेको हो,’ उनले भने, ‘यस्तो असन्तुलनलाई सन्तुलनमा ल्याउन उत्पादन बढाउनुको विकल्प छैन।’ स्वदेशी उत्पादन नबढाएसम्म लगानीयोग्य पुँजी अभाव खेपिरहनुपर्ने भनाइ उनको थियो।

बैंकमा कर्जा दिने पैसा नभएपछि यसको असर चौतर्फी रुपमा पर्दैछ। सेयर बजार पनि यसैकारण निरन्तर घट्दै गएको छ । साताको पहिलो दिन आइतबार पनि सेयर परिसूचक दोहोरो अंकले घट्न पुगेको छ । सानो कर्जा लिएर काम चलाउने सर्वसाधारणदेखि करोडौं रुपैयाँ लिएर व्यवसाय गर्ने व्यवसायी यसको मारमा परेका छन्। यसले मुलुकको अर्थतन्त्रलाई समेत असर पार्नेछ।

अहिलेको अवस्थामा १५ प्रतिशत ब्याजमा कर्जा लिएर कुनै पनि व्यवसायीले व्यवसाय सुरु गर्न सक्दैनन् । पहिले कर्जा लिएर व्यवसाय गरेकालाई पनि ब्याजको भार बढेको छ। बैंकमा कर्जा दिने पैसा नभएपछि यसको सबैभन्दा ठूलो असर लिने र दिने दुवै ब्याजदरमा परेको छ। अहिले नै अधिकांश बैंकले पैसा तान्न मुद्दतीमा ११ प्रतिशतसम्म ब्याज दिन सुरु गरेका छन्। ब्याज पाउने सर्वसाधारण यसबाट फाइदामा भए पनि ११ प्रतिशतमा लिएको पैसाको ब्याजदर कम्तीमा पनि १५ देखि १६ प्रतिशत पुग्ने भएकाले ऋण लिनेहरु समस्यामा पर्न थालेका छन्।

प्रकाशित: १९ कार्तिक २०७५ ००:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App