६ वैशाख २०८१ बिहीबार
खेल

यु–१५ साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमै रोकियो

काठमाडौं – यु–१५ साफ च्याम्पियनसिपमा साबिकका उपाधि विजेता भारत र उपविजेता नेपाल सेमिफाइनलमा पराजित भएका छन्।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा बिहीबार भएका सेमिफाइनलमा साबिकको विजेता भारत बंगलादेशसँग टाइब्रेकरमा ४–२ ले पराजित भएको हो । यस्तै, नेपाल गत दुई संस्करणमा विशेष कारण देखाउँदै उपस्थिति नजनाएको पाकिस्तानसँग ४–० ले स्तब्ध बनेको हो।

पहिलो हाफ गोलरहित खेलेको नेपालले दोस्रो हाफमा ४ गोल खान पुगको थियो । ५४औं मिनेटमा उपहार गोलबाट अग्रता लिएको पाहुना टोली पाकिस्तानले दुई गोल पेनाल्टीबाट गरेको थियो भने एक गोल हेडमार्फत गरेको थियो ।

पहिलो हाफमा भन्दा खस्किएको खेल प्रदर्शन गरेको नेपालका लागि रक्षक जन लिम्बुले रक्षापंक्तिमा आएको बललाई रोक्ने प्रयास गर्दा बल नेपालको पोस्टमा गोल भएको थियो । जुन गोल खेलको लागि टर्निङ प्वाइन्ट बन्यो । घरेलु टोलीमाथि अग्रता पाएको पकिस्तानले ६०औं मिनेटमा पेनाल्टीको अवसरलाई सदुपयोग गर्दैे अग्रता दोब्बर पारेको थियो।

मोहिब उल्लाले पेनाल्टी अवसरलाई सदुपयोग गरेका थिए । पेनाल्टी बक्सभन्दा नेपाली रक्षापंक्तिले सम्हाल्न नसकेको बललाई पाकिस्तानका ओसामाले खोस्दै अगाडि बढाउने क्रममा रक्षक जन लिम्बुले ५८औं मिनेटमा पेनाल्टी बक्सभित्र धकेलेपछि रेफ्रीले सोझै रातो कार्डसँगै पाकिस्तानलाई पेनाल्टीको अवसर दिएका थिए । त्यसपछि १० खेलाडीमा सीमित बनेको नेपालले थप दुई गोल खान पुगेको थियो।

६९औं मिनेटमा  नेपालका निवास फुयालले पाकिस्तानका मदासर नजरलाई पेनाल्टी बक्सभित्र खराब ट्याक्कल गरेपछि रेफ्रीले पकिस्तानलाई दोस्रो पटक पेनाल्टीको अवसर दिएका थिए । मोहिब उल्लाले नै गोल गर्दै पाकिस्तानको अग्रता ३–० मा पुर्याएका थिए । त्यसपछि पाकिस्तानले ७७औं मिनेटमा मोइन अहम्मदको गोलबाट अग्रता ४–० पुर्यायो । मोइनले कर्नर क्षेत्रबाट आएको बललाई हेडमार्फत जाली चुमाएका थिए।

यसअघि २२औं मिनेटमा मनग्य नकर्मीले पाकिस्तानी रक्षक मोहिब उल्लाबाट कुशलतापूर्वक खोस्न सफल बललाई सदुपयोग गर्न नसक्दा नेपालले अग्रता लिने अवसर गुमाएको थियो । साथै पहिलो हाफमा कप्तान प्रदीप लम्सालका केही प्रहार पाकिस्तानी गोलकिपर मोहम्मद अवाइसले उत्कृष्ट बचाउ गर्दा नेपाल निराश बन्नुपरेको थियो।

पाकिस्तानले अब उपाधिका लागि शनिबार बंगलादेशसँग खेल्नेछ । १७औं मिनेटमा लिएको अग्रतालाई अन्तिम समयसम्म सम्हाल्न नसक्दा भारत बंगलदेशसँग टाइब्रेकमा स्तब्ध बनेको थियो । बंगलादेशले इन्जुरी समयमा गोल गर्दै भारतको अग्रतासँग बराबरी गरेको थियो । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकबाट लिइएको थियो । जसमा बंगलादेशले बाजी मार्न सफल भएको थियो ।  भारतका दुई प्रहार बंगलादेशका गोलकिपरले उत्कृष्ट बचाउ गर्दा बंगलादेशको फाइनल यात्रा सुनिश्चित भएको थियो।

पराजयपछि नेपालका प्रशिक्षक सनोज श्रेष्ठले स्ट्राइकर र मध्यपंक्तिको तालमेलको अभावले नतिजा राम्रो नभएको बताए।

‘आत्मघाती गोल र पेनाल्टीबाट पछि परेसँगै नेपाली टोलीले दबाब थेग्न सकेन । पाकिस्तानी टोली शारीरिक हिसाबले पनि बलियो देखियो,’ प्रशिक्षक श्रेष्ठले भने, ‘हाम्रो खेलमा स्ट्राइकर र मिडफिल्डबीच तालमेल राम्रो हुन सकेन । हामीले एयर बलभन्दा पनि ग्रास बल  खेल्ने रणनीति बनाएका थियौं, यो योजना पहिलो हाफमा सफल भएको थियो । तर दोस्रो हाफमा राम्रो हुन सकेन ।’उता पाकिस्तानका प्रशिक्षक जे रोबर्टो पोर्टेलाले आयोजक टोलीसँग खेल्न निकै कठिन भएको बताए।

‘पहिलो हाफमा नेपालले दबाबमा राख्दा हामीलाई कठिन भएको थियो,’ पोर्टेलाले भने, ‘हाम्रा खेलाडीले राम्रो प्रदर्शन गरे । विशेष गरी रक्षापंक्तिले नेपालको स्ट्राइकिङ लाइनलाई अवसर दिएन । एक गोलको अग्रता लिएपछि हामीलाई केही सहज बन्यो।’

यस्तै पकिस्तानी टोलीका कप्तान हसिब अहमेद खानले नेपाली टोलीसँगको भिडन्त प्रतियोगितामध्येकै राम्रो भएको प्रतिक्रिया दिए । पराजित नेपालले अब तेस्रो स्थानका लागि भारतसँग शनिबार नै खेल्नेछ । ६ टोलीलाई दुई समूहमा विभाजन गरी आयोजना गरिएको प्रतियोगिताका शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गरेका थिए।

प्रकाशित: १६ कार्तिक २०७५ ०४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App