कोकाकोलाको छातामुनि हामी बसेका थियौं । एक अधबैंसे महिलाले खाजा ल्याइन् । प्लास्टिकको टेबुलमा राखिन् । हामीले खाजामा च्युरा, तरकारी, दहि, आलु (खाजा सेट) अडर गरेका थियौं । अर्डर गरेको खाजा पु-याएर ती महिला क्यान्टिनतिरै लागिन् । पुसको महिना भएकाले भित्र अलि चिसो थियो । बाहिर पारिलो घाम लागेको थियो । खुला ठाउँमा घाम ताप्दै खाजा खाने निर्णय भयो हाम्रो । क्यान्टिन बाहिर प्लास्टिकका मेच÷टेबल राखिएको थियो । एकैछिन खाजा खाने अन्य मानिसहरूतर्फ आँखा घुमाएँ, सबै गफमा मस्त देखिन्थे । यहाँ खाजा खान आउने अधिकांश मानिसहरू मेचमै बस्छन् र हामी पनि त्यहीँ गोलबद्ध भएर बस्यांै । उता क्यान्टिन बाहिरको प्लास्टिकवाला कुर्सीमा भरिभराउ मान्छे थिए । त्यसदिन लामो समयपछिको भेटघाट थियो हाम्रो । गफिदागफिदैँ घडीको सेकेन्ड सुइले ६० फन्को मारिसकेको पत्तै भएन । खाजा सकियो । तर, हाम्रो गफ भने अझै सकिएको थिएन । तिनै अधबंैसे महिला आएर प्लेट उठाइन्।
खाजा खाएपछि हामीबीच फोटो खिच्ने प्रसंग चल्यो । मनुु दाइले बोक्नु भएको एसएलआर क्यामेरा देखेपछि पनि फोटो खिच्ने प्रसंग निस्केको हो । हामीले चारै जनाको गु्रप फोटो लिएर छुट्ने निर्णय ग-यौं । तर चारजनाको फोटो कसरी लिने?
‘कसलाई फोटो खिच्न लगाउने होला त?,’ हामीबिच कुरा चल्यो।
हामिभन्दा अघिल्तिर रुफटपमुनी ४ जना युवतीहरु गफिँदै खाजा खाइरहेको थिए । उनीहरुका प्लेट पनि लगभग रित्तिन आटेको थियो।
‘यीनैमध्ये कुनैलाइ रिक्वेस्ट गरौं है ?’ मैले भने।
दाइले भन्नुभयो, ‘हुन्छ तिमी भन न त’
यति भनिसकेपछि दाईको क्यामेरा समाएर म ती युवती बसेको टेबलुछेउ पुगें।
‘इस्क्युजमी ! तपाईलाई एउटा दुःख दिउँ?’
गु्रपमा बसेकामध्ये एकजनाले बोलिन्, ‘भन्नुस् न!’
‘धेरैपछि आज हामी यसरी भेट भएका छौं, एउटा ग्रुप फोटो लिइदिनुस् न है?’
चारजनामध्ये छेउको कुर्सिमा बसेकीले ‘हवस्’ भन्दै क्यामेरा समाइन्।
झट्ट हेर्दा उनी सुन्दर देखिन्थिन । रातो ज्याकेट । पातलो शरीर । गोलो अनुहार । ठूला आँखा । अहो ! एउटी युवतीलाई राम्री बनाउन यो भन्दा अरु के चाहिएला?
क्यामेरा थमाउनुभन्दा अघि एकैछिन उनलाई नियालिरहेँ । नियालीरहँदा मेरो नजर अन्त गएनन् । क्षणभरमै उतिर आफू टोलाएको होस पाएँ ...।
मुखबाट आवाज लिकालेँ, ‘तपाईंजस्तै राम्रो फोटो निकाल्नु है?’
हल्का ओठ चिर्दै उनले भनिन्’ ‘आइ विल ट्राइ माइ बेस्ट।’
क्यामेरा थमाउँदा एकैछिन हामीबीच आँखा ठोक्किए । मनमनमै संवाद चल्यो, ‘यस्ती राम्रीले खिचेको फोटो कस्तो होला...?’
