स्मृती

अघोषित पाठशालाको शिक्षा

शनिबार, १७ कार्तिक २०७५, ११ : ४५ दीपेन्द्रसिंह थापा

185


कुरैकुरामा कहिलेकाहीँ कसैले प्याच्च बोलेको सुन्छु, ‘सङ्गत गुनाको फल’ । लाग्छ, सङ्गतलाई सामान्य ठान्न नहुने रहेछ । सङ्गतको प्रभाव कुनै न कुनै रूपमा प्रतिबिम्बित हुन्छ मान्छेमा । अझ असरदार देखिन्छ मान्छेका व्यवहारका मोडहरूमा।

सङ्गतसित नै जोडिँदै गएको हुन्छ सायद सांसारिक सौन्दर्यबोधको एउटा पाटो । मान्छेमान्छेका लहरभन्दा पर कहाँ छ र जीवनलाई हेर्ने दृष्टि, जगतलाई बुझ्ने सापेक्षता?

जीवनयात्रामा प्राप्त कतिपय सङ्गतहरू सम्झनामा प्रिय बनेर रहन्छन्, शिक्षा र अनुभवका स्रोत बन्छन् । पूर्वाद्धका हिँडाइ र भोगाइले उत्तरार्द्धका यात्रासम्म पथप्रदर्शन गर्न छाडेका हुन्नन् । व्यक्तित्व निर्माणमा बन्छ त्यो एउटा सहायक तत्व।

बाल्यकालीन समयका मेरा सक्कली गुरु नै तिनै श्रमशील कृषि मजदुरहरू बने । विश्वविद्यालयमा पढेका पुस्तकका शास्त्रीय ठेलीबाट भन्दा तिनै सरल मान्छेका आत्मीय व्यवहारले महत्त्वपूर्ण कुरा सिकाए जस्तो लाग्छ मलाई । जागिरका लागि विश्वविद्यालय धाउने कुनै चस्माधारी प्राध्यापकलाई भन्दा उच्च सम्मान गर्छु म ती पौरखी कृषिश्रमिकलाई।       

एउटा आकस्मिकताले भनौँ या संयोगले जन्मन्छौँ हामी, आआफ्ना पृष्ठभूमि साक्षी राखेर । जन्मिएपछि वंशज, वातावरण र अरू कुराले पनि भर्दै जान्छ जीवनमा रङ । हुर्कने, बाँच्ने उपक्रमसँग जोडिन्छ जीवनजगतको बुझाइ । विषयलाई हेर्ने दृष्टि बन्छ, धारणा उब्जन्छ । बाँच्नुको लीला तय भइदिन्छ । केही जानेर, केही नजानेर लीलामय बाँचिदिन्छौँ । आफ्नै प्राप्ति र कमजोरीका घेरा छन् हामीलाई जीवन बाँच्नलाई।

सबैले आआफ्नो भागमा परेको जीवन बाँच्ने न हो । गर्व गर्छु, मेरो मानवचोला सुरु भएको किसान परिवारप्रति । सोझा, सरल र श्रमशील आमाबुबा । असल मान्छेका मानक। मेरा आदर्श उहाँहरू नै । गाउँका बिम्बहरू पढ्दैपढ्दै हुर्किएँ । प्रकृतिको स्वच्छतासँग आत्मीयता गाँसियो । खोला, खोल्सा, पाखापखेरा, गाउँबेसी, वन, बनेली, चराका गीत । जहाँ जाऊँ रमाइलो, जे हेरूँ राम्रो।

