सुर्खेत/रुकुम (पश्चिम) – कर्णाली प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई गृह जिल्ला रुकुम जाँदा जहिल्यै समस्या झेल्नुपर्छ। प्रदेश राजधानी वीरेन्द्रनगरसँग रुकुमको स्थलमार्गबाट सीधा पहुँच छैन्। सानीभेरी र ठुलीभेरी नदीमाथि पुल नबन्दा घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता छ।
‘प्रदेश राजधानीसँग स्थलमार्गको सीधा पहुँच नहुँदा यात्रा झन्झटिलो मात्रै होइन्, कष्टपूर्ण हुनेगर्छ’, मन्त्री केसीले भनिन्, ‘दूरीका हिसावले नजिक भएपनि सडक सञ्जाल पूर्ण नहुँदा यस्तो समस्या भोग्नुपर्छ।’ मन्त्री केसी गृह जिल्ला जाँदा जाजरकोटको रिम्ना प्रहरी चौकीमा गाडी राखेर केही मिनेटको पैदलयात्रापछि अर्को गाडी प्रयोग गर्छिन्।
प्रदेश राजधानी हुँदै रुकुम पुग्नका लागि तीन वटा सडक छन्। चौरजहारी–सानीभेरी–मुसिकोट, चौरजहारी–नुवाकोट–मसिकोट र सल्ली–जाजरकोट–आठविसकोट सडक। यि तीन वटै खण्डमा सानीभेरी र ठुलीभेरी नदी पर्छन्। नदीमाथि पुल नहुँदा यात्रुहरुलाई सवारी फेर्नुपर्ने बाध्यता मात्रै हुँदैन् पैदय यात्रा पनि गर्नुपर्छ। अझ बर्खाको समयमा सडक अवरुद्ध हुँदा सुर्खेत–कोलपुर–दाङ हुँदै रुकुमको यात्रा गर्नुपर्छ।
रुकुमका राजु लामिछानेले प्रदेश राजधानी वीरेन्द्रनगर आउँदा कष्टपूर्ण यात्रा गर्नुप¥यो। ‘समयमा सवारीसाधन नपाइने समस्या त छँदैथियो, त्यसमाथि कच्ची सडकमा क्षमताभन्दाबढी यात्रुहरु चढ्नुपर्ने बाध्यता छ’, उनले भने, ‘यसका साथै सानो भेरी र ठुली भेरीमा पुल नहुँदा पैदल यात्रा पनि गर्नुपर्छ।’ सदरमुकाम आउँदा कष्टपूर्ण यात्रा भोगेका उनी फर्कदा सुर्खेत–कोलपुर–दाङ हुँदै दुई दिन लगाएर मुसिकोट पुगे।
सानीभेरी गाउँपालिका भएर बग्ने सानीभेरी र रुकुम (पश्चिम) र जाजरकोटको सिमानामा बग्ने ठुलीभेरी नदीमाथि पुल नहुँदा यात्रुहरुले झन्झटै झन्झट व्यहोर्नु पर्छ। जरुरी कामका लागि बाहेक यहाँका स्थानीय प्रदेश राजधानी जाँदैनन्।
प्रदेश राजधानीको जिल्ला सुर्खेतसँग जोडिएको सल्यानीको समस्या पनि उस्तै छ। प्रदेश राजधानीदेखि सल्यानको सदरमुकाम मुसिकोट जोड्ने बालुवासंग्राही–कुपिण्डे दह सडकको स्तरोन्नति भएको छैन् । वर्खा लाग्ने वित्तिकै सडक अवरुद्ध हुन्छ। राजधानीको जिल्लासँग सीमा जाडिएको सल्यानको खलंगा जानका लागि पनि दाङको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहन्छ।
रुकुम (पश्चिम) को सदरमुकाम खलंगाबाट सुर्खेतको दूरी १६८ किलोमिटर मात्रै हो। कच्ची सडक, सानीभेरी र ठूलीभेरीमा पुल नहुँदा प्रदेश राजधानी वीरेन्द्रनगर पुग्न ३४० किलोमिटरको दूरी पार गर्नुपर्छ। साविकका राप्ती अञ्चलका यि जिल्लाका लागि सडक सञ्जाल, सुगमतालगायतका कारणले दाङ सहज ठाउँ हो।
‘रुकुमबाट सीधा प्रदेश राजधानी सुर्खेत पुग्ने निक्कै कष्ट व्यहोर्नुपर्छ, त्यसैले ठूलै काम परेमात्रै बाध्यताले जानुपर्छ’, रुकुमका वरिष्ठ अधिवक्ता डा. नवराज गौतमले भने, ‘यात्रुहरु सहजताका लागि दूरीका लागि लामो भएपनि सल्यान–दाङ–कोहलपुर हुँदै सुर्खेत जाने गरेका छन्।’ सल्यान खलंगाबाट सल्यान–तुलसीपुर–कोहलपुर हुँदै सुर्खेत पुग्ने तीन सय ४० किलोमिटरको दूरीमा पनि दुई वटा सवारी परिवर्तन गर्नुपर्छ। ‘पुलकै अभावका कारण लामो यात्रा गरेर प्रदेश राजधानी पुग्नु पर्ने बाध्यता छ’, अधिवक्ता गौतमले भने, ‘पुल निर्माण गरेर जिल्लाबाट सहज रुपमा प्रदेश राजधानी पुग्ने वातावरण बनाइनुपर्छ।’