नभन्दै उनले क्यामेरा ‘अन’ गरिन् । अनुहारतिर क्यामेरा सोझाइन्।
हामी प्लाष्टिक कुर्सीमा बसेर क्यामेरको लेन्सतर्फ हेरिरह्यौं । उनले भनिन्, ‘रेडी, वान, टु...थ्रि । उनका नरम औलाहरु क्यामेराको ‘सटर रिलिज बटन’ थिच्न लागेसँगै हामीले विभिन्न पोज दिन थाल्यौं । उनले कतिपटक ‘सटर रिलिज बटन’ थिचिन थाहै भएन । क्यामेराको फ्ल्यास बलेको थियो।
फोटो खिच्ने क्रममा मैले क्यामेरा भन्दा उनको अनुहारलाई नियालिरहेको थिएँ । मनमनै कौतुहल्ता थियो, ‘यस्ती राम्रीले खिचेको फोटो कस्तो होला?’
आफैभित्र एकखालको तरगं पैदा भयो, मैले हल्का इग्नोर गरेँ । फोटा कस्ता आए होलान् भन्ने उत्सुकताकाबीच ती युवतीले मेरो हातमा क्यामेरा थमाइन् । हत्तपत्त क्यामेरामा कैद भएको एउटा फोटो हेरिहालेँ । फोटोको लुक्स र एङगल राम्रो थियो।
‘कति राम्रो फोटो खिच्नु भएछ।’
‘तपाईमा राम्रो क्यामेरा म्यान बन्न सक्ने गुण देखें मैले।’
उनले भनिन्, ‘क्यामेरा म्यान?’
यति सुनेपछि उनी मादक मुस्कानसहित अघितिर ढल्किइन् । संगै रहेका उनका साथिहरु पनि टेबलतिर मुन्टो निहुँराउँदै मुस्काउँदै थिए ...।
क्यामेरा थमाएर उनी आफू बसेको टेबलतिर लागिन् । उनी अलि परे पुगेपछि फेरि मैले क्यामेरा अन गरेँ । उनले खिचिदिएको सबै फोटो हेरें । फोटोको लुक्स र एङ्गल राम्रो थियो । एकैछिन फोटो हेरिरहेँ । निकै राम्रो लाग्यो । ‘यो फोटोमा उनको पनि अनुहार मिसिएको भए...,’ मनमनै सोचें।
फोटो खिच्दा पनि मैले उनको अनुहार लियालेको थिएँ । फोटोमा उनको अनुहारमा हेरेजस्तो पोज पनि आएको थियो।
क्यामेराको स्क्रीनमै फोटो हेरेर हामी त्यहाँबाट छुट्यौ । ‘पहिलोपल्ट यति राम्रो फोटो खिचिदिने ती अन्जान को होलिन् ?,’ अफिसतर्फ आउँदै गर्दा झल्यास्स याद गरेँ।
उनले खिचेकोे फोटो हेरेपछि प्रश्न उब्जिन थाले,’ ‘उसँग म किन बोलिनँ, उसको बारेमा किन सोधिनँ अनि उसलाई पनि फोटो खिच्दिम भनेर किन रिक्वेस्ट गरिनँ?’
यदी त्यतिबेला उनको नाम सोध्न नछुटाएको भए कतै न कतै भेट्थेँ होला । अफिसतिर लाग्दैगर्दा मनले यस्तै भनिरहेको थियो।
मेरो प्रायः खाजा खान जाने ठाउँ त्यही क्यान्टिन थियो । भोलीपल्ट पनि त्यहाँ गएँ । रुफटप मूनी खाजा खानेहरुको भिड थियो । ती फोटो खिचिदिने युवती यहीँ भिडमा छन् कि ? यताउता नियालेँ । कतै देखिनँ । खाजा खाएर म सरासर फर्किएँ।
कैयौंपल्ट त्यहाँ पुग्दा ती युवतीलाई दो-याएर देख्न पाएको छैन । ‘एउटा फोटो खिचेको बहानामा किन यतिधेरै याद आएको होला,’ मनमनै सोच्छु । फोटो हाम्रो खिच्ने भएपनी त्यतिबेला उनी निकै लजाएकी थिइन्, मानौ हामीले उनलाई नै फोटो खिच्न आग्रह गरेका छौं जसरी।
०००
उनले खिचिदिएको त्यो फोटो हेर्दा उनको तस्बिर आखाँभरी घुमिरहन्छ । एकदिन उनैले खिचिदिएको त्यो फोटो मैले फेसबुकको प्रोफाइल पिक्चर राखेँ । त्यसमा धेरै लाइक र कमेन्ट बर्सिन थाल्यो । साथिहरू कमेन्ट गर्थे, ‘यति राम्रो फोटो खिचिदिने मान्छे कोहोला?’