मध्यम वर्गीय किसान परिवार । गाइबस्तु गोठमा धेरै । परालको टौवा ठुलै । आफ्नै घरका मान्छेले मात्र काम गरेर नसकिने खेतबारी । हामी छोराछोरी साना, बलका काम गर्न नसक्ने । यस्तै अवस्था थियो त्यति बेला घरमा । त्यसैलै खेतालाहरू नै खटिन्थे । धेरै जना जुटाएर अन्नबाली रोप्न, गोड्न र भिœयाउन पथ्र्यो । खेतालाहरूले काम गरे बापत कहिले नगद, कहिले अन्न नै लगेको देख्थेँ, उनीहरूकै आवश्यकता हेरी । खेतबारीमा काम गर्ने श्रमिक वा कृषिमजदुरलाई नै त हुन् खेताला । उनीहरूका पनि आ–आफ्ना मजबुरी हुन्छन्।

बनीबुतो गरेर परिवार पाल्नेहरूका जीवनका कथा र व्यथाभित्रका मर्मसम्म त म पुग्न सक्दिनँ थिएँ । बालमस्तिष्कले कसरी भेउ लगाउन सक्नु र समयका त्यस्ता दृश्य–अदृश्य भास ! तर उनीहरूको जीवनको सरलता र हार्दिकताले म नजिकिन्थे उनीहरूसँग । विद्यालयका प्रारम्भिक कक्षाहरूमा पढाइतिर त्यति आकृष्ट बन्न सकेको थिइनँ । शिक्षकहरू कृत्रिमताका आवरणले छोपिएका थिए, बालमनोविज्ञान पटक्कै नबुझ्ने र हप्कीदप्की मात्र गर्ने सधैँ । करबल गर्ने । त्रासको हतियार नछाड्ने कहिल्यै । त्यतिबेलाका ती शिक्षकभन्दा खेतबारीमा काम गर्ने खेतालाबाट धेरै कुरा सिकेँ मैले । खेतालासँग कुरा गर्दा धक नलाग्ने, न कुनै अन्य असहजताले नै छेक्थ्यो । खुलेर बोल्थेँ । उनीहरूका कुरामा रमाउँथेँ । सङ्गत झाँगिँदै गयो । थाहै नपाई विभिन्न व्यावहारिक शिक्षा लिने माध्यमका रूपमा पो बदलिन थालेछ त्यो रमाइलो सङ्गत।

जीवनको जिज्ञासामय पूर्वाद्धमा उनीहरूसँगै रमाएँ, खेलेँ र कृषिसीप सिकेँ । उनीहरूकै गायन र वाद्यवादनबाट भरपुर मनोरञ्जन पाएँ । जीवनको सोझो र सरल बाटोमा केबल मान्छे भएर हिँड्ने प्रेरणा पाएँ । यसैले ठूला मान्छेभन्दा पनि असल मान्छे मेरा जीवनका आदर्श बनेका छन् ।

विद्यालय बन्द नभएका बेला पनि साँझबिहान प्राय खेतालासँगै हुन्थ्यो मेरो साहचर्य । उनीहरू उमेरले निकै जेठा तर समान व्यवहार गर्न अभ्यस्त । हेयदृष्टि नराख्ने सानाप्रति । व्यावहारिक र वस्तुनिष्ठ । मनकारी मान्छे । विद्यालयको शास्त्रीय शिक्षणबाट भन्दा धेरै जीवन्त ज्ञान र अनुभव प्राप्त गर्ने स्रोत बने त्यति बेला तिनै खेतालाहरू मेरा लागि।

बेँसीमा खेत र गाउँमा घर । अन्नबाली भित्याउने बेला खेतालाहरूसँग मलाई पनि ओहोरदोहोर गर्न मन लाग्ने । लागीमेली गरिन्थ्यो । उनीहरू धेरै थाकेका बेला एकैछिन बाटोमा भारी बिसाउँथे र बुट्टयानको पात टिपेर सुरिलो धुन निकाल्थे । लोकगीतका लय यति मीठो निकाल्थे कि सुन्दा थकाइ सबै मेटिएजस्तो लाग्थ्यो । एउटा सामान्य पात दुई हातले दुई छेउ समातेर ओठमा टाँसेजस्तो गरेर फुक्दा त्यति मीठो आवाज निस्कन सक्छ भन्ने पहिलो चोटि उनीहरूबाट नै थाहा पाएँको हुँ मैले । सिकि मागेँ बजाउन । प्रयत्न र भुलको सिद्धान्त भनेझैँ गरी सिकेँ मैले पनि। ठूलो कुरा जाने जस्तो लाग्यो । अनेक रूप, शैली र शिल्पमा देखा पर्ने रहेछन् गुरुहरु जीवनमा, चिन्न र सिक्न मात्र सक्नुपर्ने । मलाई पात बजाउन सिकाउने गुरु हुन् तिनै खेताला । अहिले पनि कसैले पात बजाएर मीठामीठा गीतिलयले रनवन गुन्जाएको सुन्दा त्यति बेलाको स्मृतीले झ्याप्प छोप्छ मलाई।

