समीक्षा

शाकुन्तलमा किसान, प्रेम, गृहस्थी र शिशु जीवन

शनिबार, १७ कार्तिक २०७५, ११ : १६ ज्ञाननिष्ठ ज्ञवाली

66


महाकवि लक्ष्मीप्रसाद देवकोटाले शाकुन्तल महाकाव्यमा सरल नेपाली जनजीवन/किसान केन्द्रित जनजीवनको चित्र प्रस्तुत गरेका छन् । महाकाव्यको प्रथम सर्गमै यस्तो विचार व्यक्त गर्छन् 

नेपाली घरमा बनाउँछु भनी प्राचीनको यो वन

(सर्ग १ श्लो.१२)

प्राचीन सभ्यतालाई नेपाली घरमा भिœयाउन चाहने देवकोटाले जौको सातु र खुदेपानी खाने र अक्षय तृतीया मनाउने नेपाली चलनलाई (सर्ग ८, श्लो. ३७–३८) संकेत गरेका छन् । त्यस्तै दही, मही र सातु खाएर रमाउने नेपाली जनजीवन (सर्ग १३, श्लो. ३७) लाई उनले प्रस्तुत गरेका छन् । नेपाली किसानको जनजीवनलाई शान्त, सरल (त्यस्ती शान्त किसान गेहगहना) सर्ग १५, श्लो. ७६) र घरको गहना भनी वर्णन गरिएको छ । त्यस्तै किसानलाई देवकोटाले यसरी वर्णन गरेका छन् :
        कामदार छन् किसान  
                खेतबीच अन्न खान
        अन्नका पितासमान
                ली खनित्र चित्रमान
        अल्प चाहले प्रशन्न
                स्मेर शान्तितुल्य धन्य
        मृत्तिका–सिँगार–जन्य
                कर्म–वीर कीर्ति–गण्य
        मेदिनी–प्रतोष–पुत्र  
                स्वेददार सच्चरित
        ग्राम्य गानले पवित्र
                ओठसाथ शुद्ध भित्र
                                                   (सर्ग २०, श्लो. ९)

उपर्युक्त अंशमा किसानलाई अन्नका पिता, खनित्र (खन्ती, खन्ने कुरा) को चित्रजस्तो, थोरैले प्रसन्न हुने, स्मेर शान्तितुल्य (मुस्काएको शान्तिजस्तों) मृत्तिका–सिंगार–जन्य (माटोले  हिलोले सिँगारिएको जस्तो) कर्मवीर, कीर्ति भएको, मेदिनी–प्रतोष–पुत्र (पृथ्वीका सन्तोषी छोरा, पृथ्वी आमालाई खुसी पार्ने छोरा) का रूपमा, स्वेददा (पसिना खल्खली वगेका) अर्थात् परिश्रमी, सत्यचरित्रवान्, गाउँले गीतले पवित्र, मन शुद्ध भएको व्यक्तिका रूपमा चित्रण गरेर देवकोटाले नेपाली किसानको सरल जनजीवनलाई व्यक्त गर्ने काम गरेका छन्।

शकुन्तलालाई आफ्नो घर (स्वर्ग, दुष्यन्तको दरवार) जाने क्रममा बाटामा किसानकै घरमा वास बसाएर देवकोटाले यस महाकाव्यमा मौलिकपन ल्याएका छन् । गहुँ लसुन फलाउने, अन्नको कीर्ति भएको (सर्ग २०, श्लो. १९) पिलपिल बत्ती बलेको उज्यालो कुटी भएको (सर्ग २०, श्लो. २९) किसान अतिथि सत्कारमा अभ्यस्त छ । थकित भएर खाटमा पल्टेका वेला पनि तीन ब्राहृमण र गौतमीसहितकी शकुन्तलालाई स्वागत गर्न तत्पर हुन्छ (सर्ग २०, श्लो. ३०–३१) । आसनमा बसाएर आगो बाली तातोपन प्रदान गर्दछ (सर्ग २०, श्लो. ३३) । ऊ गाई दुहुन्छ । रातमै उठेर अतिथि सत्कारका निम्ति केही नभएर पनि प्रशन्नतापूर्वक पाहुनालाई गाईको दूध तताएर खान दिन्छ (सर्ग २०, श्लो. ४०–४६) । उसकी छोरी श्यामाले मकै भुटेर कृषकको वास्तविक खाना तयार पार्छे । त्यो पनि अतिथिहरूका लागि दिइन्छ । अर्को दिन उनीहरू जान तयार भएपछि हात जोडेर बिदाइ गर्छन् । यसरी देवकोटाले नेपाली किसानको जनजीवनलाई यहाँ प्रस्तुत गरेका छन्।

