८ वैशाख २०८१ शनिबार
अन्य

विद्वान्, दार्शनिक र कवि

धेरै वर्षपहिले कुनै लेखमा पढेको थिएँ– दार्शनिक र कविहरू अद्र्धपागलजस्तै हुन्छन् । यो कुरा कुन किताब वा पत्रिकामा पढेँ र कसले लेखेको हो भन्ने सम्झना भने अहिले छैन । कविता पढ्न र सिर्जना गर्न निकै रमाउने र उत्साहित हुने व्यक्ति भएकाले पनि होला, पढ्नेबित्तिकै यस वाक्यले गम्भीर बनाएको थियो मलाई । के म पनि अद्र्धपागल हुँ वा हुँदै छु ? मेरो मनमा यस्तो प्रश्न उत्पन्न भएको थियो त्यतिखेर । पछि जब केही दार्शनिक र कविहरूका स्वभावहरूबारे अध्ययन गरेँ, मलाई बिस्तारै–बिस्तारै यो भनाई समीचीन लाग्न थाल्यो । हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘पागल’ कविता गहिरिएर पढेपछि त यस भनाइमा झनै सत्यता पाएँ । कवि वा दार्शनिकहरू सामाजिक मान्यता र मर्यादाका आँखाले हेर्दा वास्तवमा अलिक फरक प्रकृतिका हुन्छन् नै । कविहरू मस्तिष्कले भन्दा ज्यादा हृदयले चल्छन् भने दार्शनिकहरू मस्तिष्कको खुकुलो नियन्त्रणमा हुन्छन् । लहडी र तरंगी भने दुवै हुन्छन्, भावुकताको प्रभाव दुवैमा अन्तर्निहित हुन्छ । दुवैले सामाजिक मान्यता र मर्यादाका जटिल खाले नियमको परिधिभित्र रहन असजिलो मान्छन् । दुवैले भाषाका माध्यमबाट समुदाय, समाज, राष्ट्र र विश्वलाई केही न केही दिएका हुन्छन्।   

यस्तै खालको अर्को एउटा प्रसंग पनि छ । एकपटक कवि र कविताबारे चर्चा भइरहेको कक्षामा साहित्यमा रुचि राख्ने कुनै एकजना जिज्ञासु शिष्यले यस्तो प्रश्न गरे– गुरु, विद्वान्, दार्शनिक र कविमा के फरक छ ? यी तीनमध्ये सबैभन्दा उच्च तहमा कसलाई राख्न सकिन्छ ? यो प्रश्न आफैमा निकै गम्भीर थियो, गम्भीर मात्र नभएर निकै पेचिलो र जटिल पनि थियो । गुरु भई टोपलेको नाताले मैले ती शिष्यको जिज्ञासु मनलाई जसरी पनि सन्तुष्ट पार्नुपर्ने थियो । नत्र गुरु हुनुको के अर्थ ? म यसको समाधान खोज्न बाहिर जान खोजिनँ । बरु तुरुन्त आफैभित्र पसेँ र निकै गहिरिएँ, घोत्लिएँ । तत्काल उत्तर दिने मनसाय भएकाले किताबी ज्ञानको सहारा लिन वा ग्रन्थहरूको अध्ययन–मनन गर्न समय थिएन, त्यतातिर प्रवेश गर्न मन पनि उत्प्रेरित भएन । किनभने म त गुरु हुँ निभन्ने गर्वानुभूतिले मैले जिज्ञासु शिष्यलाई प्रश्न गरिएको कक्षमा नै तत्काल उत्तर दिनु उपयुक्त हुन्छ भन्ने लाग्यो । यसका लागि आफ्नै चिन्तनको चौतारीमा बसेर आफूले प्राप्त गरेको ज्ञान, तर्क र तथ्यका आधारमा सत्यको सीमासम्म पुग्ने साहससहित बोल्न सुरु गरेँ । तिनै प्रश्न गर्ने शिष्य र उनका साथीहरूलाई चित्त बुझाउन भनिएका कुराहरूलाई लिपिबद्ध गर्नु उचित हुन्छ भन्ने लागेको थियो र अवसर खोजिरहेको थिएँ । अहिले यो सानो आलेख यही पृष्ठभूमिको गर्भबाट तयार भएको हो।

