पद्मरत्न तुलाधर : अँध्यारो समयमा बलेको बत्ती

आइतबार, १८ कार्तिक २०७५, १५ : ४२ राजेन्द्र महर्जन

(अधिकारकर्मी तथा स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ। नागरिक न्यूजमा भदौ २३ गते उनकोबारेमा राजेन्द्र महर्जनले लेखेका थिए। सान्दर्भिक ठानेर लेखको शिर्षक परिवर्तन गरेर पुन : प्रकाशित गरेका छौं।) -स.

झीगु भाषा मन्त धाःसा
गय् थ्व नेपाः झीगु जुइ ?
थःगु दे परदेश जुइकाः
म्वाय्गु हे नं सीगु जुइ ।
दुर्गालाल श्रेष्ठ

एउटा आदर्श, एक मोडेल, एक प्रतीक । अँध्यारो समयमा बलेको बत्ती । नेपालमा बोलिने सबै मातृभाषाको समान अधिकार प्राप्तिको संघर्षका कारण प्रेरणास्रोत । कसैका लागि उनी पत्रकार, कसैका लागि साहित्यकार, कसैका लागि भाषा र जातिका अधिकारका अभियन्ता, कसैका लागि मानवअधिकारका अगुवा, कसैका लागि वामपन्थी नेता त कसैका लागि लोकतान्त्रिक गणतन्त्रकै नायक । मेरा  लागि हामी बाँचेको समाजलाई लोकतान्त्रिक र मानवीय बनाउन खोज्ने असल र सरल मान्छे!

उनी धेरैका लागि धेरै पहिचान र अस्तित्व बोक्ने भए पनि खासमा धेरैका पद्म दाइ हुन् । जुनसुकै उमेरका भए पनि उनी मेरा लागि पनि पद्म दाइ नै हुन्, किनभने उनका लागि उमेरको बारबन्देज थिएन । उनीसँग साढे तीन दशकको अन्तर–सम्बन्धको पाना पल्टाउँदा उनले कहिल्यै ‘दाइ–पना’ देखाएको थाहा पाइएन । चाहे ठूला हुन् या साना, जोसुकैलाई सम्मान र माया गर्ने पद्मरत्न तुलाधरको नजरमा जोकोही पनि थिए : सहकर्मी ! त्यही भावभंगिमाले गर्दा उनीसँग नजिकिन, संवाद गर्न र सिक्न कहिल्यै धक लागेन, बरु जति जति नजिकियो, त्यति त्यति ज्ञानको उज्यालो र आत्मीयताको न्यानोपना बढ्ने!

पसलमा बस्दै अनुवाद गर्ने पत्रकार

सानैमा सुनेको र पढेको थिएँ पद्म दाइको नाम । ‘नेपालभाषा’ न्हिपौ (दैनिक पत्रिका) का सम्पादकका रूपमा । घरमा आउने दैनिक पत्रिका पढेर उनीसँग घुमाउरो परिचय भएको थियो । तीसको दशकमा कीर्तिपुरसम्म आइपुग्ने उनको पत्रिकाका खबर, लेख र सम्पादकीयबाटै उनका विचारसँग पनि थोरबहुत परिचित भएको थिएँ । आज कमैलाई मात्र थाहा होला, कुनै जमानामा पद्मरत्न तुलाधर पत्रकार, सम्पादक र प्रकाशक थिए भन्ने तथ्य।

वास्तवमा उनको सिंगो जीवन प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रलाई पनि लोकतन्त्रीकरण गर्नका लागि समर्पित रहेको आभाष हुन्छ । सबै भाषा बोल्ने, सबै धर्म–संस्कृति मान्ने, सबै विचार मान्ने नेपालीहरूको समानता र स्वतन्त्रताका लागि लडिरहेका यी सरल र असल मानवको मायाको विस्तारले म अविभूत छु।

