७ वैशाख २०८१ शुक्रबार
समाज

फोन गर्न रुख र डाँडा चढन बाध्य जुनीचाँदेका जनता

जुनीचाँदे गाउँपालिका ४ लुहादहका स्थानीयहरु रुखमा चढेर फोन गर्दै। तस्बिरः जनक/नागरिक

जाजरकोट – जुनीचाँदे ४ लुहादहका केशबबहादुर खड्कालाई कसैले फोन गर्यो कि चिन्ताले सताउन थाल्छ। आफूले फोन गर्नुपर्यो या कसैको फोन आयो भने उनी कि रुखमा चढ्नु पर्ने कि अग्लो डाँडा खोज्दै हिड्नु पर्ने भएपछि उनलाई फोन आउँदा चिन्ता लाग्ने  गरेको हो।

फोनको टावर गतिलो नटिपेर कुरा नबुझिने भएपछि खड्का फोनको टावर टिपाउँन रुख र डाँडाको खोजीमा जाने गर्छन्। रुखमा नचेढे या अग्लो स्थानमा नगएसम्म फोनमा कुरा गर्न पाइँदैन, खड्काले भने। गाउँमा भएको स्काइ फोनको टावर बिग्रेर सेवा गतिलो नहुँदा आफूहरू फोन गर्दा रुख र डाँडाको खोजीमा हिँड्ने गरेको खड्काको  भनाइ छ। 

यस्तै सोहि गाउँपालिकाको वडा नम्बर ११ की कमला शाहीको समस्या पनि  त्यहि छ। फोन आयो भने घरमा बसेर कुरा गर्न पाइँदैन। टावर टिप्ने ठाउँको खोजीमा जानु पर्छ नागरिकसँग कमलाले भनिन्। फोन आयो भने गाउँमा अग्लो स्थानतिर कि रुखको टुप्पोमा गएर कुरा गर्नुपर्छ नत्र कुरा केही बुझिदैन, कमलाले भनिन्। 

केशब र कमलाको मात्र होइन जुनीचाँदे गाउँपालिकामा फोन प्रयोग गर्ने सबै सर्वसाधारणको समस्या हो यो। नेपाल टेलिकमको स्काइ सेवा मात्र केही सिमित स्थानमा भएको जुनीचाँदेका २५ हजार  जनताले संचारको असुविधाका कारण ठूलो सास्ती बेहोर्नुपरेको स्थानीय बलबहादुर खड्काले बताए। उनले जुनीचाँदे २ मजकोटमा रहेको नेपाल टेलिकमको टावरले काम नगर्दा फोन गर्न रुख र डाँडाको खोजी गर्नुपरेको बताए। पावर अभाव र टेलिकमका कर्मचारीहरूको लापरवाहिका कारण जुनीचाँदेका जनताले टेलिफोनको गतिलो सुविधा पाउन नसेकेको बताए। पुरै गाउँपालिका भरी स्काइ फोनको मात्र पहुँच भएको भनिएपनि  सेवा भरपर्दाे नभएको स्थानीयको गुनासो छ।

टेलिकमले गाउँपालिकाको वडा नम्वर ५ गर्खाकोट र अन्य स्थानमा नमस्ते मोवाइलको टावर सर्वे गरेको २–३ वर्ष वितेपनि अहिलेसम्म कामको कुनै सुरसार नभएको स्थानीय गोपालबहादुर गिरीले बताए। उनले  गाँउको पीडा बोलिदिने नेता र पहुँच भएको मान्छे नभएका कारण आफूहरूले संचारको असुविधाले सारै पीडित भएको बताए।

गाउँपालिकाका विभिन्न स्थानमा रहेको स्काइ फोनको टावर निर्माण तथा मर्मत सुधारका लागि सरोकारवाला निकायमा वारम्बार ताकेता गरेपनि सुनुवाइ नभएको गाउँपालिकाका अध्यक्ष कृष्णवहादुर केसीले बताए। उनले  आफूहरूले लिखित र मौखिक रुपमा धेरै पटक नेपाल टेलिकम र अन्य निकायमा आग्रह गरेको तर सुनुवाइ नभएको बताए। गाउँ कार्यपालिकाको बैठकले पनि निर्णय गरेर सम्बन्धित निकायमा फोन सेवाको सुधार र विस्तारको लागि आग्रह गरिएको तर सुनुवाइ नभएको अध्यक्ष केसीले बताए।

उता नेपाल टेलिकमको जाजरकोट कार्यालयका निमित्त प्रमुख लोकेन्द्र भण्डारी जुनीचाँदेको फोन सेवा पावर अभावमा गुणस्तरहिन भएको र टावर संचालनका सोलार व्याट्री फेर्न टेलिकमको क्षेत्रिय कार्यालय नेपालगन्जमा बारम्बार पत्राचार गरेपनि सुनुवाइ नभएको बताए। उनले मजकोट लगायतका टावरहरूमा पाँच वर्ष पुराना सोलरका व्याट्रीहरू रहेको र ती व्याट्रीहरू काम नलाग्ने जस्तै भइसकेको बताए। उनले गर्खाकोट लगायतका स्थानमा बन्ने नमस्ते मोवाइलका टावरहरू यस आर्थिक वर्षमा निर्माण सुरु गर्न सम्झौता भइसकेको बताए।  

प्रकाशित: १६ कार्तिक २०७५ ०८:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App