रुकुमबाट प्रतिनिधित्व गर्ने प्रदेसभा सदस्य गोपाल शर्माले जाजरकोट हुँदै सुर्खेत जोड्ने सडकलाई बाह्रै महिना सञ्चालन हुने बनाउनका लागि पहल गरिएको बताए। ‘प्रदेशको बजेट कम छ, प्रदेश राजधानी जोड्ने सडकका लागि संघीय सरकारले हेर्नुपर्छ’, उनले भने, ‘यो क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरुले मात्रै होइन्, प्रदेश सरकारले पनि संघीय सरकारसँग पहल गर्नुपर्छ।’ सल्यानको सल्लीबजार–चौरजहारीसम्मको सडक मर्मतको लागि प्रदेश सरकारबाट बजेटको व्यवस्थापन भएको पनि उनले बताए।
सांसद रातो कामीले दूरीका हिसावले नजिक रहे पनि सानीभेरी र ठूलीभेरीमा पुल नबन्दा प्रदेश राजधानीसँग स्थलमार्गको सम्वन्ध स्थापित नभएको बताउँछन्। ‘यि दुई वटा भेरीमा पुल नहुँदा जिल्ला जाँदा र आउँदा कष्ट भोग्नुपर्छ’, उनले भने, ‘जति सक्यो चाँडो प्रदेश राजधानी जोड्ने सडकमा निर्माणाधिन पलहरु बनाइनुपर्छ।’
दुई नदीमा तीन वटा मोटरेवल पुल निर्माण सम्पन्न भइसक्नुपर्नेमा ठेकेदारको लापरवाहीका कारण कहिलेसम्म निर्माण सम्पन्न हुने हो टुङ्गो छैन्। सडक डिभिजन कार्यालय चौरजहारीले सानीभेरी गाउँपालिकाको सिम्ली–गरायला र सानीभेरीकै फल्लेबगर–सर्पाचौर जोड्ने पुल निर्माण गरिरहेको छ। दुवै पुलको काम छ महिनादेखि रोकिएको छ।
मध्यपहाडी लोकमार्ग आयोजनाले निर्माण गर्न लागेको रुकुम (पश्चिम)को चौरजहारी–जाजरकोट जोड्ने अर्काे मोटरेवल पुल पनि लामो समयदेखि अलपत्र अवस्थामै छ। उक्त पुल निर्माणको लागि पछिल्लो पटक थपिएको म्याद पनि २०७५ असार २० गते सकिसकेको छ।
साविकको कर्णाली अञ्चलका पाँच, भेरीका तीन र राप्तीका दुई वटा जिल्ला मिलाएर निर्माण भएको कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर हो। कर्णाली प्रदेशका दुई जिल्ला डोल्पा र हुम्ला अझै राष्ट्रिय सडक सञ्जामा जोडिएका छैनन्। प्रदेश राजधानीसँगको छिमेकी जिल्ला दैलेख र जाजरकोटको सडक सञ्जालसँग सजिलै पहुँच भएपनि अन्य जिल्लाबाट सदरमुकाम आउन समस्या छ। जीर्ण र साधुँरो कर्णाली राजमार्गका कारण कालिकोट, जुम्ला र मुगुका जनतालाई सदरमुकाम आउन सकस छ। प्रदेश राजधानी वीरेन्द्रनगरदेखि हुम्लाबाहेकसँग सीधा हवाई सम्पर्क पनि छैन्। जुम्ला, मुगुबाट हवाईमार्गबाट आउने यात्रुपनि नेपालगञ्ज भएर आउनुपर्छ।
सडक प्राथमिकता
कर्णाली प्रदेश सरकारले प्रदेश राजधानीसँग जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ। हुम्ला र डोल्पामा नेपाली सेनाले सडक निर्माण गरिरहेको छ। बाँकी ठाउँका सडकलाई बाह्रैमास सञ्चालन गर्न सडकको स्तरोन्नतिका लागि आवश्यक बजेट छुट्याइएको प्रदेश सरकारको भनाई छ। ‘प्रदेश राजधानी वीरेन्द्रनगरलाई सबै जिल्लाहरु जोड्ने योजनाका साथ हामीले बजेट विनियोजन गरेका छौं, संघीय सरकारसँग पनि सहयोग मागेका छौं’, सरकारका प्रवक्ता विमला केसीले भनिन्, ‘भएका सडकहरुको स्तरोन्नति र नयाँ ट्याकहरु खोल्ने योजनाका साथ बजेट विनियोजन गरिएको छ।’
प्रकाशित: १८ कार्तिक २०७५ ०६:११ आइतबार