७ वैशाख २०८१ शुक्रबार
खेल

दिपेन्द्र र ट्रिगोको उत्कृष्ट प्रदर्शनमा धनगढीद्वारा पोखरा २ विकेटले पराजित

जितपछि धनगढी ब्लुजका खेलाडी । तस्बिरः उमेश पुन/नागरिक

काठमाडौं – पोखरा पल्टनलाई रोमाञ्चक खेलमा २ विकेटले पराजित गर्दै धनगढी ब्लुजले पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)  क्रिकेटमा प्लेअफ सम्भावना बलियो बनाएको छ। धनगढीको जितमा कप्तान दिपेन्द्रसिंह ऐरी नायक बने।

लगातार विकेट गुमाइरहेको धनगढीको स्कोर दिपेन्द्रले उकास्तै टोलीलाई महत्वपूर्ण जित दिलाए। दिपेन्द्रले ४९ रनको नटआउट पारी खेले। उनले २६ बल खेल्दै ४ चौंका र ४ छक्का प्रहार गरे। १६.३ ओभरमा आठौं विकेट गुमाउँदै दबाबमा परेको धनगढीका लागि त्यसपछि ब्याटिङ गर्न आएका रोबिन क्षेत्रीले दिपेन्द्रलाई साथ दिएका थिए। रोबिन ४ बलमा ० रनमा अविजित रहे।

अन्तिम ओभरमा धनगढीलाई जितका लागि १४ रन आवश्यक थियो र क्रिजमा थिए दिपेन्द्रसिंह ऐरी। २० ओभरको पहिलो बलमा पोखराका बलर मेहेबुब आलमले वाइट बल फालेपछि धनगढीलाई ६ बलमा १३ रन चाहियो। दिपेन्द्रले १९.१ ओभरको पहिलो बलमा छक्का, दोस्रो बलमा दुई, तेस्रो बल डट र चौंथो र पाँचौं बलमा चौंका प्रहार गर्दै १ बलअघि टोलीलाई २ विकेटको जित दिलाए। यो खेल हारेको भए धनगढीले अघिल्लो चरणको यात्रा बनाउन अन्य टोलीको खेलमा निर्भर पर्नुपथ्र्यो।

जितसँगै धनगढी ५ खेलबाट ३ मा जित र २ मा हार ब्यहोर्दै ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।  हारसँगै पोखराको प्ले अफमा पुग्ने लक्ष्य केही कमजोर बनेको छ। अब पोखराले शनिबार काठमाडौं रोयल्ससँगको खेलपछि मात्र आफ्नो प्लेअफ सम्भावनाबारे टुंगो पाउनेछ। पोखरा रंगशालामा घरेलु टोलीले प्रस्तुत गरेको १४५ रनको विजयी लक्ष्य धनगढी ब्लुजले १९.५ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो।

धनगढीको जितमा अर्का ब्याट्सम्यान पिटर ट्रिगोले सर्वाधिक ५३ रनको उत्कृष्ट पारी खेले। ३४ बल खेलेका पिटरले ५ चौंका र ४ छक्का प्रहार गरे।  त्यस्तै सुभेन्दु पाण्डेले २२ रन बनाउनु बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो रन छुन सकेनन।

पोखराका लागि रासिद खानले ४ विकेट लिएपनि टोलीको हार टार्न सकेनन्। खानले ४ ओभर बलिङ गर्दै २४ रन खर्चिए। त्यस्तै ललितनारायण राजवंशी र बिक्रम भुषालले २–२ विकेट लिए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पोखरा पल्टनले २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाएको थियो। पोखराका लागि रोहिककुमार पौडेलले सर्वाधिक ३१ रनको योगदान दिए। रोहितले २१ बलको सामना गर्दै ४ चौंका र १ छक्का प्रहार गरे।

त्यस्तै रबिन्दर सिंहले २६ बलमा २ चौंका र २ छक्काको सहायतामा २८, आसिफ २३ बलमा २ छक्काको मद्दतमा २३, रासिद खानले ८ बलमा नटआउट १५, शरद भेषवाकरले ११ बलमा १ चौंका र १ छक्काको मद्दतमा १४, मोहम्मद नभिदले ४ बलमा ११ र बिक्रम भुषालले ३ बलमा ८ रनको नटआउट पारी खेले अन्य खेलाडीको प्रदर्शन भने सम्झनलायक भएन।

धनगढी ब्लुजका लागि कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। त्यस्तै पिटर ट्रिगो, डेनियल लरेन्स र रोबन क्षेत्रीले १–१ विकेट लिए।

प्रकाशित: १६ कार्तिक २०७५ ०७:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App