अचम्मको अनुराग कलाको । कोहीकोही खेतालाचाहिँ मेलापात हिँड्दा पनि मुरली, बाँसुरी बोक्न नछुटाउने । काममा जाँदा र फर्किँदा बाटोमा भए पनि बजाउनुपर्ने । साङ्गीतिक माधुर्य गुन्जिरहन्थे बाटाघाटातिर । उनीहरूलाई भन्दा पनि मुरली र बाँसुरीको मीठो धुन  पछ्याउँथेँ म । अनुरागकै कारण मुरली बजाउन सिकेँ । निरन्तरता चाहिँ दिन सकिएन भनौँ।

कोही खेताला मादल बजाउन सौखिन । ज्याला गरेको पैसा बचाएर मादल झुन्ड्याउँथे घरका भित्तामा । बेलाबेलामा मर्मत गर्थे, खरी भर्थे । मन नै हर्ने गरी रन्काउँथे । गाउँभरि ध्वनित हुन्थ्यो घिन्ताङघिन्ताङ । चाडपर्वसँग गानबजान पनि जोडिन्छ । त्यस्तो बेला मादल भिरेर गीत गाउँने समूहमा सहभागी हुँदा तिनलाई गर्वबोध नहुने कुरै भएन । उनीहरूलाई गुरु थाप्ने पालो मेरो हुन्थ्यो त्यहाँ।

‘एकछिन दिनु न मलाई पनि’ भन्दै मागेर बजाउन सिक्थेँ । मादलको तालसँग पनि परिचित बनाए मलाई उनीहरूले।

कृषिकर्ममा जोडिने कला र गला अनेक । केही खेतालाहरू गीत गाउन माहिर । काम गर्दागर्दै पनि सुरिलो स्वर गुन्जाउँथे मुखबाट । कसले भेट्नु तिनका खुबीलाई ? परिवेश छिनभरमै रसमय बन्थ्यो । जीवनका सबै भोगाइ र अनुभूति गीतमा । कलाको रङरस न हो, ठिटाठिटीहरूबीच श्रृङ्गारिक घोचपेच पनि गीतमै।

लोकलयको मधुरता कस्तो गज्जबको ? सुन्दा अनायसै निस्कन्थे सुन्नेका मुखबाट ‘आहा, आहा’ ! जति सुन्यो उति रसास्वादनीय ! उनीहरूकै सामीप्यका कारण लोकगीत गुनगुनाउन थाले मैले पनि, अलिअलि । सङ्गतकै फल भनूँ, एक चोटि विद्यालयको अतिरिक्त क्रियाकलामा लोकगीत गाउँने साहस पनि गरेँ । हात प¥यो तृतीय पुरस्कार । मन कम्ती रङ्गिएन,  खुसीले । ती रसिक खेतालाका हावाले नछोएको भए म कसरी गाउँन सक्थे होला र ! मेरा घरपरिवार, आफन्ततिर त कोही गीत गाउने खाले नै थिएनन्, अहिले पनि छैनन् । ममा सङ्गीतप्रति आकर्षण उत्पन्न हुनुमा सङ्गत नै कारक थियो । पछि गानाबजानको अभ्यास त टुट्यो । तैपनि समय मिल्दा अहिले पनि सुन्नचाहिँ छुटाउँदिनँ । मेरो कोमल र अबोध बाल मानसिकतामा पहिलो चोटि गीतसङ्गीतको अनुराग जगाइदिने तिनै खेतालाजन थिए, जो सरल जिन्दगी बाँचे पनि ललित हृदय बोकी हिँड्थे । म त्यसैत्यसै लुटपुटिन्थेँ तिनीहरूसँग।