मैले जवाफ दिन्थे, ‘राम्रो मान्छेको फोटो पनि त राम्रै आउँछ नि!’
मैले यस्तै भन्दै उनीहरुलाई टार्थे । यदी एङगल नमिलकोे भए फोटो कसरी राम्रो आउथ्यो होला?
त्यो फोटो हेर्दा उनको याद आउँछ । उनी त्यहाँ आउछिन भन्ने आसमा कैयौंपटक म क्यान्टिनमा पुगेको छु । अह ! उनलाई त्यहाँ दोहो-याएर भटेको छैन । एकदिन खाजा खाने क्रममा साउजीलाई सोधेँ, ‘साउजी रातो ज्याकेट कहाँ गयो आजकाल?’
साउजी ट्वाँ परे।
‘त्यहीँ के खाजा खान आउने रातो ज्याकेट,’ साउजी मुसुक्क हाँसे । कुरा बुझेजस्तो गरे । तर, केही बोलेनन्।
‘खाजा खान आउने रातो ज्याकेट कहाँ गयो आजकाल ?’ मैले दोहो-याएर सोधेँ।
‘कुन रातो ज्याकेट?’
साउजीले कुरो अझै बुझेका रहेनछन्।
‘रातो ज्याकेट लाएकी युवती के!’
‘अहँ ! कुन युवती मलाई थाहा छैन, तपाइहरुले जिस्काउने भएर होला मेरा ग्राहकै घटे,’ साउजीले ठट्याउली पारामा जवाफ फर्काए।
एकदिन फेसबुकमा नयाँ फ्रेन्ड रिक्वेस्ट आयो । त्यो रिक्वेस्टको नाम थियो, आयुष्मा । प्रोफाइलमा गएर हेरेँ । फोटो हेर्दा कतै देखेजस्तो लाग्यो।
एकैछिन सोचेँ, ‘अम् ! यो त त्यही क्यान्टिनमा फोटो खिचिदिने युवती जस्तै पो छ त।’
फोटो राम्ररी हेरेँ।
साझ घरमा गएर म्यासेज गरेँ, ‘हेल्लो!’
उताबाट रिप्लाई आयो, ‘हाइँ, हाउ आर यु?’
‘आइएम ओके । वाट अबाउट यु ?,’ मैले सोधेँ।
जवाफ आयो, ‘म पनि आरामै छु भन्नुपर्छ।’
‘कुराकानी त भयो तर तपाईलाई चिन्न अलि मुस्किल प-यो ।’ मैले यसो भनेपछि उनले एउटा फोटो पठाइन् । त्यो फोटो मेरो थियो।
‘कहाँबाट पाउनुभयो यो फोटो ?,’ मैले सोधेँ।
‘तपाईकै फेसबुकबाट तानेको नि!’
‘अनि किन पठाको त?’
‘तपाईलाई थाहा छ यो फोटो कस्ले खिचिदिएको ?,’ युवतीको जवाफले मैले एकैछिन सोचमग्न भएँ । क्यान्टिनमा फोटो खिचिदिने तीनै युवती हुन् भनेर आफूलाई पक्कापक्की गरेँ।
‘अनि मलाई रिक्वेस्ट कसरी पठाउनु भयो ? मेरो नाम कसरी थाहा भयो ?,’ मैले प्रतिप्रश्न गरेँ।
जवाफ आयो, ‘क्यान्टिनमा सोधेको नि?’
‘कसलाई सोधेको?’
