coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मलेसिया जेलमा रहेका हरिबहादुरको परिवारको पीडा

नुवाकोट- पैसा कमाउँछु र परिवार खुसीको साथ चलाउँछु भन्ने उदेश्य सबैको हुन्छ। त्यहि उदेश्य थियो नुवाकोट बर्सुन्चेतका हरिबहादुर घलेको पनि। मनभरी खुसीका फूलहरु फुलाउँदै दुई लाख रुपैयाँ ऋण लिएर वि.सं. २०५७ सालमा मलेसिया हानिएका थिए। भनिन्छ सोचे जस्तो जीवन हुन्न त्यस्तै भयो घलेको जीवनमा पनि। दुई वर्षमा पाइला चाल्दै गरेकी छोरी छोडेर मलेसिया गएको अहिले छोरी झरना १९ वर्षकी भइन् तर उनी घर फर्कन पाएका छैनन्। पाएका छन् त केवल मलेसियाको जेल जीवन भोग्न।

मलेसियामा काम गर्दै आएका उनी कम्पनीकै अनुमतीमा विदा लिएर घर फर्कने तयारीमा लागेका थिए। उनी कार्यरत कम्पनीले नै उनलाई नेपाल आउनको लागि प्लेन टिकट उपलव्ध गराएको थियो। टिकट हातमा लिएर आफ्नो देश फर्कन प्लेन समात्नु पर्ने उनले हो तर उल्टै उनलाई प्रहरीले समात्यो। घलेको बहिनी सरला घलेले भनिन्, “अङ्ग्रेजी पात्रो अनुसार २००३ मे ३० को दिन होटलमा बसिरहेको बेला चिनेकै साथी गणेष तामाङ भन्ने आएछ। प्रहरीले पिछा गरिरहेको थाहा पाएर उसले ल्याएको झोला त्यहि छोडेर भागेछ,” उनले भनिन्, “दाइको साथीले छाडेको झोलामा लागुऔषध रहेछ। लागुऔषधको कारोवारीमा संलग्नता भएको आरोपमा दाइलाई मलेसिया सरकारले जेलमा राखिरहेको छ।”

हरिबहादुरसँगै प्रहरीले नुवाकोट किम्ताङका साजन तामाङलाई प्रहरीले पक्राउ गरेको थियो। छोरा जेलमा परेको खबरले पिर मान्दैमा बुवाआमा मेघबहादुर/जमुरानी, बहिनी मिनकुमारी र हजुरबुवा टेकबहादुरको मृत्यु भयो। श्रीमतीले पनि अर्को विवाह गरिन्। उनीहरुलाई दोषी ठहर गर्दै २००९ नोभेम्बर २६ मा मृत्युदण्डको सजाय सुनाइएको थियो। हिरासतमा नै सन् २०१० जनावरी २० मा  साजनको मृत्यु भयो। नेपाल सरकारको आग्रहलाई मलेसियाको सर्वोच्च अदालतले विसं २०६९ असोज १० मा मृत्युदण्ड बदर गर्यो र २० वर्ष जेल नै बस्नु पर्ने निर्णय सुनाइयो। 

मृत्युदण्ड बदर गर्ने समयमा प्रहरीले पक्राउ परेको समयलाई  समेत गनेर २० वर्ष हिरासतमा बस्नुपर्ने भनिए पनि गएको कार्तिक ४ गतेदेखि लागु हने गरि थप १३ वर्ष ८ महिना हिरासतमा नै बस्नु पर्ने भन्ने मलेसिया अदालतको निर्णयले घले परिवार थप मर्माहत भएका छन्। “परिवारका अभिभावकहरु हामीले गुमाइसकेका छौँ। ४ वर्ष सम्ममा त दाइ फर्कनुहुन्छ भनेर दिन गन्दै बसेका थियौँ तर १३ वर्ष ८ महिना फेरी जेलमा नै बस्नुपर्छ भन्ने आदेश आएको छ। यसले झन पीडा दिएको छ,” सरलाले भनिन्, “नेपाल सरकारले मृत्युदण्ड हुनबाट त रोक्यो। अव यत्ति लामो समय हिरासतमा बस्न नपरोस् भनेर पहल गरिदिन सरकारलाई आग्रह गर्न चाहान्छौँ।”

२३ वर्षमा मलेसिया गएका घले अहिले ३८ वर्ष भइसकेका छन्। बुवाको अनुहार फोटोमा मात्र देखेकी छोरी झरना अहिले मामाघर कोलनीमा बस्दै बुवाको बाटो हेरिरहेकी छिन्। गएको कार्तिक ४ गतेको निर्णय उल्टाउन पाए चार वर्ष भित्रमा घले नेपाल भित्रन सक्ने भन्दै उनको परिवारले मलेसिया सरकारलाई पहिले कारागारमा बसेको दिनहरु समेत गणना गर्न लगाउन पहल गरिदिन आग्रह गर्दै आइरहेका छन्।  

प्रकाशित: १७ कार्तिक २०७५ ११:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App