७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेतृत्व विवादले गाउँपालिका राष्ट्रिय महासंघको भेला नै स्थगित

पोखरा- दलीय विवादका कारण गण्डकी प्रदेशस्तरीय गाउँपालिका राष्ट्रिय महासंघको प्रदेशस्तरीय भेला स्थगित भएको छ। ताङतिङमा शुक्रबार र शनिबारको भेलाले नयाँ कार्यसमिति चयन गर्ने र घोषणापत्र जारी गर्ने कार्यक्रम थियो। तर, कार्यसमिति चयनमा राजनीतिक विवाद भएपछि भेला स्थगित भएको छ। भेला स्थगित भएपछि कार्यसमिति बनाउने विषय तत्कालका लागि टुंगिएको छ।

स्थानीय तहको निर्वाचनमा गण्डकी प्रदेशले नेपाली कांग्रेस पहिलो दल हो। साविकको एमाले र माओवादी केन्द्र, क्रमशः दोश्रो र तेश्रो । तर, हाल राजनीतिक समीकरण बदलिएको छ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा साविकका एमाले र माओवादी मिलेर चुनाव लडे, बहुमत पनि आयो। एमाले र माओवादी केन्द्र एकीकरण भई नेकपा बनेको छ।

पार्टी एकीकरण भएपछि स्थानीयतहको पनि चुनावी परिणाम फेरियो। जसकारण नेकपा अहिलेको अवस्थामा प्रदेशको ठूलो दल हो। नेकपा एकीकरणले कांग्रेस भने एक स्थान तल ओर्लिएको छ।

शनिबार कार्यसमिति चयनको विषयमा राजनीतिक दलले अडान लिए र बैठक स्थगित भयो। दुवै पार्टीको आ–आफ्नै अडानले नेतृत्व चयन हुन नसकेको सहभागीहरुले बताएका छन्। गण्डकी प्रदेशका ५८ गाउँपालिकामध्ये २९ गाउँपालिकाको अध्यक्षमा काँग्रेसले जितेको थियो। तर, उपाध्यक्षमा कम सिट भएका कारण नेकपा भन्दा काँग्रेस सानो छ। अध्यक्ष र उपाध्यक्षहरु मध्ये काँग्रेसको ५४, साविक एमालेको ४६, माओवादीको ११, जनमोर्चा ३ र स्वतन्त्र २ गरि १ सय १६ जना छन्।

नेतृत्वमा नेकपा र काँग्रेसले अडान नछोडेपछि अधिवेशन नै स्थगित गरिएको हो। ठूलो पार्टीले अध्यक्ष र उपाध्यक्ष लिने विधानमा व्यवस्था भएको भन्दै काँग्रेसले प्रदेशभित्र आफू ठूलो पार्टी भएकोले नेतृत्व दावी गरिरहेको छ। नेकपाले पनि पार्टी एकीकरणपछि आफ्नो पार्टी पहिलो भएको भन्दै नेतृत्वमा दावी गरेको हो।

दुई पार्टी एकीकरणपछि नेकपाको अध्यक्ष र उपाध्यक्ष ५७ जना हुन्छन् । यसबाहेक अध्यक्ष र उपाध्यक्षले ल्याएका एकजना प्रतिनिधिले पनि मतदानमा भाग लिन पाउँछन् । अधिवेशनमा १ सय ७४ जना मतदाता हुनेछन् ।

तदर्थ समितिका अध्यक्ष तथा भीमसेन गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले केन्द्रिय सहमति नमान्दा विवाद भएको बताए। उनका अनुसार गण्डकी प्रदेशमा कांग्रेसलाई ७ सिट दिन केन्द्रले भनेको थियो, तर कांग्रेसले सहमति मानेन। यो समस्या वार्ताबाट सुल्झिने उनको भनाई छ।

संघ र प्रदेशमा दुईतिहाई मतसहित सत्ता चलाईरहेको नेकपाले नेतृत्व नछाड्ने बताएको छ। महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले भने, ‘विधान अनुसार नै ठूलो दलले नेतृत्व गर्नुपर्छ, त्यतिबेला कांग्रेस अगाडि थियो, अहिले पार्टी एकीकरण भईसकेपछि नेकपा ठूलो छ, नेतृत्व पनि उसैले गर्छ।’

हालका  सहसंयोजक समेत रहेका पौडेल नेकपाबाट निर्वाचित जनप्रतिनिधि हुन्। यो विषयमा अब पार्टीको प्रादेशिकस्तरमा छलफल गरेर अगाडि बढिने उनले जनाए।

२०७४ असार १० गतेको पोखरा भेलाले गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेश गठन गरेको हो। त्यतिबेला संयोजकमा काँग्रेस र सहसंयोजकमा एमालेलाई चयन गरिएको थियो। १५ सदस्यीय कार्यसमितिमा ७ सदस्य काँग्रेसको, ६ सदस्य एमालेको र २ सदस्य माओवादी केन्द्रका थिए।

दुई तिहाईको बलमा जबरजस्ती गर्न खोजे अर्कै महासंघ गठन गर्ने काँग्रेसतर्फका गाउँपालिका अध्यक्षहरुको भनाई छ। पूर्वसहमति पालना गर्नुको सट्टा दुईतिहाईको दम्भ नदेखाउन उनीहरुले चेतावनी समेत दिएका छन्। दलीय विवाद देखिएपछि कार्यसूचीमा रहेको ताङतिङ घोषणापत्र जारी गर्ने कार्यक्रम पनि भएन।

 

प्रकाशित: १७ कार्तिक २०७५ १३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App