विद्वान् शब्द संस्कृतको विद् धातुसँग सम्बन्धित शब्द हो । नेपाली शब्दकोशमा सत्सम शब्दका रूपमा रहेको यस शब्दको विद् धातुले जान्नु वा जान्ने भन्ने अर्थ द्योतन गर्छ । हामीले प्रयोग गर्ने धर्मविद्, संस्कृतिविद्, कृषिविद्, शिक्षाविद्, अर्थविद्, भूगर्भविद्, दर्शनविद्, ज्योतिर्विद्, वेदविद्जस्ता शब्दहरूबाट पनि यो पुष्टि हुन्छ । यही विद् धातु र घञ् प्रत्ययबाट वेद शब्द बनेको हो । वेद शब्दले हिन्दूहरूका मूल धर्मग्रन्थ ऋग्वेद, अथर्ववेद, सामवेद र यजुर्वेदलाई बुझाउँछ भने ज्ञानको संग्रहलाई पनि बुझाउँछ । विद् धातुमा वान् प्रत्यय योग भएर विद्वान् शब्दको व्युत्पत्ति भएको हो । विद्वान् त्यस्ता व्यक्तिलाई भनिन्छ, जसले कुनै एउटा सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेका छन् वा विविध विषयमा पर्याप्त ज्ञान आर्जन गरेका छन् । विद्वान्हरूको मस्तिष्कलाई ज्ञानको भण्डार मानिन्छ । विद्वान्ले आर्जन गरेको ज्ञान मूलतःगहन अध्ययन र अनुसन्धानबाट प्राप्त भएको हुन्छ । विद्वान्हरू सतत ज्ञानरूपी सागरको गहिराइमा डुबिरहेका हुन्छन्, ज्ञानकै शिखरको उचाइमा उक्लिरहेका हुन्छन् । उनीहरूभित्र ज्ञानको भोक तीव्र हुन्छ, आजीवन अतृप्तजस्तो । विद्वान्हरूले प्राप्त गरेको ज्ञानबाट नै नवपुस्ता लाभान्वित हुन्छ । वस्तुतः सामान्यरूपमा प्राप्त भएको शिक्षाले मात्र कुनै व्यक्तिले विद्वान् बन्ने हैसियत राख्न सक्दैन। 

दार्शनिक शब्दले दर्शनसँग सम्बद्धता बुझाउँछ । यो पनि संस्कृत स्रोतको शब्द हो । दृश् धातुमा अन प्रत्यय लागेर दर्शन शब्द बनेको हो भने दर्शनमा इक प्रत्यय योग भएर दार्शनिक शब्दको व्युत्पत्ति भएको हो । दृश् धातुले देख्नु भन्ने अर्थ द्योतन गर्छ । द्रष्टा, दर्शकजस्ता शब्द पनि दृश् धातुबाट नै बनेका हुन् । संस्कृतमा दर्शन शब्दलाई यसरी अथ्र्याइएको छ– ‘दृश्यते अनेन यत् तत् दर्शनम्’ । यसको अर्थ हो, जसबाट देख्न सकिन्छ अर्थात् जुन कुराले देखाउँछ त्यो नै दर्शन हो । मानिसका तर्क, धारणा, विचार र चिन्तनको समुच्चय नै दर्शन हो । साङ्ख्य दर्शन, योग दर्शन, अध्यात्म दर्शन, भौतिक दर्शन, पाश्चात्य दर्शन, पूर्वीय दर्शन, षड् दर्शन, सर्व दर्शन आदिबाट शास्त्रमा व्याख्या त कुनै विशेष नियम वा सिद्धान्त नै दर्शन हो भन्ने स्पष्ट हुन्छ । दर्शनको अध्ययन गर्दैमा कोही दार्शनिक बन्दैन । यस्तो व्यक्ति दर्शनविद् वा दर्शनको ज्ञाता वा विद्वान् भने अवश्य हुन्छ । विशेषतः आफ्नो गहनतम अध्ययन, शोध तथा अनुसन्धानका अतिरिक्त नवीन चिन्तन मननका आधारमा जीवन र जगत्लाई मार्ग देखाउन सक्षम महान व्यक्तिहरू नै दार्शनिक कहलिन्छन् । अर्को किसिमले भन्दा कुनै नवीन दर्शनका प्रणेतालाई दार्शनिक भनिन्छ । दार्शनिकहरूको मस्तिष्क अध्ययन र चिन्तन–मननले खारिएको हुन्छ । उनीहरू विद्वान्हरूभन्दा एक तहमाथि हुन्छन् । दार्शनिकका चिन्तनमूलक ज्ञानका कुरा विद्वान्हरूका लागि बौद्धिक खुराक बन्छन्।