उता शकुन्तला किसानका घरबाट बिदा भएर जान्छिन्, यता दुष्यन्तले चिनो दिएको औँठी पाठाका माध्यमबाट तलाउका छेउमा किसानकी छोरी श्यामाले भेटाउँछिन् (सर्ग २२, श्लो. १२) । किसान धनको गरिव भए पनि मनको धनी भएकाले उक्त औंठी दुष्यन्तका दरवारमा आफैले पु¥याइदिएकाले इमान्दार किसानको जीवन यहाँ पाइन्छ।

देवकोटाले मूलतः महाकाव्यको बाइसौं सर्गमा किसानकेन्द्रित जीवन–चिन्तनलाई बढी महत्वका साथ प्रस्तुत गरेको पाइन्छ । किसानले औंठी दिएका कारण दुष्यन्तले आफूले बिर्सेकी शकुन्तलालाई सम्झेका छन् । पश्चात्ताप मानेर शकुन्तलालाई भेट्ने इच्छा व्यक्त गरेका छन् । किसान अर्काको दुःखमा दुःखी हुने परोपकारी पनि रहेको पाइन्छ । यसरी हेर्दा सरल प्राकृत, सन्तुष्ट, परिश्रमी किसान जीवनका साथै ग्रामीण नेपाली प्राकृतिक परिवेशतर्फ देवकोटाको आकर्षण यहाँ पाइन्छ।

महाकवि देवकोटा धेरै ठाउँमा प्रकृति, वन–जंगलतिर गएर आनन्द मिल्ने, सम्पूर्ण सुख प्राप्त हुने धारणा शाकुन्तल महाकाव्यमा व्यक्त गर्छन् भने यसै महाकाव्यको नवौं सर्गको एउटा श्लोकमा मात्र गृहस्थी जीवनको महत्वलाई प्रस्तुत गरेका छन् । उनी प्रकृत साधु, हठयोगी चिन्तक, मानवीय रूप नभएका शून्य साधुका विरुद्धमा गृहस्थी जीवनको महिमा प्रस्तुत गर्दै यसो भन्छन्–
        प-यो विपिन जानु नै किन बसी घरैका घर  
        जितीकन अनंग नै विजय माधुरीको गर
        झरेर घर मोहिनी बनिदिए यहाँ जो हरि  
        उनैकन भजे पुग्यो मृदुल अङ्गमा बेसरी

साधु सन्यासी बन्नका लागि घर छाडेर वन जानुपर्दैन । अनंग (कामदेव)लाई जितेर वा कामवासना त्यागेर, माधुरी (मधुरता) को विजय गरेर अगाडि बढ्नुपर्छ । घरगृहस्थीमा बसेर पनि सत्कर्म गरेमा भगवान् प्राप्त गर्न सकिन्छ । तिनैलाई भजे ज्ञान प्राप्त हुन्छ भन्ने विचार माथिको पद्यमा पाइन्छ।

घरमै बसेर सांसारिक मायामोहमा, जन्जालमा आसक्त नभए पनि सुखी हुन सकिन्छ । अनासक्त कर्मयोग गर्न सकिएमा गृहस्थ जीवनले अध्यात्म साधनालाई सहयोग गर्छ । गृहस्थमा बसेर खेतीपाती, व्यापार, उद्योगधन्दा, जागिर सेवा, राजनीति आदि जे गरे पनि भित्री मनमा श्रद्धा, भक्ति, विश्वासका साथ परब्रहृम बन्छ (पन्त, २०७३ः ६४२) । देवकोटाका शब्दमा घर मोहिनी भनेको पनि असल गृहस्थी भन्ने बुझिन्छ  । यही गृहस्थी जीवन–चिन्तन देवकोटामा पाइन्छ।