खेतालाहरू आ–आफ्ना पौरखी धुन फिँजाउँदै कृषिकर्ममा क्रियाशील भएको दृश्यले आकर्षित गथ्र्यो मलाई । देख्दै अनुकरणीय प्रस्तुति । विज्ञता भन्ने कुरा जेसुकैको होस् विशेष नै हुन्छ । उनीहरूले खेतका कान्ला ताछेका, आली काटेका, चपरी पल्टाउँदै चिटिक्क पारेर आली लगाएका देख्दा आँखा नै नझिम्क्याई हेरिरहूँझैँ लाग्थ्यो । उनीहरूका जस्ता ठुल्ठुला कोदाली नचाउँन त के सक्थेँ म ? सानो कोदाली लिएर देखासिकी गर्न अघि सर्थेँ । तर आफैँले गरेको काम चित्त नबुझ्ने, उनीहरूले गरेजस्तो नभएर । सानो कोदालीले ताछेका कान्लामा मिलेका पाटा नबस्ने, सुन्दर डोब नदेखिने । सानो कोदालीले काटेको चपरीले बनाएको आली पनि चिटिक्क नपर्ने । कहिले उमेर छिप्पिएला र ठूलो कोदाली मच्चाएर त्यस्तै राम्रो काम गर्न सक्ने मान्छे बन्न सकुँला भन्ने हुटहुटी हुन्थ्यो मनभित्र । मैले कृषि सीप जति सिके सबै उनीहरूकै सङ्गत र देखासिकीकै करामत हो भन्दा हुन्छ । अहिले बुझ्दै छु, त्यो गुरुत्वको छायाँ कति सबल र प्रभावकारी रहेछ।

कृषिकर्ममा आश्रित ग्रामीण परिवेश । जोत्ने, छेउकुना खन्ने, डल्ला फुटाउने, मल राख्ने, बाली लगाउने, गोडमेल गर्ने र बाली भित्र्याउनेसम्मका सामयिक तालिका । उत्सवमय तरिकाले सम्पन्न हुन्छन् काम । जोत्न रहर लाग्दा हली दाइसँग सिकिमाग्थेँ । ठू–ठूला गोरूहरू मलाई फुच्चे देखेर नटर्ने र मेलो मिचेर जथाभाबी हिँडिदिने, मेलो बिगारेर । ऐँचाउन हम्मेहम्मे पथ्र्यो, बल पुग्नैनथ्यो । हलो धसेर सियो मिलाउन पनि गाह्रो । जोतिसकेपछि डल्ला फुटाउन लिँड्को लगाउँदा र रोपाइँका बेला हिल्याउँन साहा लगाउँदा चाहिँ एकैछिन भए पनि त्यसमाथि चढेर मज्जा लिइथ्यो । जति ठूला गरा उति रमाइलो सयर, उति गतिशीलताको अनुभूति।

खेतालाका जीवनभोगाइका पृष्ठहरू पढीपढी हुर्किएँ म । जङ्गली जीवजन्तु, चराचुरूङ्गी, वस्तुभाउ आदिबारे मेरो बालमानसिकतामा उत्पन्न सबै खाले जिज्ञासाको उत्तर पाउँथे उनीहरूबाट, बिना कुनै झर्को । कुनै कृत्रिमता र औपचारिकताको सीमाले नछेकेको त्यो अघोषित पाठशाला केबल भोगाइ र बुझाइमा आधारित थियो।