‘साउजीलाई सोधेको।’
‘हैन, साउजीलाई के भनेर सोधेको ?,’ मैले सोधेँ।
उनले भनिन, ‘चारजना मध्ये छिर्केमिर्के कलरका ज्याकेट लाउनेको नाम के हो भनेर सोधेँ । साहुजीले समिर भने, अनि मैले रिक्वेस्ट पठाएँ।’
त्यो दिन मैले छिर्केमिर्के कलरको ज्याकेट लगाएको थिएँ । उनले सबै याद गरेकी रहिछन् । त्यहाँबाट बल्ल हाम्रो फेसबुकमा कुरा जम्न थाले । च्याटमा घन्टौं बस्न थाल्यौं । हरेकदिन संवादको चलिरहन्थ्यो । एकदिन उनको बारेमा मैले सबै सोधेँ । उनको घर बुटबल रहेछ । उनी काठमाडौंमा सानोमामुकोमा बसेर पढ्दै रहिछन् । भर्खर विविए सकाएर एनजीओमा थालेकी । मैले उनको बारेमा सोधेपछि दुईतर्फी कुराकानी झन् झन् लम्बियो । करिब एक महिना म्यासेन्जरमा यस्तैखाले कुरा हुन थाले । हाम्रो जात मिल्थ्यो, पढाई र उमेर पनि मिल्दो थियो । पारिवारीक पृष्ठभूमी पनि उस्तै थियो । एकदिन मैले आयुष्मालाई प्रपोज गरिदिएँ । त्यो दिन मेरो बर्थडे थियो फागुन १२ । उनले मेरो प्रेमलाई सहजै स्वीकरिन् । किनकी हाम्रो धेरै कुराकानी भइसकेको थियो । मात्रै प्रपोज गर्न बाँकी थियो । कुराकानीकै क्रममा एकदिन विवाहको प्रसंग चलायौं । म उनीप्रति जति नै आर्कषित थिएँ, उनी पनि मप्रति त्यति नै आर्कषित थिइन् । २ बर्षपछि विवाह गर्ने भन्ने निर्णय ग-यौँ।
०००
दुई बर्षसम्म सम्बन्धलाई सन्तुलन राख्नको लागि हामी बेलाबेलामा भेटिरहन्थ्यौं । त्यहीँ वखतमा सुखदुःख साट्थ्यौं । कहिलेकाहीँ झगडा नि पथ्र्यो । तर, क्षणभरमै मिल्थ्यो । मेरो गल्तीले उनी रिसाएकी छन् भने मैले फकाउथेँ, उनको गल्ती भए उनी फकाउँथिन् । यसै गरेर हाम्रो प्रेम सम्बन्धको दुई बर्ष सकिन आटेको थियो । विवाहको लागि तोकेको समय नजिकियो । प्रेम गरेको दुई बर्ष भएपनि हाम्रो प्रेमबारे परिवारलाई थाहा थिएन । हामीले परिवारलाई भन्न सकेका थिएनौं । हाम्रो सल्लाह थियो, विवाहको समय नजिकिएपछि भनौला । मंसिर आउन करिब एक हप्ता बाँकी थियो । एकदिन भेटेर गम्भीर कुरा ग-यौं।
‘विवाह कसरी गर्ने ?,’ मैले सोधेँ।
‘मत मागेरै गर्ने हो, घरकालाई मनाउन सक्छौं भने आजै पनि जान रेडि छु।’
‘आजै त लग्नलाई त लगन हुनुप-यो नि ?,’ उनको जवाफमा मैले ठट्टा गरेँ।
‘ह्याँ ठट्टा नगर न ?’ उनी बोलिन्।
त्यसो भए विहेको कुरा अघि बढाउँ न,’ मैले भने।
यस्तै यस्तै कुरा गर्दै दिनभरी बितायौं । त्यसदिन हामीबीच धेरै कुराकानी भयो । कुराकानी गर्दैगर्दा मैले मोबाइलमा क्यालेण्डर एप खोलेँ । विहेकोे लगन मंसीर ६ गते रहेछ।
‘त्यसो भए ६ गते नै विहे हुनेरी तयारी थालौं, परिवारको सल्लाह लिएर विहे गर्नुपर्छ,’ आयुष्माले भनिन् । त्यसमा म सहमत भएँ।
०००