‘प्रियस्य भावः प्रेम’ अर्थात् प्रेम अत्यन्त पवित्र भाव हो । प्रेम अनिर्वचनीय छ (अनिवर्चनीयं प्रेमस्वरूपम्) । ... आत्माको लागि नै सबै वस्तु प्यारा भएका हुन्  (आत्मनस्तु कामाय सर्वं प्रियं भवति, बृ.उ. ४।५।६) । .... व्यावहारिक कोटीमा शरीरादि, जगदादिबाट आरम्भ भएको प्रेम पारमार्थिक कोटीमा परब्रहृम परमात्मामा पुगेर पूर्णता प्राप्त गर्छ (रिसाल, २०६७ ः ७२–७६) । महाकवि देवकोटाले पनि शाकुन्तल महाकाव्यमा शकुन्तला अर्थात् प्रकृतितर्फको शाश्वत प्रेमलाई प्रस्तुत गरेका छन्। मधुरो प्रेम प्रशस्त भुन्भुन (सर्ग १५,श्लो. ४७)  प्रेमका अगि मर्नु स्वर्ग प्राप्ति भएको कुरा (सर्ग १५, श्लो. ४८) यहाँ पाइन्छ।

प्रेमको स्वरूप अतिशय सुक्ष्म भएकाले यो वर्ण, लिंग, भाषा, धर्म, देश कालभन्दा फरक छ । प्रेममा मानिसहरू बाँचीबाँची मरिरहेका र मरीमरी बाँचिरहेका हुन्छन्  (रिसाल, २०६७ः ७२–७६) । शाकुन्तल महाकाव्यमा पनि प्रेम दिव्य सुवर्णमय (सर्ग १५, श्लो. ५९) भएको, प्रकृतिको शाश्वत प्रेमलाई सर्वोपरि मानिएको छ । प्रेममा दास बन्न तयार हुने (सर्ग १५, श्लो १८०), सातै सागर डुबेर रत्न ल्याउने, गगनमा विमानको विहार गराउने (सर्ग १५, श्लो. १८१) सन्दर्भमा प्रकृतितर्फको शाश्वत प्रेमको झलक पाइन्छ । प्रेम आत्माजस्तै अमर हुने, मृत्युलाई जित्न सक्ने (सर्ग १७, श्लो. १०) भएकाले यसको सर्वातिशायी महिमाबोध यहाँ गरिएको छ । प्रेम शाश्वत भएका कारण मानिस त्यसको पछि लाग्ने, यसको गति विचित्र हुने (सर्ग २४, श्लो. ६२) कुरा यहाँ स्पष्ट पारिएको छ।

प्रेम परमात्माबाटै आरम्भ गरिएको होस् अथवा अज्ञानतावश जगत्बाटै सुरु गरिएको होस्, त्यो परब्रहृम परमात्मामा पुगेर पूर्णता प्राप्त गर्छ भन्ने कुरालाई तलका हरफहरूबाट पुष्टि गर्न सकिन्छ–
    प्रेमै हो सिर्जनाको प्रथम विधि यही विश्व–आधार जान  
    प्रेमै हो दिव्यताको मधुमय करुणा प्रेम हो विश्व–प्राण
    प्रेमैले मिल्छ तारा, यसकन सबको धर्मको तत्व जान
    हेलाँ हो पाप भन्ने बुझ नृपवर यो प्रेम हो दिव्य गान
                                                          (सर्ग २४, श्लो. ७२)
    सत्यैको मोहनी हो प्रकृतिबीच सबै माधुरी मोहनी यो
    आत्मा बोलाउने भै वरिपरि छरिई डाक्दथे प्रेमद्वारा
                                                          (सर्ग २४, श्लो. ७३)
देवकोटाले उल्लिखित कवितांशमा प्रेमलाई सिर्जनाको प्रथम विधि मानेका छन् । विश्वको आधार ठानेका छन् । दिव्य मधुमय करुणा पनि प्रेमलाई मानेका छन् । विश्वको प्राण मानेका छन् । पापलाई हेला मानेका र प्रेमलाई दिव्य गान मानेका छन् । यो सबै प्रकृतिको माधुर्यमा पाइने भएकाले यसैबाट आत्मा तत्व प्राप्त हुने कुरासमेत यहाँ व्यक्त भएको छ । यी कुराहरू देवकोटाले कश्यप ऋषिका माध्यमबाट दुष्यन्तलाई उपदेश दिने सन्दर्भमा व्यक्त गरेका छन्।