१९९७ सालमा प्रजातन्त्रका लागि लडेका चार जना योद्धा मारिनुभन्दा केही दिनअघि न्हायकं त्वाःमा जन्मिएका पद्मरत्नले आफ्नो युवा–जीवन पत्रकारिता र साहित्यिक लेखनमा बिताएका थिए । साढे दुई दशकको पत्रकारिता र लेखनको मियो भने सबै भाषाभाषीका बोल्ने, पढ्ने लेख्ने, छाप्ने, काम गर्ने, बन्दव्यापार गर्ने अधिकारको प्राप्ति नै रह्यो । सबै मातृभाषालाई स्कुल, प्रशासन, अदालतमा चलाउन पाइएन भने नेपाल नेपाल नरहने, नेपालमाथि सबै भाषाको स्वामित्व नरहने र उनीहरूका प्रांगारिक ज्ञान, इतिहास र अनुभवबाट सिंगो देश वञ्चित हुने उनको धारणा थियो । त्यसैले होला, उनले २०१७ सालमा त्रिचन्द्र कलेजबाट भाषा अधिकारका लागि ‘जः’ साहित्यिक पत्रिका प्रकाशन थालेका थिए भने नेपाली कांग्रेसको सरकारबाट रेडियो नेपालमा नेपालभाषाको ‘जीवन दबू’ कार्यक्रम थालनी भएपछि उनी पनि हितकर वीर सिंह कंसाकारसँगै प्रस्तोता भएका थिए।

पद्म दाइलाई अझैँ याद छ, चित्तधर हृदयले प्रकाशन गरेको ‘झी’ पत्रिकाका लागि उनले लेखनसँगै लेखरचना संकलनमा सघाएका थिए । उनलाई पत्रकार नै बनाउने गरी भएको फड्कोमा १९९७ सालको काण्डमा जेल परेका भाषासेवी तथा प्रजातन्त्रका अभियन्ता फत्तेबहादुर सिंहको हात थियो । सिंह एक्लैले नेपालभाषा न्हिपौ (दैनिक पत्रिका)को प्रकाशन र सम्पादनको भार बोक्दै दुःखजिलो गरिरहेको असहज अवस्था देखेपछि पद्म दाइको जीवनले फड्को मारेको रहेछ । उनको पत्रकारको जीवन सुरु हुन्छ, बालकुमारीस्थित आफ्नो पसलमा बस्दै रासस र एएफपीका समाचार नेपालभाषामा अनुवाद गर्ने क्रमबाट । त्यसपछि सम्पादकीय लेखनदेखि ग्राहक अभियानमा संलग्न हुने क्रममा उनी त्यस अखबारको सम्पादक समेत भए । एकसुरमा समाचार लेख्दै बस्दा पसलका सामान चोरिएको समेत हेक्का नहुने कुरा हाँस्दै सुनाउँछन् उनी । उनको हाँसोमा बालबालिकाहरूको सरलता र निर्दाेषपना झल्केको पाउँछु, सधैँ सधैँ।

लेखनमा मामिलामा पद्म दाइको खुबी अचम्मकै थियो । उनी कागजमा रचना गर्दैनथे, बरु सिधै कम्पोज गर्थे । कलमले कागज वा कपीमा लेखेर सिर्जना नगरीकन कम्प्युटरमा सिधै लेखरचना टाइप गरेझैँ ।

अनुमान थियो, अंग्रेजी साहित्य पढेका व्यक्तिले आफ्नो रुचि र आवश्यकताअनुसारको ‘पेसा’ छनौट गर्ने क्रममा पत्रकारिता रोजेको हुनुपर्छ, जबकि उनको पेसा पटक्कै व्यावसायिक थिएन । लख काटेको थिएँ, रुचिअनुसारको पेसालाई दिगो र व्यावसायिक बनाउन प्रेस स्थापना गरेको हुनुपर्छ, तर उनी त कम्पोजिटरदेखि प्रेसम्यानसम्म आफै थिए। हो, यसरी तीसको दशकमा पद्म दाइ पत्रकार, सम्पादक र प्रकाशकबाट ‘प्रेस मालिक’ भए। पद्म दाइ प्रेसका मालिक हुँदा नै मेरो नियमित भेट, काम र संवाद हुने गर्दथ्यो । खासमा प्रेसको काम उनका दुवै छोराले सम्हाल्दथे, लेखक र अभियन्ताको भूमिका सम्हाल्थे उनी।

