coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पोखराद्वारा काठमाडौं ४ विकेटले पराजित, बुटवल र विराटनगर प्रतियाेगिताबाट बाहिरिए

काठमाडौं रोयल्सविरुद्ध ब्याटिङ गर्दै पोखरा पल्टनका खेलाडी । तस्बिरः उमेश पुन/नागरिक

काठमाडौं – पोखरा पल्टनले काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गरेसँगै सोमपाल कामीको बुटवल ब्लास्टर्स  र सन्दीप लामिछानेको विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटबाट बाहिरिएका छन्।

सुरुवातका दुई खेल जितेको बुटवल त्यसपछि भएका तीन खेलमा भने लगातार हार ब्यहोरेको थियो। काठमाडौं र पोखराबीचको खेलमा काठमाडौं विजयी भएको भए बुटवलको सम्भावना गणितीय हिसाबमा कायमै हुने थियो। बुटवलले सबै ५ खेल खेल्दै ४ अंक बनाएको थियो।

यता गर या मरको अवस्थामा रहेको पोखराले काठमाडौंलाई पराजित गर्दै प्लेअफ सम्भावना बलियो बनाएको छ। पोखरा ५ खेलबाट ३ मा जित र २ मा हारका साथ ६ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पोखरासँग पराजित भएपनि काठमाडौंको प्लेअफ सम्भावना जिवितै छ। काठमाडौं ५ खेलमा ३ जित र २ मा हार ब्यहोर्दै दोस्रो स्थानमा झरेको छ। यो खेलमा काठमाडौं विजयी भएको भए सिधै फाइनलमा स्थान बनाउने थियो।

आज हुने समूह चरणको अन्तिम खेलमा चितवन राइनोज र विराटनगर टाइटन्सको खेलपछि प्लेअफमा पुग्ने ३ टोलीको टुंगो लाग्नेछ। पारस खड्काको चितवन ४ खेलमा २ मा जित र २ मा हारका साथ तालिकाको चौंथो स्थानमा छ। चितवनले विराटनगरलाई पराजित गरेको खण्डमा रनरेटको आधारमा अघिल्लो चरणमा पुग्ने टोलीको टुंगो लाग्नेछ। त्यसैले विराटनगरलाई फराकिलो अन्तरले पराजित गरेमा चितवनलाई फाइदा हुनेछ।

यता सन्दीप लामिछानेको विराटनगर टाइटन्सलाई भने एक खेलअघिनै प्रतियोगिताबाट बाहिरिएको छ। यो खेलमा काठमाडौं विजयी भएको भए विराटनगरको सम्भावना पनि गणितीय हिसाबले कायमै रहन्थ्यो। विराटनगर ४ खेलबाट १ जित र ३ हार सहित २ अंकका साथ तालिकाको पुछारमा छ। अब चितवनलाई पराजित गर्दै दोस्रो जितका साथ प्रतियोगिताको अन्त्य गर्ने लक्ष्यका साथ मैदान उत्रदैछ। तर चितवनलाई पराजित गर्न विराटनगरलाई सहज भने हुनेछैन्।

पोखरा रंगशालामा काठमाडौं रोयल्सले जितका लागि दिएको १०४ रनका लक्ष्य पोखरा पल्टनले १५.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। पोखरा पल्टनको जितमा मोहम्मद नाभिदले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ३६ रनको योगदान दिए। उनले १५ बलमा ५ छक्का प्रहार गरे।

त्यस्तै रभिन्दर सिंहले २४ बलमा २२, आसिफ शेखले २६ बलमा १६, रोहितकुमार पौडेलले नटआउट ७ बलमा १५ र कुशल भुर्तेलले २० बलमा १४ रनको योगदान दिए। काठमाडौं रोयल्सका अमरसिंह रौटेलाले ३ तथा सुसन भारी, नन्दन यादव र पवन सर्राफले समान एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा विकेट गुमाउँदै रन बनाएको थियो। काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रनको योगदान दिए। मल्लले २८ बलको सामना गर्दै ३ चौंका र १ छक्का प्रहार गरे। त्यस्तै अमित श्रेष्ठले १७ बलमा ३ चौंका र १ छक्काको सहायतामा २१ र पवन सर्राफले १९ बलमा १२ रन बनाएपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

काठमाडौंका जयकिशन कोल्सवाला र गौरव तोमार आज शून्य रनमा आउट भएका थिए। काठमाडौं रोयल्सलाई रनमा समेटन पोखरा पल्टनका ललितनारायण राजवंशीले ३, मोहम्मद नाभिद र रासिद खानले २–२ र विक्रम भुषालले १ विकेट लिए।

प्रकाशित: १७ कार्तिक २०७५ ०७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App