coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तिहारका लागि चामल अभाव

सुर्खेत - हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले दसैं र तिहारका लागि पाँच हजार क्विन्टल खाद्यान्न आवश्यक पर्ने भन्दै पटकपटक आपूर्ति मन्त्रालय र खाद्य संस्थानलाई ताकेता गरे। स्थलमार्गले नछोएको हुम्लामा पर्याप्त खाद्यान्न नपुग्दा दसैंमा कर्मचारी र सदरमुकामवासीका लागि मात्रै पाँच–पाँच किलो चामल संस्थानले वितरण ग¥यो । फेरि अर्को ठूलो चाँड तिहार आउन लागेको छ । संस्थानमा दिनहुँ खाद्यान्न माग्नेको भीड छ । गोदाममा भने आवश्यक चामल छैन।

‘एकपटक वितरण गर्दा न्यूनतम १५ सय क्विन्टल खाद्यान्न आवश्यक पर्छ,’ प्रमुख जिल्ला अधिकारी ढुंगानाले भने, ‘शुक्रबारसम्म साढे चार सय क्विन्टलमात्रै आइपुगेको छ।’ हुम्लामा सदरमुकामबाहेक चारवटा डिपो कार्यालय छन् । चारवटै डिपो रित्तो भएको आठ महिना भइसक्यो।

खाद्य संस्थानसँग सम्झौता गरेका हवाई सेवाप्रदायक कम्पनीहरूले खाद्यान्न नपु-याउँदा कर्णाली प्रदेशका पहाडी जिल्लामा खाद्यान्न संकट देखिएको छ।

सडकमार्गले नछोएको हुम्लामा खाद्यान्न ढुवानी हवाईमार्गबाट हुने गरेको छ । चाँडपर्वका बेला हवाई सेवा कम्पनीहरूले आफ्ना जहाज पूर्वी नेपालका पर्यटकीय क्षेत्रमा पर्यटक ओसार्न प्रयोग गर्दा हुम्लीहरूले जहिल्यै खाद्यान्न अभाव झेल्नुपर्छ। हुम्लामा खाद्यान्न ढुवानीका लागि तारा, समिट, मकालु र सीता एयरले खाद्य संस्थानसँग प्रतिकिलो १०५ रुपैयाँमा सम्झौता गरेका छन् । एयरलाइन्स कम्पनीले सम्झौताअनुसार काम नगर्दा हुम्लामा खाद्य संकट देखिएको संस्थानका सुर्खेत प्रमुख भीमबहादुर थापाले बताए।

असोज १८ मा संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनको अध्यक्षतामा बसेको बैठकमा चारवटै हवाई सेवाप्रदायक कम्पनीले कात्तिक ८ गतेभित्र एक हजार क्विन्टल खाद्यान्न हुम्लामा पु-याउने प्रतिबद्धता जनाएका थिए । सो अवधिमा जम्मा २७३ क्विन्टलमात्रै खाद्यान्न पुग्यो । प्रतिबद्धताअनुसार खाद्यान्न नपुगेपछि कात्तिक ८ गते पुनः बैठक बस्यो । दोस्रो बैठकमा तिहारअघि बाँकी रहेको ७२७ क्विन्टल खाद्यान्न पु¥याउने प्रतिबद्धता हवाई सेवाप्रदायक कम्पनीहरूले दोहो¥याएका थिए । शुक्रबारसम्म एक सय ७० क्विन्टलमात्रै खाद्यान्न हुम्ला पुगेको छ।

‘चाँडपर्वका बेला हुम्लामा जहिले पनि खाद्यान्न संकट हुन्छ, यस्तो बेला हवाई सेवाप्रदायक कम्पनीहरू डलर कमाउन पूर्वतिर लाग्छन्,’ हुम्लाका प्रजिअ ढुंगानाले भने, ‘कम्पनीको बदमासीका बारेमा पटकपटक माथिल्लो निकायमा जानकारी गराए पनि सुनुवाइ भएको छैन।’

चालू आर्थिक वर्षका लागि खाद्य संस्थानले जुम्लाका लागि ३० हजार क्विन्टल खाद्यान्नको कोटा निर्धारण गरेको छ । शुक्रबारसम्म तारा एअरले १३० क्विन्टल, ११९ क्विन्टल, मकालु एअरले १११ क्विन्टल र सीताले ७३ क्विन्टलमात्रै खाद्यान्न पु-याएका छन्।

हुम्लामात्रै होइन, साबिक कर्णालीकै अर्को जिल्ला मुगुको समस्या पनि उस्तै छ। सदरमुकाम गमगढीस्थित शाखा कार्यालयमा पुगेको १५ सय क्विन्टल खाद्यान्न वितरण भइसकेको छ । तीनवटा डिपो र तीन बिक्री केन्द्रमा चालू आर्थिक वर्षको निर्धारित कोटा पुगेको छैन । ‘अरू ठाउँमा तिहारअगाडि पु¥याउने लक्ष्य हामीले राखेका छौं,’ खाद्य संस्थान मुगुका प्रमुख भरत खनियाँले भने, ‘टेन्डर प्रक्रिया ढिलो भएकाले कुलु डिपोमा भने तिहारअगाडि खाद्यान्न पठाउन सकिने अवस्था छैन।’ चालू आर्थिक वर्षका लागि मुगुमा १७ हजार क्विन्टल खाद्यान्न कोटा निर्धारण गरिएको छ।

कर्णाली प्रदेशका सुर्खेत र सल्यानबाहेकका जिल्लामा खाद्य संस्थान सुर्खेत, नेपालगन्ज र राजापुरले खाद्यान्न पठाउँदै आएका छन्। चालू आर्थिक वर्षमा हुम्लाबाहेक अन्य जिल्लामा खाद्यान्न पठाइएको छैन । खाद्य संस्थानको केन्द्रीकृत संरचनाले कर्णालीमा समयमै खाद्यान्न नपुग्दा संकट निम्तिने गरेको छ।

चालू आर्थिक वर्षका लागि संस्थानको सुर्खेत कार्यालयले साबिकको कर्णालीका पाँच जिल्लामा २७ हजार दुई सय क्विन्टल खाद्यान्न ढुवानीको जिम्मा पाएको छ । संस्थानको केन्द्रीय कार्यालयले टेन्डर प्रक्रिया ढिलो सुरु गर्दा गोदाममा थन्किएको चामल पनि पठाउन पाएको छैन । ‘केन्द्रले ढिलो गरेर टेन्डर प्रक्रिया सुरु गर्दा खाद्य संकट भएका जिल्लामा खाद्यान्न पु-याउन सकिएको छैन,’ खाद्य संस्थान सुर्खेतका प्रमुख थापाले भने।

प्रकाशित: १८ कार्तिक २०७५ ०१:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App