१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

योगको मुहान खोज्दै पर्यटक

अमेरीका भर्जनियाकी एन्जिला क्रोनेस अहिले भक्तपुरको तेलकोटस्थित आश्रममा योगा सिक्दै छिन् । उनी एक बिहानै उठ्छिन र प्राणायाम गर्छिन् । मन्त्र उच्चारण गर्दै भजन गाउँछिन् । अनि हलमा भेला भएर गुरुले सिकाएका योगाका  विभिन्न आसन अभ्यास गर्छिन्।

त्यसो त उनी सात वर्ष अगाडि देखिनै आफ्नै देशमा योगाका विभिन्न आसन गर्दै आएकी हुन् । तर, यहाँ आएपछि भने निकै उता र यताकोमा निकै भिन्नता भेटिएको उनले सुनाइन् ।   आफ्नो र परिवारको स्वास्थ्यको लागि योगासन गर्दै आएकी उनी तीन सातादेखि नेपालमा आएर योग गुरु बन्ने सोचका साथ योगा सिक्न आएको सुनाइन्।

‘अमेरिकामा सिकेर गरेको योगा र नेपालमा आएर सिक्दै गरेको योगामा धेरै भिन्नता भेटाए,’ भक्तपुरको तेलकोटस्थित नेपाल योगा एकडेमीमा भेटिएकी एन्जिलाले भनिन्, ‘उता सतही रूपमा योगा गरिन्थ्यो, यहाँ योगाको मूल भेट्दै छु।’

‘अमेरिका र नेपालमा सिकेको योगामा धेरै भिन्नता भेटाए,’ भक्तपुरको तेलकोटस्थित नेपाल योगा एकडेमीमा योगा सिक्दै गरेकी एन्जिलाले भनिन्, ‘उता सतहीरूपमा योग गरिन्थ्यो, यहाँ योगको मुहानमा पुगिँदैछ।’

उनले भनेजस्तै योगाको गहिराई खोज्दै नेपाल आउने विदेशीको सख्ंया पछिल्लो समय बढ्दो छ । आफ्नै देशमा अभ्यास गर्दे आएका  उनीहरू ‘असली योगा’ सिक्न भन्दै  भारत र नेपाल आउन थालेका हुन्।

अस्ट्रियाबाट दोस्रो पटक नेपाल आएका मार्टिना नोभटनीले योग सिक्न सबैभन्दा उत्तम स्थान खोज्ने क्रममा नेपाल आइपुगेको सुनाइन् । पहिलो पटक नेपालको सुन्दरताबाट मोहित भएर घुम्न आएकी उनी दोस्रोपटक योग सिक्नै भनेर नेपाल आएको बताइन् । ‘प्राकृतिक सुन्दरता र आध्यात्मिक गहिराइको संयोजन नेपाल रहेछ,’ उनले भनिन्, ‘यहि  भूमिमा शारीरिक र मानसिक स्वास्थ्य सुधार्ने उपायमा लागेको छु।’

नेपाल आउनुअघि योगाको बारेमा संसारका विभिन्न ठाउँमा बुझेको उनले सुनाइन् । ‘बुझ्दै जाँदा योगाको असली ठाउँ भारत र नेपालजस्तो लाग्यो,’ उनले भनिन्, ‘भारतमा असुरक्षा देखिएकाले नेपाल आउन सहज ठाने ।’ मन्त्र उच्चारणसहित परम्परागत तरिकाबाट योग सिक्न पाउँदा मनमा खुसी छाएको उनले बताइन्।

‘कतिपय पर्यटक हिमाल चढ्न स्फूर्तिको लागि पनि योग गर्छन्,’ योग गुरु चिन्तामणिले  सुनाए, ‘हिमाल चढेपछि थकान मेट्न भन्दै पनि आउँछन् ।’

मार्टिनाले भनेजस्तै मनको शान्तिको लागि समेत योगा सिक्न नेपाल आउने क्रम बढेको योग गुरु डा. चिन्तामणि गौतम  सुनाउँछन् । भक्तपुरको तेलकोटमा रहेका नेपाल योगा एकडेमी र नेपाल योगा रिट्रिटमा विदेशीहरू आउने क्रम बढेको उनले  सुनाए । ‘वर्षमा दुई सय जति त शिक्षक बन्ने लक्ष्यका साथ आउने गर्छन्,’ उनले भने, ‘यसबाहेक योगामा केही दिन रमाएर मात्र फर्कने पनि थुप्रै छन्।’

