coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

चितवन राइनोज पिपिएल क्रिकेटको फाइनलमा, उपाधिका लागि पोखरासँग भिड्ने

तस्बिरः उमेश पुन/नागरिक

पोखरा – ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै पारस खड्काको चितवन राइनोज पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

अब चितवनले उपाधिका लागि आयोजक पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नेछ। पोखरा यसअघिनै नेट रन रेटका आधारमा तालिकाको शीर्ष स्थानमा रहँदै सिधै फाइनलमा प्रवेश गरिसकेको छ।

पोखरा रंगशालामा काठमाडौं रोयल्सले जितका लागि दिएको ९५ रनको सामान्य लक्ष्य चितवन राइनोजले १८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। चितवनको जितमा सुमित पटेलले सर्वाधिक ३८ रनको योगदान दिए। ४३ बलको सामाना गरेका सुमितले ३ चौंका प्रहार गरे।

ओपनिङ ब्याट्सम्यान हरिशंकर शाहले २२ बलमा ३ चौंका र १ छक्का प्रहार गर्दै २६ रन बनाए। त्यस्तै आरिफ शेखले नटआउट २० रन जोडे। शेखले ३२ बलमा १ चौंका प्रहार गरे। अर्का ब्याट्सम्यान ५ सन्नी पटेलले ५ बलमा १ चौंका प्रहार गर्दै ६ रनमा नटआउट रहे। अनिलकुमार शाह १ र कप्तान पारस खड्का २ रनमा आउट भए। काठमाडौं रोयल्सका सुसन भारीले ३ विकेट लिए। भारीले ४ ओभर बलिङ गर्दै १८ रन खर्चिए। त्यस्तै पवन सर्राफले १ विकेट हात पारे।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं रोयल्सले १९.३ ओभरमा अलआउट हुँदै ९४ रनमात्र बनाउन सकेको थियो। काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रनको योगदान दिए। ३५ बल खेलेका मल्लले २ चौंका प्रहार गरे। त्यस्तै जयकिशन कोल्सवालाले ३७ बलमा २ चौंकाको मद्दतमा २५ रन बनाएपनि अन्यको प्रदर्शन राम्रो हुन सकेन्। काठमाडौंका ८ खेलाडीले दोहोरो रनको स्कोर कटाउन सकेनन्।

काठमाडौं रोयल्सलाई सस्तैमा समेटन चितवन राइनोजका सन्नी पटेलले ३, सुमित पटेल र भुवन कार्कीले २–२ तथा करण केसी र कप्तान पारस खड्काले १–१ विकेट लिए।  फाइनल खेल मंगलबार हुनेछ।

प्रकाशित: १८ कार्तिक २०७५ ०८:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App