कवि त्यस्तो प्रतिभाशील व्यक्ति हो,जसले कविताको, साहित्यको सिर्जना गर्छ । अर्थात् कविताका स्रष्टालाई कवि भनिन्छ । कविमा निहित प्रतिभा आन्तरिक क्षमता हो । कवित्व शक्तिका लागि विद्वताको खासै आवश्यकता पर्दैन । अतःकवि विद्वान् नै हुन्छ वा हो भन्ने धारणा सत्य होइन । तर,कविहरूमा विद्वता हुन पनि सक्छ, अर्थात् विद्वान्हरूले पनि अध्ययन र अभ्यासका माध्यमबाट कवि बन्ने हैसियत राख्न सक्छन् । भनिन्छ, दार्शनिकहरू भने असफल कवि हुन् । रुचि र प्रयास भए उनीहरू पनि कवि बन्न सक्छन् । प्रतिभाका धनी व्यक्तिहरू सहजै कवि बन्न सक्छन् । तर, तिनका लागि उचित वातावरण भने चाहिन्छ । अन्यथा तिनीहरूभित्रको कवित्व प्रयोगमा नआएको उर्वर जमिनजस्तै हुन्छ । कसैकसैको प्रातिभिक क्षमता अपेक्षानुकूलको नहुन पनि सक्छ । रुचि भएकाहरूभित्रको कवित्व अध्ययन र अभ्यास वा निरन्तर साधनाको माध्यमबाट पनि उजागर हुन्छ । कविहरू विद्वान्भन्दा धेरै माथि हुन्छन् । अनि दार्शनिकभन्दा पनि माथि हुन्छन् । विद्वान् र दार्शनिकहरूले कविका रचनाहरूबाट प्रशस्त ज्ञानमय ऊर्जा प्राप्त गरेका हुन्छन् । कविको कल्पना विचित्रको हुन्छ । त्यसैले त हिन्दीमा एउटा प्रसिद्ध उक्ति छ– जहाँ न पहुँचे रवि, वहाँ पहुँचे कवि । यस भनाइमा कविको खुबीको अत्युच्च मूल्यांकन छ । संस्कृतका शब्दकोशहरूमा कविको अर्थका रूपमा ‘सर्वज्ञ’, ‘सर्वद्रष्टा’, ‘प्रतिभावान्’, ‘विचारवान्’ समेत भनिएको छ । यति मात्र होइन, ‘अपारे काव्य संसारे कविरेव प्रजापति, कविर्मनीषीः परिभूः स्वयम्भूः’ तथा ‘नकवेः वर्णने मिथ्याकविः सृष्टिकरः परः’ जस्ता उक्तिहरूले कविलाई प्रजापति र स्वयम्भू मात्र होइन, अपितु ‘सृष्टिकरः परः’अर्थात् ब्रह्माभन्दा पनि माथिको घोषित गरेका छन्।

