८ वैशाख २०८१ शनिबार
राजनीति

के गर्दैछ ‘थिंक ट्यांक’

काठमाडौं - व्यवस्थापकीय काममा व्यस्त रहेको नीति अनुसन्धान प्रतिष्ठानले मुलुकको परराष्ट्र, सुरक्षा, विकास नीतिलगायत महत्वपूर्ण विषयमा अध्ययन–अनुसन्धान गरी सरकारलाई सुझाव दिने भएको छ। आफ्नो उद्देश्यअनुसार काममा एक साताभित्रै सक्रिय भएर लाग्ने प्रतिष्ठानको तयारी छ। असोज ६ गते मन्त्रिपरिषद् बैठकले सरकार मातहतमा रहनेगरी पाँच सदस्यीय नीत अनुसन्धान प्रतिष्ठान गठन गरेको थियो। सरकारले प्रतिष्ठानलाई ‘थिंक ट्यांक’ का रूपमा अघि बढाउने निर्णय गरेको छ। यसले परराष्ट्र, सुरक्षा, अर्थ, जलस्रोत उपयोग, विकासलगायत महत्वपूर्ण विषयमा अध्ययन–अनुसन्धान गरी सरकारलाई नीतिगत सुझाव दिनेछ।

प्रतिष्ठानका लागि कर्मचारी तथा आर्थिक नियमावली तयार भइसकेको र बजेट छुट्याउने काम पनि भइसकेकाले अब छिट्टै उद्देश्यअनुसार काम थाल्ने जानकारी प्रतिष्ठानका अध्यक्ष एवं समाजशास्त्री चैतन्य मिश्रले दिए। ‘प्रतिष्ठान नयाँ भएकाले कार्यालय, नियमावली र बजेट व्यवस्थापन गर्दा उद्देश्यअनुसार काम थाल्न केही ढिला भएको हो। अबको एक सातापछि केही न केही काम सुरु हुन्छ,’ उनले भने। प्रतिष्ठान अनामनगरमा कार्यालय स्थापना तयारीमा जुटेकोे छ।

‘थिंक ट्यांक’ का रूपमा गठन भएको नीति अनुसन्धान प्रतिष्ठानले मुलुककको परराष्ट्र, सुरक्षा, अर्थ, जलस्रोत उपयोग, विकासलगायत महत्वपूर्ण विषयमा अध्ययन–अनुसन्धान गरी सरकारलाई नीतिगत सुझाव दिनेछ।

मिश्रले अहिले प्रतिष्ठानको कामका विषयमा बोल्नुभन्दा पनि काम गरेर देखाएपछि मात्र बोल्न उपयुक्त हुने बताए। ‘अहिले कसरी काम गर्ने भन्नेबारेमा बोल्नुभन्दा पनि काम गरेरमात्र बोल्नु उपयुक्त हुन्छ,’ मिश्रले भने।

प्रतिष्ठानका सदस्य डा. सुरेन्द्र लाभले अहिले प्रतिष्ठान व्यवस्थापकीय काममा व्यस्त रहेको र छिट्टै काम सुरु गर्ने बताए। ‘प्रतिष्ठान गठन भएलगत्तै दसैं आइहाल्यो। कार्यालय, कर्मचारीदेखि सबै कुरा शून्यबाट सुरु गर्नुपरेकाले कार्याय व्यवस्थापनमा केही समय लागेको हो,’ उनले भने।

प्रतिष्ठानको मुख्य लक्ष्य अनुसन्धानमा आधारित नीति बनाएर सरकारलाई बुझाउनु रहेको छ। अनुसन्धानमा आधारित नीति बनाएर अघि बढ्नुपर्ने आवश्यकता सरकारले महसुस गरेकाले त्यसका लागि प्रतिष्ठानको गठन भएको लाभ बताउँछन्। सरकारले प्रतिष्ठान गठनपछि यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सदस्यहरूबीच दुईपटक औपचारिक बैठक गरिसकेको छ। प्रतिष्ठानका अध्यक्ष र सदस्य पनि निरन्तर सम्पर्कमा रहेर छलफल गरिरहेको लाभले बताए।

