coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीन र पाकिस्तानका प्रधानमन्त्रीबीच भेटवार्ता

बेइजिङ- चीन भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार चीनका समकक्षीसँग भेटवार्ता गरेका छन्। उनीहरु बीच विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको मानिने चीनले पाकिस्तानलाई गर्ने लगानी र सहयोगमा केन्द्रीत रहेर छलफल भएको अधिकारीले बताएका छन् । 

चीन भ्रमणमा जानुअघि पाकिस्तानी प्रधानमन्त्री खानले साउदी अरबको भ्रमण गरेर ठूलो आर्थिक सहयोगको सम्झौता गरेका थिए। पाकिस्तानका लागि चीन पनि पहिलेदेखि नै मुख्य सहयोगी राष्ट्र हो। पाकिस्तानमा चीनको ठूलो लगानी छ। दुई देशले चीन–पाकिस्तान आर्थिक करिडोर बनाउँदै छन् भने ‘बेल्ट एण्ड रोड इनिसियटिभ (विआरआई)’लगायतका ठूला परियोजनामा पनि चीन र पाकिस्तानले सहकार्य गरेका छन्। 

बेइजिङ्मा भएको दुई शिर्ष नेताको भेटवार्ताका क्रममा दुई देशबीच उर्जा र यातायात सेवा विस्तार गर्ने बारेमा छलफल भएको थियो।  भेटवार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले चिनियाँ प्रधानमन्त्री लि खस्याङलाई पाकिस्तान भ्रमणको निमन्त्रणासमेत दिएका छन्। 

“चीनको लगानी आकर्षित गरेर नै हामीले देशको विकास गर्न सक्दछौँ, त्यो हाम्रो लागि राम्रो अवसर हुनेछ,” इमरानले भने। उनले थपे, “चीनको सहयोगले मात्रै हामी संमृद्धितर्फ जान सक्दछौँ भने हाम्रो जीवनस्तर र वृद्धिदर पनि बढाउन सक्दछौँ।” 

सो अवसरमा चिनियाँ प्रधानमन्त्री लिले पनि दुई देशको सम्वन्ध सकारात्मक रहेको बताउँदै सदाबहार साझेदार भएको टिप्पणी गरे। उनले पाकिस्तान सधै चीनको प्राथमिकतामा रहेको पनि स्मरण गरे। 

प्रधानमन्त्री खानले चिनियाँ राष्ट्रपति सि जिङपिङलाई भने गत शनिबार नै भेटेका थिए। मुलुकको आर्थिक अवस्था नाजुक भएका बेला देशको नेतृत्व सम्हालेका पूर्वविश्व क्रिकेट खेलाडी खानले चिनियाँ राष्ट्रपति सिसँग पनि आर्थिक सहयोगकै बारेमा कुराकानी गरेका थिए। 

प्रकाशित: १७ कार्तिक २०७५ ०९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App