उनी मेरा लागि प्रेसका मालिक कम; लेखरचनाका लेखक र अन्तर्वार्ताका लागि उपयुक्त भाषिक जातीय अधिकारका अभियन्ता बेसी थिए । सानैदेखि उनका नेपालभाषामा लेखिने र देखाइने राजनीतिक ख्यालः (प्रहसन)का पाठक र दर्शक थिएँ । उनका चोटिला निबन्धको स्वाद पनि अलिकति थाहा पाएको पाठक थिएँ । त्यस्तै साहित्यको प्रभाववश मैले नेपालभाषाको साहित्यिक र सांस्कृतिक जीवनमा लागेपछि लेखपढ गर्न थालें, कीर्तिपुरमा गरिने साहित्यिक कार्यक्रमको संयोजनमा लागें । जब म कीर्तिपुरबाट ‘प्याकिं’ (नेपालभाषाको समसामयिक पत्रिका)का सम्पादक भएँ, तब उनी पत्रिकाका नियमितजसो लेख्ने लेखक वा अन्तर्वार्ता लिइने स्रोत व्यक्ति भए।

‘प्लट सोच्दैछु राजेन्द्र’
चालीसको दशकमा उनी नेपालभाषा मंकाः खलःका अध्यक्षका रूपमा स्थापित भइसकेका थिए, जुन नेपालभाषाको उन्नयनका लागि गठित सामूहिक संगठन थियो । उनको अगुवाइमा मंकाः खलःले नेपालकै नाममा, नेपालीबाटै स्थापित ‘नेपाल संवत्’लाई राष्ट्रिय संवत्का रूपमा सरकारी मान्यताका लागि आन्दोलन चलाइरहेको थियो । एक भाषा, एक क्षेत्र, एक धर्म, एक संस्कृतिको महेन्द्रीय राष्ट्रवादलाई चुनौती दिँदै नेपालभित्रका सबै भाषा, धर्म र संस्कृतिको हक–अधिकारका लागि उनकै अगुवाइमा अभियान चलिरहेको थियो । साहित्य लेखनसँगै यस लोकतान्त्रिक र मानव अधिकारको लडाइँमा सहभागी भएकोले पद्म दाइसँग सान्निध्यता हुनु अनौठो होइन । पत्रिकाको सम्पादन गर्न थालेपछि लाजिम्पाटस्थित उनकै कान्तिपुर अफसेट प्रेसमा ‘प्याकिं’ छपाउने क्रममा उनीसँग संवाद र सम्पर्क विस्तार भयो।

 दमन–उत्पीडनले भरिएको निस्सासिएको पञ्चायती वातावरणमा उनी जनपक्षीय उम्मेदवारको रूपमा उदाए । २०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा उनी जनपक्षीय उम्मेदवार भएपछि प्रखर भाषण नै उनका बलिया वैचारिक रचना साबित भए । बसन्तपुरको आमसभामा उनले दिएको भाषणका क्यासेट काठमाडौँ उपत्यकाबाहिर पनि व्यापक रूपमा प्रचारित भए।

बाहिरबाट हेर्दा प्रेस मालिक लाग्ने पद्म दाइ भने कहिले कम्पोज गर्थे, कहिले छाप्थे त कहिले कटिङ पनि गर्थे । जुनसुकै कामप्रति पनि लगाव, माया र आस्था भएका पद्म दाइ श्रमशील अवस्थामा कामदारजस्तै लाग्थे, कम्युनिस्टजस्तै अनुभूत हुन्थ्यो । पत्रिका बाइण्डिङ गर्ने क्रममा पहिलो फ्लोरको ठूलो कोठामा आधी–आधी रातसम्म उनी र उनका परिवारजनसँगै म आफै पनि लागिपर्थें । विशेष पर्वमा प्रकाशन गर्ने चटारोबीच उनको परिवारको सबै सदस्यसँगै कामदारहरू राति ढिलोसम्म काममा जुट्थे, चिया र खाजाका साथमा युद्धको मोर्चामा खटिएजस्तै । रातभर बाइण्डिङ र कटिङ गरिएका पत्रिका लिएर आफ्ना सहकर्मी राजमान र बुद्धिलालसँगै कहिले बसन्तपुर त कहिले कीर्तिपुरमा पत्रिका बेच्न बिहानै निस्कन्थें।

वर्षमा तीन–चार अंकसम्म, विशेषतः नेपाल संवत्को न्हूदँ (नयाँ वर्ष), गुन्हुपुन्हि (सायाः – गाईजात्रा) र अन्य विशेष सन्दर्भमा पत्रिका प्रकाशन गरिन्थ्यो । जति अंक निकाले पनि प्रकाशन र छपाइको काम सधैँ हतारो हुने र गुणस्तरीय सामग्री जुटाउन गाह्रो हुने । यस्तो अप्ठेरो बेला सबैले सम्झिने नाम हो पद्म दाइ । घरमा गएर वा फोन गरेर लेखरचनाका लागि अनुरोध गरियो भने ‘नाइँ’ भन्न नसक्ने उनको गज्जबको स्वभाव । ‘नाइँ’ भन्न नसक्ने स्वभावले उनलाई डुबायो या उता¥यो, मूल्यांकनकै विषय होला । तर मजस्ता सम्पादकलाई यसले राहत नै दिन्थ्यो । ख्यालःका लेखनका लागि अनुरोध गर्दा उनी जहिले पनि भन्थे: ‘प्लट सोच्दैछु राजेन्द्र।’