लाभका अनुसार प्रतिष्ठानले मुुलुकको हित हुनेगरी परराष्ट्र, सुरक्षालगायत महत्वपूर्ण विषयमा अध्ययन–अनुसन्धान गरी सरकारलाई नीतिगत सुझाव दिनेछ। अहिले सरकारका विभिन्न मन्त्रालय र निकायले विभिन्न विषयमा अनुसन्धान गरे पनि त्यस्ता अनुसन्धान प्रतिवेदन थन्किरहेको बताउँदै उनले प्रतिष्ठानले त्यस्ता अनुसन्धान प्रतिवेदन पनि अध्ययन गरी कार्यान्वयनमा ल्याउन सरकारलाई सुझाव दिने जानकारी दिए। प्रतिष्ठानका अन्य सदस्यमा डा. मीना आचार्य, प्राध्यापक राजेन्द्रध्वज जोशी र गणेशमान गुरुङ छन्।

नेकपा केन्द्रीय सदस्य राजन भट्टराई प्रतिष्ठानले राष्ट्रिय सुरक्षा, विदेशी नीति, आर्थिक नीतिलगायतका संवेदनशील विषयमा स्वतन्त्र ढंगले अध्यन गर्ने र त्यसका आधारमा सरकारलाई सुझाव दिने बताउँछन्। ‘प्रतिष्ठानले गर्ने अध्यन–अनुसन्धान राज्यको पुँजी हो, त्यसैले प्रतिष्ठानले पनि त्यही ढंगले काम गर्छ,’ उनले भने । प्रतिष्ठान स्वतन्त्र निकाय भएकाले यसले गर्ने अध्ययन–अनुसन्धान आफूले भनेअनुसारकै हुनुपर्छ भन्ने पक्षमा सरकार नरहेको भट्टराईले बताए । ‘अध्ययन–अनुसन्धान सरकारको स्वार्थअनुसार नहुन पनि सक्छन्, तर ती तथ्यमा आधारित हुन्छन्,’ उनले भने। प्रतिष्ठानको आफ्नै ऐन हुने भएकाले सरकार परिवर्तनको प्रभाव र राजनीतिक हस्तक्षेपबाट यो मुक्त हुने भट्टराईको दाबी छ । प्रतिष्ठानमार्फत स्वदेश वा विदेशमा रहेका ‘बेस्ट बे्रन’ लाई पनि अध्ययन–अनुसन्धानमा लगाइने भट्टराईले बताए। ‘प्रतिष्ठानले स्वदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीसँग पनि पुलको काम गर्नेछ,’ उनले भने। नेपालमा मात्र नभएर अमेरिका, बेलायत, चीन, भारतजस्ता मुलुकमा पनि सरकारी कोषमा वा निजी कोषमा आधारीत यस्ता संस्था हुने भन्दै भट्टराईले नेपालमा पनि राष्ट्रिय स्वार्थसँग जोडिएका महत्वपूर्ण विषयमा अध्ययन–अनुसन्धान गर्न प्रतिष्ठान बनाइएको बताए । प्रतिष्ठानले मुलुकको हित प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

भट्टराईले प्रतिष्ठान मुलुकका संवेदनशील विषयमा अध्ययन–अनुसन्धान गर्ने निकाय भएकाले यसको नेतृत्व पनि संवेदनशील र जिम्मेवार हुनुपर्ने बताए। सरकारले अन्तर्राष्ट्रिय अभ्यासलाई पछ्याउँदै आफूले गर्ने कामकारबाहीमा सुझाव लिन थिंक ट्यांक स्थापना गरेको हो। कतिपय शक्तिशाली मुलुकहरुले सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउन थिंक ट्यांकको व्यवस्था गरेका छन्। कतिपय मुुलुकमा बौद्धिक समूहहरुले यस्तो जिम्मेवारी पाएका हुन्छन्।

प्रकाशित: १८ कार्तिक २०७५ ०१:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App