राधाकृष्णको जस्तो अमर प्रेमप्रतिको आकर्षणलाई तलका हरफहरूबाट कविले पुष्टि गरेका छन् :
आनन्दी भै बसे रे दुई ह्दय मिली राज्यमा कृष्णराधा
जस्ता लाखौं उज्याला सुखसँग रसले प्रेमका भाँतिभाँति
                                                          (सर्ग २४, श्लो. ८०)

उपर्युक्त पद्यमा दुष्यन्त र शकुन्तलाको प्रेमलाई राधाकृष्णको जस्तो शाश्वत मानिएको छ। गोपिनीहरूका आँखामा भगवान् श्रीकृष्ण जति हे¥यो उति नयाँ लाग्ने भएकाले नयाँपनमा नै प्रेमको वास्तविकता लुकेको हुन्छ । ... प्रेम भक्ति हो, ज्ञान हो, परमात्मा हो । ... प्रियतमले छुटाउन खोज्दा नछुट्ने प्रेम नै अविच्छिन्न प्रेम हो – जस्तो गोपिनीको भगवान् श्रीकृष्णकाप्रति  (रिसाल, २०६७ः७५) । यस्तै शाश्वत प्रेममय जीवन नै वास्तविक जीवन भएको कुरा देवकोटाले प्रस्तुत गरेका छन्।

महाकवि देवकोटाले आफ्ना कृतिहरूमा बाल्यजीवन र त्यसका निश्छलता, पवित्रता र शुद्ध स्वाभाविकताको चित्रण गरेको पाइन्छ । उनले बालकहरूमा ईश्वरीय स्वरूप देख्छन् । यही सन्दर्भमा उनको शिशुकेन्द्रित जीवन–चिन्तनलाई शाकुन्तल महाकाव्यभित्रका साक्ष्यहरूबाट पुष्टि गर्न सकिन्छ । मूलतः शिशु शकुन्तला र बालक भरतका बाललीलाहरू यहाँ उल्लेख्य रहेका छन्।

देवकोटाले शकुन्तलाको जन्मपछि कण्व ऋषिले वनमा भेटेर उनलाई आफ्नो आश्रममा लगेको सन्दर्भमा वडो मार्मिक वर्णन गरेका छन् । आश्रममा कण्व पत्नी गौतमीले शिशु शकुन्तलालाई पाएपछि उनीहरूको जीवन नै पुनः शिशुप्रति मोडिएको छ । उनीहरू गृहस्थजस्तै बनेका छन् । गौतमीले आऊ छ्यानु यहाँ, कठै कति बछ्यौ एकान्तमा एकली (सर्ग ६, श्लो. ४४) भन्दै बालभाषा प्रयोग गरेर मीठा वचनले शकुन्तलालाई प्रेमपूर्वक काखमा लिएकी छन् । शकुन्तलाको हँसिलो अनुहार, गुनगुन आवाज सुनेर मेरी छोरी भयौं भनी गौतमीले लिएकी छन्।