प्रहसन सिधै कम्पोज गर्ने लेखक
पत्रिका उनकै प्रेसमा छापिने भएकाले सम्पादनको चटारो उनलाई थाहा नहुने कुरै भएन । सम्पादकको चटारो अनुभूत भएपछि उनी छिँडी वा ग्राउण्ड फ्लोरमा रहेको ‘कम्पोज’ रुममा पस्थे । चालीस र पचासको दशकसम्म पनि नेपालमा लेटर प्रेस नै प्रचलित थियो । यस्तो प्रेसमा सिसाले बनेका अक्षर काठका ससाना कोठामा मिलाएर राखिएको हुन्थ्यो । कम्प्युटरमा टाइप गर्ने व्यक्तिले जस्तै कम्पोजिटरले ती एक–एक अक्षर मिलाएर शब्द, वाक्य र अनुच्छेद कम्पोज गर्दै जान्थे, अचेल कम्प्युटरमा टाइप गरेझैँ ।
लेखनमा मामिलामा पद्म दाइको खुबी अचम्मकै थियो । उनी कागजमा रचना गर्दैनथे, बरु सिधै कम्पोज गर्थे । कलमले कागज वा कपीमा लेखेर सिर्जना नगरीकन कम्प्युटरमा सिधै लेखरचना टाइप गरेझैँ । कम्पोज रुममा वा दाइको बैठक कक्षमा सम्पादकहरू लेखरचनाका लागि रुँघेर बस्थे । म पनि अनेक पटक दाइको नयाँ रचनाका लागि बैकक कक्षमा कुर्दै बस्थें । सम्पादकहरूले धर्ना कसेपछि लेखक पद्मरत्न तुलाधरको रचनात्मकता फुथ्र्याे सायद । उनी कम्पोज रुममा पसेर भटाभट लेखनमा मग्न हुन्थे । र, तयार हुन्थ्यो ‘परतु’ (पद्मरत्न तुलाधर) र अन्य नाममा रचना । त्यो पनि पत्रिकाका साइजअनुसार ग्याली प्रुफका लागि तम्तयार!

‘परतु’का रचना कलात्मक हुन्थे नै, वैचारिक र राजनीतिक रूपमा पनि धारिलो र दरिलो । वामपन्थी विचार र प्रतिपक्षीय राजनीतिले भरिएका कलात्मक रचनाले मजस्ता सम्पादकहरूलाई समेत ऊर्जा दिन्थे, पाठकको के कुरा ! एक जमानामा नेपालभाषाको साहित्य लेखनमा वामपन्थी धार निकै बलियो थियो, जसको एक नाभिक थिए परतु । उनका निबन्ध, ख्यालः (प्रहसन) र अन्य रचना किताबका रूपमा प्रकाशित छन् । एकसे एक चर्चित कलाकारको अभिनयका साथ दबू (डबली) र हलमा उनका ख्यालः (प्रहसन)को प्रदर्शन हुन्थ्यो, जसको प्रभाव पनि व्यापक हुन्थ्यो।

जनपक्षीय प्रतिनिधिको राजनीति
भाषिक प्रजातन्त्रका लागि गठित मंकाः खलःका अध्यक्षको भूमिका र राजनीतिक क्रियाशीलताले पद्म दाइको लेखन संसारलाई किच्दै गएको थियो । पत्रकारिता र साहित्यिक लेखनलाई मिच्दै थिच्दै अगाडि बढ्ने राजनीतिक क्रियाशीलता ह्वात्तै अगाडि देखाप¥यो । दमन–उत्पीडनले भरिएको निस्सासिएको पञ्चायती वातावरणमा उनी जनपक्षीय उम्मेदवारको रूपमा उदाए । २०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा उनी जनपक्षीय उम्मेदवार भएपछि प्रखर भाषण नै उनका बलिया वैचारिक रचना साबित भए । बसन्तपुरको आमसभामा उनले दिएको भाषणका क्यासेट काठमाडौँ उपत्यकाबाहिर पनि व्यापक रूपमा प्रचारित भए।

