coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

जुम्ला अस्पतालमा आईसीयू सेवा सुरु

जुम्ला - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आईसीयू सेवा शुरु भएको छ। आईसीयू सेवा शुरु भएसँगै जटिल प्रकारका विरामीको उपचार जुम्लामै हुने भएको हो। यो अस्पतालमा दक्ष जनशक्ति हुँदाहुँदै पनि आईसीयू सेवा नहुँदा विरामीलाई रेफर गर्नु पर्थ्याे, तर एक हप्ता देखि जुम्लामै भेण्टिलेटर सहितको आईसीयू सेवा शुरु भएपछि यहाँका विरामीलाई राहत मिलेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका रजिष्टार विश्वराज काफ्ले अत्याधुनिक ल्याव सहितको आईसीयू सेवा सञ्चालनमा ल्याईसकेकोले जटिल प्रकारका विरामीको सहजै रुपमा कर्णालीमै उपचार हुने बताए। 'आईसीयू सेवा नहुँदा जटिल प्रकारको विरामीको अप्रेशन भएपनि राख्न सकिने अवस्था थिएन, तर अहिले जस्तो सुकै प्रकारको विरामीको उपचार जुम्लामै हुन्छ' काफ्लेले भने 'पहिले यहाँका स्थानीयले जुम्ला अस्पतालमै उपचार हुन सक्ने विरामी दवाव र प्रभावका आधारमा रेफर गर्न लगाउथे, अब आईसीयू सेवा जुम्लामै सञ्चालन भएपछि दवाव र प्रभावन परिन्न, कम खर्चमै यहाँका विरामीलाई सक्दो उपचार सेवा प्रदान गरिन्छ।' 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक धर्मराज गोसाई आईसीयू सेवाले कर्णालीबासीको मुहारमा खुसी थपिएको बताउँछन। उनले भने,'यो सेवा नहुँदा जटिल प्रकारका विरामी राख्न समस्या थियो, अव सवै प्रकारका विरामी राख्न मिल्ने कक्ष नै तयार भईसकेकोले कुनै समस्या हुने छैन।' पछिल्लो एक हप्तामा जुम्ला अस्पतालमा झण्डै ८० देखि ९० नयाँ उपकरण भित्रिएका छन्। 

'पहिले ल्यावको सामान नहुँदा अधिकांस रोगको ल्याव टेस्ट गराउन नेपालगंज पठाईन्थ्यो, रिर्पोट प्राप्त गर्न हप्तौ लाग्थ्यो', रजिष्टार काफ्लेले भने, 'अब सवै काम यहि हुन्छ कसैलाई झन्झट हुँदैन।' कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुविधा सम्पन्न नेपालकै मोडल प्रतिष्ठानका रुपमा स्थापित गर्ने कार्यमा प्रतिष्ठान पदाधिकारी लागि परेको रजिष्टार काफ्लेको दाबी छ। 

आईसीयूको सामान एक महिना अघि जुम्ला पुगिसकेको भएपनि विजुली वत्तिको अभाव र जडान गर्ने ईन्जीनियरको व्यस्तताका कारण सञ्चालनमा आउन सकेको थिएन। अहिले २४ सै घण्टा स्टाफ नर्स र विशेषज्ञ चिकित्सक खटाइएको छ। विरामीलाई अप्रेशन गर्दा अक्सिजनको अभाव हुने अवस्थालाई मध्येनजर गर्दै अक्सिजन प्लान्ट ल्याईएको छ। कार्तिक महिना भित्रै जडान गरेर प्लान्ट सञ्चालनमा ल्याईने छ। सिटि स्क्यान सेवा सञ्चालनको लागि मेसिन खरिद प्रक्रिया पुरा भईसकेकोले मंसिर महिना देखि यो सेवा थालिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जानकारी दिएको छ।

आईसीयू कक्षमा ३ वटा बेड राखिएको छ। प्रतिबेड २ हजार रुपैयाँ शुल्क लिईने गरिएको छ। अन्यत्र अस्पतालमा आईसीयू बेडकाे तीन हजार रुपैयाँ बढी शुल्क लाग्छ। यो अस्पतालको आफ्नै फार्मेसी भएकोले सहज भएको चिकित्सक बताउँछन। 

 

प्रकाशित: १६ कार्तिक २०७५ १२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App