वास्तवमा विद्वान्हरूलाई शास्त्रज्ञान र दार्शनिकहरूलाई नवीन चिन्तनले चिनाएका र उठाएका हुन्छन् भने कविहरूलाई अनुभूति, भावना, विचार, संवेदना र कल्पनाले उनीहरूलाई भन्दानिकै माथि पु¥याएका हुन्छन् । विद्वता र चिन्तनमूलतःमस्तिष्कसँग सम्बन्धित कुरा हुन् भने कवित्वको सम्बन्ध हृदयसँग ज्यादा हुन्छ । अध्ययन र ग्रहणशीलता विद्वान्हरूको प्रमुख गुण हो भने अध्ययनका साथै नवीन दृष्टिकोण सहितको चिन्तन दार्शनिकहरूको विशेषता हो । कविहरूको मन ज्यादात र संवेदनशीलताबाट उद्वेलित हुन्छ । उनीहरूको अनुभूतिको सौन्दर्य भावनात्मक र कल्पनात्मक रूपमा अभिव्यञ्जित हुन्छ । यस्तो अभिव्यञ्जना सामान्य साहित्यका उपभोक्ताहरूका लागि मात्र होइन, विद्वान् र दार्शनिक दुवै पक्षका लागि समेत उत्तिकै पठनीय, मननीय र अनुसन्धेय समेत हुन्छ । कविका रचनालाई भाषिककलाका दृष्टिले मात्र हेरेर पुग्दैन, तिनमा विद्वता र दर्शन समेत लुकेको हुन्छ । अझ यसो भनूँ, कविका कवितामा ज्ञान पनि हुन्छ, सन्देश पनि हुन्छ र दर्शन पनि हुन्छ । विद्या, ज्ञान वा दर्शनमा कलाको खासै अस्तित्व हुँदैन । तर, कलाबिनाको कविता बन्नै सक्दैन । कुनै पनि व्यक्तिगहन ज्ञानले विद्वान् बन्छ, गम्भीर नवचिन्तनले दार्शनिक बन्छ भने शाश्वत् अर्थात् खाँटी कवि यसरी सजिलै बन्न सक्दैन । कवि आफैमा एउटा कलाकार हो । ऊ लौकिक–अलौकिक जीवन र जगत्को सूक्ष्म द्रष्टा र त्यसको सौन्दर्यबोधक स्रष्टा हो । सौन्दर्यमूलक भाषामा बिम्ब, प्रतीक, ध्वनि, वक्रोक्ति, रस, अलंकार, रीति, गुण आदिका सहाराले कलात्मक रचना सिर्जना गर्ने क्षमताले गर्दा नै व्यक्ति कवि बन्छ । विद्वान्हरूमा ज्ञानको व्याख्या, विवेचना र तर्क गर्ने तथा निष्कर्षमा पुग्ने र निर्णय दिने क्षमता अन्तर्निहित हुन्छ । दार्शनिकहरूमा ज्ञान र चिन्तनको मन्थनबाट नवीन दृष्टि दिने खुबी हुन्छ । कविहरूमा भने श्रुति, दृष्टि, अनुभूति र अनुभवबाट प्राप्त विषयहरूलाई कलात्मक र भावपूर्ण ढंगले अभिव्यक्त गर्ने शक्ति हुन्छ । विद्वान् र दार्शनिकहरू कविका रचनाबाट प्रभावित भएका हुन्छन् । कविहरूका रचनामा ज्ञान, विज्ञान र दर्शनको अध्ययनको प्रभावात्मक छाया भेटिन पनि सक्छ कच्चा पदार्थका रूपमा, नभेटिन पनि सक्छ । वस्तुतः कविका रचनाहरूमा विद्वान् र दार्शनिक दुवैलाई चाहिने सामग्री प्रत्यक्ष वा परोक्षरूपमा अन्तर्निहित हुन्छन् । निष्कर्षतः कविहरू दार्शनिकहरूभन्दा एक तह र विद्वान्हरूभन्दा दुई तहमाथि रहेका हुन्छन्।

प्रकाशित: १७ कार्तिक २०७५ ०४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App