८ वैशाख २०८१ शनिबार
खेल

अध्यक्षमा श्रेष्ठको उम्मेदवारी

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले शुक्रबार उम्मेदवारी दर्ता गरेका छन्। श्रेष्ठले कात्तिक ८ मा हुने एन्फाको अध्यक्ष पदको निर्वाचनका लागि उम्मेदवारी दिएका हुन्।

तत्कालीन अध्यक्ष गणेश थापालाई विश्व फुटबल महासंघ (फिफा) ले आर्थिक अनियमितता गरेको भन्दै १० वर्षे प्रतिबन्ध लगाएपछि रिक्त उक्त पदमा बाँकी कार्यकालका लागि चुनाव हुन लागेको हो। त्यस्तै उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर मृत्यु भएपछि उपाध्यक्ष पद पनि रिक्त छ। त्यसका लागि पनि कात्तिक ८ मै चुनाव हुनेछ।

अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेर चुनावी अभियान थालेका टासी घलेले भने शुक्रबारै उम्मेदवारी फिर्ता लिएका छन्।

औपचारिक रूपमा उम्मेदवारी घोषणा नगरे पनि अध्यक्ष पदका प्रत्याशी उपाध्यक्ष कर्माछिरिङ शेर्पा र नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माले भने उम्मेदवारी दर्ता गराएका छैनन्।

उम्मेदवारी दर्ताको समय असोज ९ सम्म तोकिएको छ।एन्फा विधानमा अध्यक्ष पदको उम्मेदवार बन्नका लागि पाँच समर्थक र पाँच प्रस्तावक आवश्यक रहने व्यवस्था छ।त्यसलाई घलेले तानाशाही विधान भन्दै असन्तुष्टि जनाएका थिए।

शुक्रबारै कावा अध्यक्ष श्रेष्ठसँगै उनको प्यानलबाट उपाध्यक्ष पदका लागि मणि कुँवरले उम्मेदवारी दर्ता गराएका छन्। कुँवर वर्तमान कार्यसमितिका उपमहासचिव हुन्। उपाध्यक्षमै उम्मेदवारी घोषणा गरिसकेका पूर्व राष्ट्रिय कप्तान तथा अखिल नेपाल फुटबल खेलाडी संघका अध्यक्ष उपेन्द्रमान सिंहले पनि शुक्रबारै उम्मेदवारी दर्ता गराएका छन्।

एन्फा मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार श्रेष्ठले कार्यवाहक अध्यक्ष हुँदा आफूले गरेका काम र भावी योजना प्रस्तुत गरेका थिए।  उनले २० वर्ष फुटबलमा गरेको योगदानका कारणबाँकी १ वर्षे कार्यकालका लागिआफू अध्यक्षको हकदार भएको बताए।

‘म पदका लागि मरिहत्ते गर्ने खालको मान्छे होइन। तर, २० वर्ष नेपाली फुटबलमा गरेको योगदानले पनि यो एकवर्षे कार्यकाल मेरो अधिकार हो जस्तो लाग्छ,’ पुराना दिन सम्झँदै भावुक बनेका श्रेष्ठले भने, ‘पदभन्दा बाहिरै बसेर पनि मैले धेरै काम गरेको छु। एक वर्षपछि हुने चुनावमा म के गर्छु थाहा छैन तर यो बाँकी अवधिका लागिमेरो योगदानको पनि अधिकार हो।’

एन्फामा २–३ वटा विधान कायम रहेको बाहिरी हल्ला आए पनि श्रेष्ठले २०७० कात्तिक ७मा बसेको विशेष साधारणसभाबाट पारित विधान नै संस्थाको आधिकारिक विधान भएको र त्यहीअनुसार चुनाव हुने बताए।

उपाध्यक्षका उम्मेदवार कुँवरले आफू व्यक्तिभन्दा पनि फुटबलप्रेमीको उम्मेदवार भएको दाबी गरे। उनले पछिल्लो समय फुटबलमा विवाद बढेको र त्यसलाई मिलाउने प्रयास भए पनि सफल हुन नसकेको बताए।

‘पछिल्लो समय विवाद बढ्दो छ तर हामीले मिलाउने प्रयास गर्‍यौं। यद्यपि सफल हुन भने सकेनौं,’ विद्रोही पक्षप्रति लक्षित गर्दै कँुवरले भने, ‘बोल्ने स्वतन्त्रता सबैमा छ। त्यसो भन्दैमा व्यक्तिगत आक्षेप लगाउनु दुःखको कुरा हो।’

कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला अध्यक्ष वीरबहादुर खड्काले अहिले फुटबलमा राजनीति हाबी हुन लागेको बताए। उनले विद्रोही पक्षप्रति इंगित गर्दै परिवर्तनको नाममा फुटबलभित्र राजनीति प्रवेश गराएको आरोप लगाए।

‘मैले फुटबलमा मैले करिब दुई दशक बिताएँ तर कहिल्यै राजनीतिको गन्ध आएन तर अहिले परिवर्तनको नाममा राजनीति प्रवेश गराउने प्रयास भइरहेको छ,’ उनले भने, ‘मिलेर बसेका जिल्ला र क्लबहरूलाई फुटाउने प्रयास भएको छ। यसले एक वर्षपछि हुने चुनावको हालत के होला? त्यसैले फुटेर होइन मिलेर अघि बढ्नुपर्छ।’

श्रेष्ठले आफ्नो उम्मेदवारीका लागि सिरहा, सप्तरी, काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौं, नुवाकोट, चितवन, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, बारा, रौतहट, सप्तरी, तनहुँ, पाल्पा, मोहत्तरी र नवलपसारी जिल्लाको समर्थन रहेको बताए। त्यस्तै क्लबहरूमा थ्री स्टार, एनआरटी, संकटा, सरस्वती, महावीर, पुल्चोक स्पोर्टस, सातदोबाटो, श्रीकुमारी, सानेपा र ब्रिगेडब्वाइजको समर्थन रहेको श्रेष्ठले दाबी गरे।

प्रकाशित: ८ आश्विन २०७३ ०३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App