७ वैशाख २०८१ शुक्रबार
अर्थ

फलाम उद्योगमा लगानी बढ्दैछ

पर्साको चोर्नीमा पर्ने जस्तापाता बनाउने नारायणी स्ट्रिप्स प्रालि । तस्बिर : रितेश/नागरिक

वीरगन्ज - वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा फलामजन्य उद्योगमा लगानी बढ्दै गएको छ। फलामबाट विभिन्न किसिमका तयारी वस्तु बनाउने उद्योगमा लगानी उल्लेखनीय रुपमा बढेको हो। गत मधेस आन्दोलनताका बन्द भएको वीरगन्ज पुनः सुचारु भएयताको तीन वर्षमा करिडोरमा फलाम उद्योगमा मात्र पाँच सय करोड रुपैयाँभन्दा बढीको औद्योगिक लगानी थपिएको छ।

‘आफ्नो किसिमको नेपालकै ठूला उद्योगका रुपमा दुईवटा उद्योग हामीले सञ्चालनमा ल्याएका छौं,’ क्याल समूहका अध्यक्ष सत्यनारायण क्यालले भने, ‘बजार अध्ययनपछि हामीले उद्योगको आधुनिकीकरण र विस्तार आवश्यक ठान्यौं, करिब दुई सय ५० अर्ब लगानीमा नारायणी स्पात र नारायणी स्ट्रिप्स हामीले ल्याएका हौं।’

यस करिडोरमा रहेका आधा दर्जनभन्दा बढी फलामे डण्डी उद्योग र विभिन्नखाले फलामका वस्तु बनाउने उद्योगले आफ्नो क्षमता विस्तारसँगै नयाँ उद्योगमा गरेको लगानी पाँच सय करोडभन्दा बढीको छ । त्रिभुवन राजपथको वीरगन्ज–पथलैया सडकखण्डको छेउमा रहेको, टिएमटी डण्डी, एंगल, पट्टी उत्पादन गर्दै आएको आफ्नो नारायणी रोलिङ मिल नजिकै क्याल समूहले आफ्ना दुई उद्योग सञ्चालनमा ल्याएको हो। फलामे छडको कच्चा पदार्थ ‘एमएस बिलेट’ उत्पादनको महत्वाकाँक्षी योजनासाथ सुरु भएको नारायणी स्पातले असार २४ देखि छड उत्पादन थालेको र दुई महिनाभित्र बिलेट उत्पादन सुरु गर्ने क्यालले बताए।

वार्षिक एक लाख मेट्रिक टन उत्पादन क्षमताको उद्योगमा ‘स्पन्ज आइरन’ र पुरानो फलाम प्रशोधन गरेर बिलेट बनाइने उनले जानकारी दिए । त्यस्तै ०.२१ ‘एमएम’देखि ०.५५ ‘एमएम’सम्मको विभिन्नखाले जस्ता पाता उत्पादन गर्ने नारायणी स्ट्रिप्सले करिब एक वर्षदेखि उत्पादन थालेको उद्योगका महाप्रबन्धक कमलजीत बर्माले बताए । दैनिक तीन सय टन उत्पादन क्षमता रहेको उद्योगमा अहिले बजारको माग अनुसार मात्र उत्पादन गरिररहेको उनले बताए । आफूहरुले ६ फिटदेखि २२ फिटसम्मका गुणस्तरीय जस्ता पाता उत्पादन गर्ने गरेको उनले जानकारी गराए।

यस बाहेक वीरगन्ज महानगरपालिका–२८, बगहीमा सर्वोत्तम स्टिल्स प्रालि, बिन्दवासिनी गाउँपालिकामा हुलास आइरन इन्डस्ट्रिज प्रालि स्थापना हुन लागेको छ । त्यस्तै छडको बजारमा ठूलो हिस्सा अगोटेको शंकर औद्योगिक समूहको जगदम्बा स्टिल्सले पनि आफ्नो क्षमता अभिवृद्धिमा पछिल्लो समयमा लगानी बढाएको छ । ‘हामीले बजारको माग अनुसार आपूर्ति गर्न क्षमता बढाउदै लगेका छौं,’ उद्योगका निर्देशक अनुराग शर्माले भने । जगशक्ति स्टिलका सञ्चालक अनिल रुँगटाले पनि आफूहरुले उत्पादन क्षमता बढाउन लागेको बताए।

प्रकाशित: १६ कार्तिक २०७५ ०६:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App