योगालाई शारीरिकरूपमा मात्र लिने गरेका विदेशीले  मानसिक र आध्यात्मसँग पनि जोडेर योगा बुझ्न थालेको उनले सुनाए  । ‘यहाँ सिक्न आएका पर्यटक मन्त्र उच्चारण गर्दे योगा सिक्छन्,’ उनले भने, ‘दिक्षान्त समारोहमा योगासँगै हवन गरेर घर फर्कन्छन् ।’  योगा सिक्ने क्रममा उनीहरू शान्त र धैर्यवान भेटिएको उनले बताए।

नेदरल्याण्डकी मिलियम लुनाडीतले योगासन गर्न थालेको २० वर्ष भइसक्यो । उनले आफ्नै देशमा योगा सिकेर गर्न थाले पनि अन्ततः नेपाल आइपुगेको उनले बताइन् । इन्टरनेटको माध्यमबाट नेपाल बारेको  सुनेको बताउँदै उनले यहाँ आएपछि योगमा डुब्न पाएको सुनाए । ‘योगा गरेपछि मात्र होइन, गर्ने क्रममा पनि आनन्द आउन थालेको छ,’ उनले भनिन्।

अस्ट्रेलियाकी अमेन्डा पेरेन्ट पनि उनको कुरामा सहमत छिन्। ‘पहिला हामी यसलाई यो एक्सरसाइजको रूपमा मात्र लिन्थ्यौं,’ उनले भनिन्, ‘सिक्दै जादा यो मनको शान्तीको विषयमा पनि रहेछ ।’ योगाले आफ्नो सोच्ने शैलीमा समेत परिवर्तन ल्याएको उनले बताइन्।

अमेरिकाका ५६ वर्षीय स्कट पनि योगाबाट नयाँ स्फूर्ति आएको सुनाउँछन् । सरकारी सेवाबाट अवकास गरेका उनी योगा आफ्नो स्वास्थयको लागि मात्र होइन, समाजका अन्यका लागि पनि बाँड्ने सुनाए । ‘आफूले रमाएर गर्दा अरुलाई पनि ज्ञान हुदो रहेछ,’ उनले सुनाए।

क्यानडाबाट आएकी कैल्सी लायल पनि योगा सिक्न थालेपछि आफ्नो सोचमा परिवर्तन आएको सुनाउँछिन् । ‘योगा सिक्दै जादा जीवनबारे थुप्रै कुरा बुझ्न थालेको छु,’ उनले भनिन्, ‘जुन अहिलेसम्म मलाई थाहा थिएन।

योगामा पिएचडी समेत गरेका योग गुरु गौतम योगले पर्यटन अभिवृद्धिको लागि पनि राम्रो भूमिका खेल्न सक्ने बताउँछन् । उनले हिमाल चढ्नु अगाडि र हिमाले चढेपछि फ्रेस हुने भन्दै योगा गर्न आउने क्रम बढेकोसुनाए । ‘कतितय पर्यटक हिमाल चढ्न स्फूर्तिको लागि पनि योगा गर्ने गर्छन्,’ योग गुरु चिन्तामणिले सुनाए, ‘हिमाल चढेपछि थकान मेट्न भन्दै पनि आउँछन्।’

नेपालमा एक दर्जन जति व्यवस्थित योगा केन्द्र छन्, जसमा विदेशी तथा स्वदेशीले परम्पागत तरिकाबाट योगाका विभिन्न आसन सिक्ने गरेका छन्।  नेदरल्याण्डमा बसेर बिदामा नेपाल आएका प्रकाश तिमल्सिना विदेशमा योगाको क्रेज बढ्दै गएको सुनाउँछन् । केही वर्ष अझै विदेशमै काम गरेर नेपाल फर्कने उनको सोच छ । ‘फर्केपछि स्वदेशमै योगा सेन्टर खोल्ने सोच छ,’ उनले भने, ‘यसबाट आफ्नो स्वास्थ्य पनि राम्रो कमाई पनि राम्रो।’

प्रकाशित: १७ कार्तिक २०७५ ०२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App