उनका भाषणले पञ्चायती व्यवस्थाको, पञ्चायतको आवरणभित्र लुकेको राजतन्त्रको नकाब उतार्न सघायो भने बहुदलीय प्रजातन्त्रको आवश्यकताबारे, त्यसमा कमी रहेको सांस्कृतिक प्रजातन्त्रतिर ध्यानाकर्षण गरायो । मजस्ता युवाको वैचारिक दृष्टिकोण र राजनीतिक बाटो तय गर्नमा यसले महत्वपूर्ण भूमिका खेल्यो, विशेषत भाषिक–सांस्कृतिक प्रजातन्त्रलाई राजनीतिक प्रजातन्त्रसँग गाँसेर हेर्न सिकायो।

२०४३ सालतिर म कानुनको अध्ययनसँगै लेखन–सम्पादन र राजनीतिक जीवनमा सक्रिय थिएँ । ‘प्याकिं’ सम्पादन गरिरहेकै बेला ‘मूल्यांकन’ साप्ताहिकमा आबद्ध भएँ । र, राजनीतिक रूपमा नेकपा चौममार्फत् क्रियाशील थिएँ । चौमसँग सम्बन्धित ‘मूल्यांकन’मा जोडिएपछि सांस्कृतिक–राजनीतिक बाटो झन् फराकिलो भयो । त्यसमा मलजल ग-यो, जनपक्षीय चुनाव प्रचार प्रसार समिति, कीर्तिपुरको सचिव पद बहालीसँगै थालिएको सक्रियताले । पञ्चायती व्यवस्थाको विपक्षमा क्रियाशील वामपन्थी दल र स्वतन्त्र वामपन्थी नेता–कार्यकर्ताहरूको भेलाले सचिवमा छनौट गरेपछि मेरो राजनीतिक जीवनले फड्को मा¥यो । औपचारिक अध्ययनभन्दा बेसी राजनीतिक जीवनमा सक्रिय हुने, त्यसमा पनि प्रचार प्रसारको संयोजन गर्ने कामले आफ्नो जीवनमा कहाँ कतिसम्म प्रभाव पा-यो, हिसाब–किताब गर्नै मुस्किल पा-यो । जोगमेहर श्रेष्ठ र दामोदर शमशेरजस्ता पञ्चायतका राजनीतिक–अराजनीतिक डनहरूविरुद्ध जुधेका पद्म दाइको जीवनमा भने उथलपुथल नै ल्यायो, जसको तरङमा मजस्ता हजारौं युवा बगेका थिए।

‘भोक लाग्यो’ समेत भन्न नसक्ने सोझो नेता
निर्वाचनमा सक्रियताको क्रममा अलिकति थाहा भयो पद्म दाइको लजालु स्वभाव । सामान्यतः कम बोल्ने, बेसी हाँस्ने पद्म दाइको लजालुपना अर्काे स्वभावको रूपमा बलियोसँग रहेको छ । त्यसबेला पद्म दाइका लागि निरंकुश राज्यसत्ता र राजदरबारबाट पालित पोषित उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्नु कम जोखिमपूर्ण थिएन, हामीजस्ता कार्यकर्ता र समर्थकले पनि मण्डलेहरूको हमलासामु ज्यान जोखिममा पार्नुपथ्र्याे । ज्यानको समेत पर्वाह गर्न गाह्रो हुने अवस्थामा खाई नखाई कुद्नु सामान्य हुने नै भयो । पद्म दाइको स्वभाव त कस्तो रहेछ भने दिनरात खट्दा पनि सहकर्मीहरूलाई भोक लाग्यो समेत भन्न नसक्ने!

