७ वैशाख २०८१ शुक्रबार
अर्थ

उद्योगीका मागमा अर्थ मन्त्रालय सकरात्मक

काठमाडौं – मूल्य अभिवृद्धि कर (भ्याट) मा दिँदै आएको सहुलियत हटाउने सरकारको निर्णयपछि उद्योग बन्द गर्ने घोषणा गरेका कपडा उद्योगीसँग अर्थ मन्त्रालयले छलफल सुरु गरेको छ। मन्त्रालय उद्योगीका मागप्रति सकारात्मक भएपछि कात्तिक १६ गतेबाट बन्द गर्ने घोषणा गरेका उद्योगीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।

कपडा उद्योगलाई दिँदै आएको सहुलियत कटौती गर्दा विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसकेको भन्दै उद्योगीले दुई सय कपडा उद्योग बन्द गर्ने घोषणा गरेका थिए। कपडा उद्योगीका मागमा सरकार सकारात्मक रहेको अर्थ मन्त्रालयका सह–सचिव हरिशरण पुडासैनीले बताए। ‘कपडा उद्योगीसँग छलफल सुरु गरेका छौं,’ पुडासैनीले भने, ‘समस्या समाधानका लागि पहल गर्छौं।’

अर्थ मन्त्रालयसँग सम्बाद सुरु भएकाले तत्कालका लागि आन्दोलन स्थगित गरेको नेपाल कपडा उद्योग संघले जनाएको छ। संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानका अनुसार उद्योगीले आगामी कात्तिक ३० गतेसम्मलाई आन्दोलन स्थगित गरेका छन् । केही माग सम्बोधन गर्न अर्थ मन्त्रालय सकरात्मक भए पनि मुख्य मागको विषय छलफलमै रहेको प्रधानले बताए।

बिजुलीमा तिर्नुपर्ने शुल्क आधा घटाउन, कर्जामा सुविधा दिन, नयाँ प्रविधिको मेसिन ल्याउँदा अनुदान दिन अर्थका अधिकारी सहमत भएको प्रधानले बताए। ‘भ्याट छुटको विषयमा कुरा मिलेको छैन,’ प्रधानले भने, ‘छलफल चलिरहेकोले आन्दोलन स्थगित ग-यौं।’

कपडा उद्योगलाई मूल्य अभिवृद्धिकर फिर्ता दिँदै आएकोमा सरकारले आर्थिक वर्ष ०७५/७५ को बजेटबाट यो व्यवस्था हटाउने निर्णय गरेको थियो । कटन कपडाको भ्याट शतप्रतिशत समायोजन र सेन्थेटिक कपडा उद्योगले ७० प्रतिशत भ्याट फिर्ता पाउँथे । मुलुकमा १० अर्ब रुपैयाँको लगानीमा करिब दुई सय कपडा उद्योग सञ्चालनमा छन् । करिब ४० हजार यो उद्योगमा रोजगार छन्।

संघका अनुसार मुलुकमा करिब ४० करोड मिटर कपडा खपत हुन्छ। त्योमध्ये सात करोड मिटर स्वदेशी उद्योगले उत्पादन गर्छन् । १२–१३ करोड मिटर कपडा भन्सारबाट आए पनि अरु सबै कपडा चोरी पैठारी भएर आउने उद्योगी बताउँछन्।

विदेशमा कपडा उद्योगलाई विभिन्न सहुलियत दिए पनि नेपालमा नपाएको उद्योगीको गुनासो छ। अरु उद्योगको तुलनामा कपडा उद्योगमा ५० प्रतिशत मूल्य अभिवृद्धि हुने भएकाले यसलाई संरक्षण गर्नुपर्ने उद्योगीको माग छ।

सरकारले प्रोत्साहन गरेर विदेशी कपडालाई क्रमशः प्रतिस्थापन गर्न सकिने उद्योगी बताउँछन् । कपडा उद्योगको लागि उपयुक्त वातावरण नहुँदा कपडामा विदेशीकै भर पर्नुपर्ने अवस्था छ । विगतमा स्वदेशी बजारमा राम्रो हिस्सा जमाएका र भारतमा समेत निर्यात गर्दै आएका कपडा उद्योग बन्द भएका थिए।

प्रकाशित: १६ कार्तिक २०७५ ०५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App