आयुष्मा धर्मकर्ममा त्यति चासो दिँदैनथी । उसलाई धार्मिक कुरा पटक्कै विश्वासै लाग्दैन्थ्यो । एकदिन मैले उसलाई हात र चिना हेराउन जाने प्रस्ताव राखेँ । सुरुमा उसले मेरो कुरा मानिन । तर, विहेको बेला चिना र गह्रदशा नहेराइ बिहे गर्नु हुन्न भन्ने कुरा मैले बुझाएँ । हुन पनि ज्योतिषीय पक्ष मिल्यो भनेमात्रै विवाह हुने परम्परा छ हाम्रो समाजमा । त्यसैले त मेले आयुष्मालाई ज्योतिषकामा जाउँ भनेर जोड गरेको थिए । उसलाई मनाउँदा मनाउँदा करिब एक घन्टा बित्यो । अन्ततः उसले मेरो कुरा मानि।
त्यो दिन मंसीरको २ गते थियो । सवेरै उठेर हामी ज्योतिषकोमा गयौं । यहाँ पुग्नेबित्तिकै ज्योतिषले नाम, थर र घर सोधे । हामीले सरासर सत्य कुरा बतायौं । उनले चिना र पात्रो पल्टाउँदै थिए । हामी ज्योतिषको जवाफ सुन्न हत्तार थियौं । ज्योतिषले करिब १० मिनेटपछि हाम्रो बारेमा फटाफट बताउन थाले । ‘तपाईहरुकोे त गोत्र मिल्दो रहेछ, कसरी विवाह आट्नुभयो?’
ज्योतिषकोे मुखबाट पहिलो जवाफ निस्कियो । गोत्र मिल्छ भन्ने कुरा हामीलाई हेक्का थिएन । सुन्नेबित्तिकै छागोबाट खसेजस्तै भए म । तर, आयुष्मालाई थाहा थिएन, गोत्र मिल्दा विहे गर्न हुन्न भनेर।
‘के गोत्र मिल्दैमा विवाह गर्न हुन्न हो ?,’ उनले ज्योतिषलाई सोधिन्।
‘अह ! हुँदैन।’
ज्योतिषको कुराले अब उनलाई पनि छोयो । ज्योतिषले हुन्न भनेपनि हामीले त्यसमा प्रतिप्रश्न गरेनौं । भेटी दिएर त्यहाँबाट सरासर फर्कियौं।
त्यसो त आयुष्माका बुबा पनि ज्यातिष नै थिएँ । तर, उसले आफ्नो ग्रहदशा र विहेको कुरा बुबालाई देखाउन मानिनन् । देखाउने आधार पनि त थिएन । यदी उसले हाम्रो प्रेम सम्बन्धबारे घरका सुनाएकी भए सायद हाम्रो सम्बन्ध यहाँसम्म आउने नै थिएन । त्यसैले त हाम्रो पे्रम गोप्य थियो आजसम्म।
‘के मलाई यतिमै छाड्छौं, एउटा गोत्र नमिल्दैमा हाम्रो बसौंदेखिको प्रेम टुगिन्छ ?,’ बाटोमा फर्कदैगर्दा आयुष्माले मलाई सोधिन् । उनको प्रश्नले मलाई घोचिरहेको थियो, तर जवाफ म सँग थिएन।
अब यही विषयमा अड्किएर हुँदैन । बरु अरु ज्योतिषसँग पनि सल्लाह लिनुपर्छ । भनेर हामी त्यो दिन छुट्यौ । बेलुकी घर पुगेपछि मैले माथिल्लो घरको अङकललाई सोधेँ । अङकलले पनि मिल्ने गोत्रभित्र विहे गर्नुहुन्न भन्नुभयो । उता आयुष्माले पनि घर नजिकका कोहीलाई सोधेकी रहिछन् । सबैले एउटै गोत्रभित्र विहे गर्न हुन्न भन्ने जवाफ दिए । उनले पनि अब धार्मिक र ज्योतिषको कुरालाई मान्न थालिन् । अन्नतः उनको र मेरो सम्बन्ध त्यहीबाटै टुंगियो । सामाजिक मूल्य मान्यताले मानिसको सम्बन्धमा के असर पार्छ भन्ने पाठ त्यहाँबाट राम्ररी सिक्ने अवसर मिल्यो।
प्रकाशित: १७ कार्तिक २०७५ ०४:५९ शनिबार