निर्वाचनको प्रचारप्रसारको क्रममा काठमाडौँका गल्लीदेखि कीर्तिपुर वरपरका गाउँघरसम्म डुल्नुपर्ने, एकपछि अर्काे सभालाई सम्बोधन गर्नुपर्ने, भेटघाट र भलाकुसारी तीव्र पार्नुपर्ने । जन–जनको स्तरबाट भएको प्रचार प्रसारको क्रममा सबेरै उठेर रातको बाह्र बजेसम्म पनि कुद्दा पनि पद्म दाइ भने धेरैजसो भोकै रहने । कसैले पनि खाना र खाजाबारे नसोध्ने । उनका सहकर्मीहरूले पनि वास्ता गर्न बिर्सने । अनि दाइचाहिँ मलाई ‘मलाई त भोक लाग्यो, अब केही खानुपर्ला’ सम्म पनि भन्न नसक्ने । यही लाज र संकुचनले कयौँ पटक भोकै बस्नुपरेको थियो । यस्तो भोको अवस्थामा पनि उनको बोलाइ भने कमजोर भएन, सिंहको जस्तो गर्जन हुन्थ्यो उनको भाषणमा।

पद्म दाइका विचार र उनको व्यवहार बोलाइमा प्रकट हुन्थ्यो । त्यही बोलाइ आम जनताको आशाको रूपमा अभिव्यक्त भयो । त्यति बेला राजधानीमा विस्फोट भएको पद्मरत्न तुलाधरको आवाज अधिकांश जनताको प्रतिपक्षीय प्रतिरोधको प्रतीक भयो । त्यस बेला पहिलो पटक उदाएको सूर्य चिन्ह भावी दिनको उज्यालोको संकेत भयो । त्यसैले कीर्तिपुरका ९० प्रतिशतभन्दा बेसी मतदानले उज्यालोको पक्षमा मत हाले।

रोदन र प्रतिरोध
हो, अत्यन्त संवेदनशील पद्म दाइ जनपक्षीय रापस (राष्ट्रिय पञ्चायत सदस्य) भएपछि बोल्दाबोल्दै पटक–पटक रोए, तर उनले आशाको उज्यालोका लागि जारी राखेको आफ्नो प्रतिरोधलाई पानीजस्तै बग्न दिएनन् । उनी अन्याय र उत्पीडनको महामारी देखेर पटक–पटक आक्रोशित पनि भए, तर उनको आक्रोशमा मानव र मानवताप्रतिको माया थियो, अरूप्रति घृणाको भाव थिएन । यही आशा र मायाले नै मजस्ता धेरैजसो युवालाई मानवीकरण गरेको अनुभूति हुन्छ । उनका निष्कपट र सरल व्यवहार एवं आमूल परिवर्तनको पक्षधर विचारले नेपाली जनताको ठूलो तप्कालाई वामपन्थीकरण र लोकतन्त्रीकरण गर्न सघाएको महसुस हुन्छ।

अहिले फर्केर हेर्दा लगभग चार दशक हुन लाग्यो, उनीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क र संवादमा रहेको पनि । वास्तवमा उनको सिंगो जीवन प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रलाई पनि लोकतन्त्रीकरण गर्नका लागि समर्पित रहेको आभाष हुन्छ । सबै भाषा बोल्ने, सबै धर्म–संस्कृति मान्ने, सबै विचार मान्ने नेपालीहरूको समानता र स्वतन्त्रताका लागि लडिरहेका यी सरल र असल मानवको मायाको विस्तारले म अविभूत छु । एकल भाषा, जाति, संस्कृतिको प्रभुत्व रहेको देशमा हर्क गुरुङको भाषामा ‘विविधतामा आधारित राष्ट्रियता’का लागि वा भाषिक–सांस्कृतिक लोकतन्त्रका लागि लड्न र लेख्न प्रेरित गरिरहेका यी जुझारु मानवप्रतिको प्रेममा म लठ्ठ परेको छ।

खसोखास भन्दा, उनका सरल जीवन, असल विचार र मायाप्रेमको विस्तारले मलाई पनि मानवीयकरण हुन प्रोत्साहित गरिरहेको छ । यसरी प्रेरणा र प्रोत्सान दिने पद्म दाइ यथार्थमा व्यक्ति मात्रै होइनन्, संस्था हुन् । खासमा संस्था मात्रै होइनन्, आन्दोलन हुन्, जसको निरन्तरता र जीवन्तताको कामना गर्दछु । वास्तवमा उनी एक त जीवन्त प्रतिरोधी गीत हुन् । त्यस्तो गीत, जुन दुर्गालाल दाइको शब्दमा शब्द मिलाउँदै मेरो मनमा गुन्जिरहेको छ :
हाम्रो भाषा म-यो भने
कसरी यो नेपाल हाम्रो हुन्छ?
आफ्नै देश परदेश भयो भने
जिउनु भनेकै मर्नु हुन्छ।

 







यसमा तपाईको मत

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad