७ वैशाख २०८१ शुक्रबार
राजनीति

भोजपुरी र मैथिलीलाई प्रदेश २ को कामकाजको भाषा बनाउन आग्रह

बारा– उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेकपा मधेश विरोधी पार्टी नभएको बताएका छन्। बाराको कलैयामा शनिवार नेकपाको पार्टी कार्यालय उद्घाटन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय अखण्डताको सवालमा कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार कोही कसैसँग सम्झौता नगर्ने अडानमा रहँदा यसलाई मधेस बिरोधी भन्न नमिल्ने उनले बताए।

२०७२ सालमा जारी गरिएको संविधानप्रति असन्तुष्ट रहेका समुदायको माँग सम्बोधन गर्नको लागि सरकार संबिधान संशोधन गर्न तयार रहेको उनले स्पष्ट पारे। मधेसवादी दलप्रति लक्षित गर्दै उनले भने, “तपाईहरुको कुन कुन माग पुरा भएको छैन्। ल्याउनुस छलफल गरेर संविधान संशोधन गर्ने कार्यमा लागौं।”

मधेश केन्द्रित दलहरु संविधानको कुन कुन बुँदा संशोधन गर्नुपर्ने हो भन्ने प्रश्न गर्दै रक्षा मन्त्री पोखरेलले स्पष्ट रुपमा सरकार समक्ष ती बुंदाहरु प्रस्तुत गर्न आग्रह समेत गरे। कानून निर्माण नभएकाले सरकार अहिले गम्भीरतापूर्वक संविधानले परिकल्पना गरे अनुसार कानून निर्माण कार्यमा लागेको जानकारी गराउँदै मन्त्री पोखरेलले चाँडै सरकारले मुलुकलाई आवश्यक पर्ने कानूनहरु निर्माण गर्ने प्रतिबद्धता गरे।

नागरिकता ऐनमा त्रुटी भए सच्याउन सरकार तयार रहेको उनले स्पष्ट समेत पारे। भोजपुरी र मैथिली भाषालाई प्रदेश नम्बर २ को कामकाजको भाषा बनाउन प्रदेश सरकारलाई आग्रह समेत  गरे। 

रक्षामन्त्रीको हेलिकप्टर ल्याण्ड गराउन क्रिकेट प्रतियोगिता रद्ध

यसैबीच रक्षामन्त्री पोख्रेलको हेलिकप्टर ल्याण्ड गराउनको लागि शनिबार कलैयामा जारी जिल्लास्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता रद्द गरिएको छ।

नेकपा बाराको चियापान कार्यक्रममा सहभागी हुन आएका मन्त्री पोख्रेल सवार हेलिकोप्टर अवतरण गराउन जिल्ला प्रशासन कार्यालयले बाध्य पारेर क्रिकेट प्रतियोगिता रद्ध गराएको हो। 

कलैयास्थित सिद्देश्वर क्रिकेट मैदानमा रक्षामन्त्रीको हेलिकोप्टर ल्याण्ड गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयले त्यहाँ जारी जिल्लास्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको दुई खेल स्थगित गर्न लगाएको हो। कलैया उपमहानगरपालिकाको सहयोगमा एन प्याव्सन बाराको आयोजनामा जारी प्रतियोगिता सन्चालन गरिँदै आईएको छ।

ग्यालेक्सी ईङ्गलिश बोर्डिङ्ग स्कुल भर्सेस गढीमाई ईङ्गलिश बोर्डिङ्ग स्कुल र ईन्टरनेशनल ईङ्गलिश बोर्डिङ्ग स्कुल भर्सेस बालविद्या ईङ्गलिश बोर्डिङ्ग स्कुल बिच दुई खेलको प्रतियोगिता रद्ध भएको हो। प्रतियोगिता रद्ध भएपछि आयोजकलाई आर्थिक भार थपिनुका साथै प्रतियोगिताको खेल तालिका समेत विग्रिएको आयोजकले बताएको छ।

अन्यत्र हेलिकोप्टर ल्याण्ड गर्ने स्थान हुँदा हुँदै पनि बारा प्रशासनले सिद्देश्वर क्रिकेट मैदानमा जारी प्रतियोगिता रोक्न लगाई शनिवारका दुई खेल प्रभावित भएको कलैया क्रिकेट क्लबका एक पदाधिकारीले बताए। प्रतियोगिताका आयोजकले खेल स्थगित गर्नुपर्ने बाध्यता नबताएपछि र आयोजक संस्थाको राय अनुसार नै रक्षामन्त्रीको हेलिकोप्टर ल्याण्ड गराईएको बाराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराईले बताए। 

प्रकाशित: १७ कार्तिक २०७५ १३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App