coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

साफ यु–१५ फुटबलको उपाधि बङ्गलादेशलाई, नेपाल चाैथाे

तस्बिर : एन्फा

काठमाडौं – टाइब्रेकरमा पाकिस्तानलाई ३–२ ले पराजित गर्दै बंगलादेशले शनिबार साफ यु–१५ च्याम्पियनसिपको उपाधि जितेको छ । निर्धारित समय दुवै टोलीले एक–एक गोलको बराबरी खेलेपछि टाइब्रेकबाट लिइएको निर्णयमा बंगलादेशले उपाधि चुम्न सफल भएको हो।

टाइब्रेकरमा पाकिस्तानका तीन खेलाडीको पेनाल्टीलाई वैकल्पिक गोलकिपर रूपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मेहदी हसनले विफल पारेका थिए । उता बंगलादेशका तीन खेलाडीले पेनाल्टी अवसरलाई सदुपयोग गर्न सफल भएका थिए भने पहिलो र चौथो पेनाल्टी बंगलादेशले गुमाएको थियो । निर्णायक तथा अन्तिम पेनाल्टीमा बंगलादेशका गोलकिपर हसनले पाकिस्तानको पेनाल्टीलाई बचाउ गर्दा च्याम्पियनसिपको नतिजा बंगलादेशको पोल्टामा परेको हो।

यसअघि बंगालदेशले २५औं मिनेटमा उपहार गोलबाट अग्रता लिएको थियो । पाकिस्तानका कप्तान हसिब अहमेद खानले किपरलाई दिएको हेड पास गोलमा परिणत भएको थियो । तीन वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानले पहिलो हाफमा बंगलादेशविरुद्ध फितलो प्रदर्शन गरेको थियो । उता मिडफिल्डबाट बलका अवसर सिर्जना गर्दै आकर्षक खेल पस्किएको बंगलादेशका केही सुन्दर मौकालाई पाकिस्तानी गोलकिपर मोहम्मद अवाइसले विफल पारेका थिए।

पहिलो हाफमा फितलो प्रदर्शन गरेको पाकिस्तानले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै केही सुन्दर मौका सिर्जना गरेको थियो तर सदुपयोग गर्न भने चुकेको थियो । एकपछि अर्को मौका बुन्दै गएको पाकिस्तानले ५५औं पेनाल्टीबाट बराबरी गोल फर्काएको थियो । बंगलादेशका रक्षक हेलाल अहम्मदले पाकिस्तानी मुद्धासर नजरलाई खराब ट्याकल गरेपछि नेपाली रेफ्री सुदेश पाण्डेले पाकिस्तानलाई पेनाल्टीको अवसर दिएका थिए । पाकिस्तानका लागि मोहिब उल्लाहले पेनाल्टी अवसरलाई सदुपयोग गरेका थिए । बाँकी समयमा दुवै टोली गोलका लागि प्रयास गरे पनि कुनै टोलीबाट पनि गोल हुन सकेनन् र खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।

यो सँगै बंगलादेशले दोस्रो पटक उपाधि जित्न सफल भएको छ । यसअघि २०१५ मा घरेलु मैदानमा नै आयोजना भएको प्रतियोगितामा भारतलाई पनि टाइब्रेकरमा ४–२ ले पराजित गर्दै उपाधि जितेको थियो।

शनिबारै सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग १–० ले पराजित भएको छ । भारतका लागि थलाचेयु भानलालरौटफेलाले १८औं मिनेटमा गरेको गोल नै आयोजक नेपाललाई पराजित गर्न निर्णायक बन्यो।

दक्षिण एसियाका ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा पाकिस्तानका मोहम्मद निहात जमन सर्वाधिक गोलकर्ता बन्दै ट्रफी हात  पारे । उनले प्रतियोगितामा चार गोल गर्न सफल भएका थिए । यस्तै पाकिस्तानकै कप्तान हसिब अहमेद खान महत्वपूर्ण खेलाडी घोषित भए।

प्रकाशित: १७ कार्तिक २०७५ १४:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App