देवकोटा स्वयं पनि बालबालिकालाई असाध्यै मन पराउने कवि हुन् । यहाँ पनि बूढा भइसकेका ऋषि कण्व र गौतमी शिशुलाई पाएर फरक जीवनशैलीमा प्रस्तुत भएका छन् । देवकोटाले शिशुको चाचा र शृंगारलाई विश्व मानेका छन् (सर्ग ६, श्लो. ४८) । यो सृष्टि सिर्जना र जीवन नै बालकेलिजस्तो उनले ठानेका छन् । बालकको वात्सल्यलाई उनले विश्व मानेका छन् । उनीहरूले शकुन्तलाको नाम राख्दा पनि पातमा नाम लेखेको सन्दर्भलाई महाकाव्यमा यसरी व्यक्त गरिएको छ–
    ‘राखूँ नाम म के’ भनेर ऋषिले अर्धांगिनी साथमा
    सोधे चट्ट  ‘शकुन्तला’ भनिदिइन् क्या भाव राम्रो फुरी
    ‘राम्रो सुझ ग-यौं’ भनेर ऋषिले लेखे नयाँ पातमा
    चिल्ला पिप्पलको हावासित सदा उछ्लेर मर्मर लिने

माथिको पद्यमा कवि र उनकी पत्नी गौतमी पूर्ण रूपमा शिशुकेन्द्रित बनेका छन् । उनीहरू सल्लाह गरेर शिशुको नाम राख्छन् । चिल्लो पीपलको पातमा नाम लेखेर पूर्णरूपमा शिशुप्रति समर्पित भई दुवैले जीवन बिताउँदै छन् । देवकोटा शिशुलाई आनन्दका महल मान्छन् (सर्ग ७, श्लो. १७) । महाकविले शिशुको महिमालाई यसरी प्रस्तुत गरेका छन्–
        बिग्रन्छ प्रौढहरूको जब बुद्धि सारा
        वर्षिन्छ हेर जगमा प्रलयाग्नि धारा
        त्यो कालमा शिशु अविकृत शान्त हाँसी
        रोक्नेछ क्यार ? गति कारणको विनाशी
                                                           (सर्ग ७, श्लो. ३१)
        के फूल हुन् र कविजी जग–सिर्जनाका
        आदर्शरूप दिलका मृदु गुवाला ?
        मेरा निमित्त शिशु नै सब फूललाई
        जित्छन् सुगन्धमय जीवन दिव्य पाई
                                                           (सर्ग ७, श्लो. ३७)

माथिका अंशहरूमा देवकोटाले प्रौढहरूको बुद्धि बिग्रेर यो संसारमा प्रलयको अग्नि बल्न थालेमा वा विनाश निम्तिएमा त्यसलाई रोक्ने सामथ्र्य शिशुको हाँसोमा हुने विचार प्रकट गरेका छन् । शिशुले नै सम्पूर्ण सिर्जना र त्यसका सुगन्धमय फूललाई पनि जितेर दिव्य आनन्द प्रदान गर्न सक्छन् भन्ने शिशुकेन्द्रित जीवनको महŒवलाई उजागर गरेका छन् । देवकोटा आफू पनि शिशुको कथा बुन्न पाउँदा खुसी छन् । उनी बालकेलिलाई स्वर्णकाल मान्छन्, प्रौढ संसारलाई धूलोको जालो ठान्छन् (सर्ग ८, श्लो. ७), बालकको गीतबाट  स्वर्ग बन्ने ठान्छन् । राजा दृष्यन्तले कश्यप ऋषिको आश्रममा पुगेपछि बालक भरतप्रति आकर्षित भएर उसलाई सुन्दर रत्न भन्नु, चुम्बन लिने चाहना गर्नु र त्यहीभित्र स्वर्गीय जीवन प्राप्त हुने विश्वास राख्नु (सर्ग २४, श्लो. १७) वास्तवमै शिशु जीवनप्रतिको देवकोटाको मोह यहाँ झल्किन्छ।







यसमा तपाईको मत

अन्य समाचार

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...

युएसबी-सी (USB-C) ट्रेन्ड

युएसबी-सी (USB-C) ट्रेन्ड

अहिले सबै कम्प्युटर र मोबाइल फोन निर्माता USB को यो स्ट्यान्डर्डलाई आफ्नो उत्पादनमा समावेश गर्ने होडमा छन् | ...