पद, प्रतिष्ठा र आर्थिक हैसियत नहेरी मान्छेले मान्छेसँग हार्दिक व्यवहार गरेको मन पर्छ मलाई । सबैका उपस्थिति र भूमिका आफ्नैआफ्नै किसिमले विशिष्ट छ भने भेददृष्टि किन ? हरेक व्यक्तिसँग आफ्नै खालको जीवन बाँच्ने लय हुन्छ, योग्यता र हैसियत हुन्छ।

मलाई खेतालाको समूहसँग बसेर खाजा, खाना खाँदा खुब रमाइलो लाग्थ्यो । उनीहरूका गफ सुन्दा आनन्द आउँथ्यो, व्यावहारिक शिक्षा मिल्थ्यो । स्मृतिका पाना पल्टाउँदा देख्छु, कस्ता उज्याला बिम्बहरू ती । निकै सार्थक लाग्छन् मलाई यस्ता मानवीय बिम्बहरू, जो उचनीचको हेराइभन्दा पर बस्न रुचाउँछन् । महत्वकांक्षाको पछि दौडिहिँड्दैनन् । खोक्रो आदर्शको लेपन कतै देखाउँदैनन् । सधैँ प्रस्टता र एकरूपता देख्न सकिन्छ बोली र व्यवहारमा । औपचारिकताको कुनै बोक्रे आवरण ओढेका दैखिँदैनन्, छैनन् असामान्य र भद्दा अनौपचारिक पनि । आफ्नो प्राप्तिबाट तृप्त छन् । स्वच्छ छन्, निर्मल र कञ्चन सबै दृष्टिले।

बाल्यकालीन समयका मेरा सक्कली गुरु नै तिनै श्रमशील कृषि मजदुरहरू बने । विश्वविद्यालयमा पढेका पुस्तकका शास्त्रीय ठेलीबाट भन्दा तिनै सरल मान्छेका आत्मीय व्यवहारले महत्त्वपूर्ण कुरा सिकाए जस्तो लाग्छ मलाई । जागिरका लागि विश्वविद्यालय धाउने कुनै चस्माधारी प्राध्यापकलाई भन्दा उच्च सम्मान गर्छु म ती पौरखी कृषिश्रमिकलाई । जीवनको जिज्ञासामय पूर्वाद्धमा उनीहरूसँगै रमाएँ, खेलेँ र कृषिसीप सिकेँ । उनीहरूकै गायन र वाद्यवादनबाट भरपुर मनोरञ्जन पाएँ । जीवनको सोझो र सरल बाटोमा केबल मान्छे भएर हिँड्ने प्रेरणा पाएँ । यसैले ठूला मान्छेभन्दा पनि असल मान्छे मेरा जीवनका आदर्श बनेका छन्।

सरलता, स्वच्छता र श्रमशीलताको पाठ भलीभाँती सिकेछु कृषिकर्मको अनौपचारिक शिक्षालयमा । कृत्रिमताभन्दा पर बाँचेको जीवन मन पर्छ मलाई । सहृदयतामा देख्छु सौन्दर्य।

मनमनै प्रश्न गर्छु, घरका भित्ताभित्तामा सजाएर राखिने कागजी प्रमाणपत्रहरूमा मात्र नापिन्छ र जीवनका सबै योग्यता?







यसमा तपाईको मत

अन्य समाचार

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...

युएसबी-सी (USB-C) ट्रेन्ड

युएसबी-सी (USB-C) ट्रेन्ड

अहिले सबै कम्प्युटर र मोबाइल फोन निर्माता USB को यो स्ट्यान्डर्डलाई आफ्नो उत्पादनमा समावेश गर्ने होडमा छन् | ...

विन्डोज १० को नयाँ अपडेट - थुप्रै नयाँ फिचरहरु थपिदै

विन्डोज १० को नयाँ अपडेट - थुप्रै नयाँ फिचरहरु थपिदै

यो अपडेट अक्टोबर महिनाबाट विन्डोज १० होम र प्रो प्रयोगकर्तालाई उपलब्ध गराइएको छ | ...