७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश मन्त्री केशव स्थापित पदमुक्त

मकवानपुर– तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई पदमुक्त गरेका छन्। मुख्यमन्त्री पौडेलले संविधानको धारा १६९ को उपधारा २ को खण्ड ख अनुसार शुक्रबार बर्खास्त गरेको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए। 

नियुक्त गरेको नौ महिनापछि मन्त्री पदबाट स्थापितलाई बर्खास्त गर्दै भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मवारी मुख्यमन्त्री पौडेल आफैंले लिएका छन्। स्थापितलाई पद मुक्त गरेको चिठ्ठी प्रदेश प्रमुखको कार्यालयमा शुक्रबारै बुझाईएको छ।

‘मुख्यमन्त्री ज्यूले संविधान अनुसार मन्त्री स्थापितलाई पदमुक्त गर्नुभएको हो’, स्वकीय सचिव पौडेलले भने, ‘मुख्यमन्त्रीको निर्देशन नटेर्ने र मन्त्रालयको बजेट सबैभन्दा बढि भएपनि प्रगति शून्य भएकाले बाध्य भएर बर्खास्त गर्नुभएको हो।’

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकमा मन्त्री स्थापित र मुख्यमन्त्रीबीच चर्को विवाद परेपछि बर्खास्त गरेरै छाड्ने मनस्थितीमा मुख्यमन्त्री पौडेल पुगेका थिए। बैठकको अन्तिममा स्थापितले स्पष्टिकरण दिदै मुख्यमन्त्रीप्रति अपशब्द प्रयोग गरेको आरोप छ। भौतिक विकासको जिम्मेवारी सम्हालेका मन्त्री स्थापित र मन्त्रालयको प्रगति सुस्त भएको र जिल्ला दौडाहा गरेको भन्दै मुख्यमन्त्रीले असन्तुष्टि जनाएपछि चर्काचर्की परेको थियो।

मुख्यमन्त्री पौडेलको निर्देशनलाई अटेर गरि आफ्नै सुरमा चल्दै आएका स्थापितले मन्त्रिपरिषद बैठकमै ‘अपमानित’ गरेपछि मुख्यमन्त्री पौडेल स्थापितसँग काम गर्न नसक्ने सोचमा पुगेका थिए। प्रदेशका एक मन्त्रीले मुख्यमन्त्री र स्थापितसँगै बैठक हलमा बस्ने अवस्था नभएपछि उनलाई हटाउन सुझाव दिएको बताए। उनका अनुसार स्थापितको काम र ब्यवहारबाट मन्त्रीहरु पनि असन्तुष्ट थिए।

मुख्यमन्त्री पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलसहित बिहीबार काठमाडौं पुगेका थिए। उनले बिहिबारै त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरी सुझाव लिएका थिए। प्रधानमन्त्री ओलीसँग मुख्यमन्त्री पौडेलले बिहीबार साँझ र शुक्रबार बिहान भेटेका थिए। ‘दुबै अध्यक्षबाट स्थापितलाई हटाउन सहमति पाएपछि स्थापितलाई मन्त्री पदबाट बर्खास्त गरेको हो,’ मुख्यमन्त्री सचिवालयका एक सदस्यले बताए। 

प्रदेश प्रमुख कार्यालयका सचिव शिवलाल तिवारीले मन्त्री स्थापितलाई बर्खास्त गरेको चिठ्ठी मुख्यमन्त्री कार्यालयबाट प्राप्त भएको बताए। मुख्यमन्त्री पौडेलले बर्खास्तीको निर्णय लिए लगत्तै मुख्यमन्त्री कार्यालयका कर्मचारीले प्रदेश राजधानी हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयमा बर्खास्तीको चिठ्ठी बुझाएका थिए। 

तीन नम्बर प्रदेशको चालु आर्थिक वर्षमा सबभन्दा बढी बजेट भएको मन्त्रालय भएपनि काम नगरेको आरोप मन्त्री स्थापित माथि छ। करिब १३ अर्ब रुपैयाँ बजेट खर्च गर्नुपर्ने भौतिक पूर्वाधार मन्त्रालय स्थापनाको नौ महिना बित्दा एउटा मात्र विधेयक बनाउन सफल भएको छ। मन्त्रालयलाई आवश्यक सात वटा कानूनमध्ये प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मात्र प्रदेशसभामा दर्ता गरेको छ। यता, बर्खास्तीमा पर्नु केही समय अघि प्रतिक्रिया दिँदै स्थापितले विवाद नभएको दाबी गर्दै आफुले गरेको कामको प्रतिफल चाँडै देखिने बताएका थिए। आइतबार चीन भ्रमणमा जाने तयारीमा रहेका उनले पार्टीको निर्णयलाई मान्ने बताएका थिए। पदमुक्त भएलगत्तै भने उनी सम्पर्कमा आएनन्।

स्थापितलाई मुख्यमन्त्री पौडेलले २०७४ माघ २९ गते भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरेका थिए। काठमाडौं ६(क) मा तत्कालिन नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित स्थापित २०५४ सालमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। उनी पूर्व राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पुनः मेयर मनोनित भएका थिए।

प्रकाशित: १६ कार्तिक २०७५ १०:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App