coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हराउँदै सीमास्तम्भ

बर्दियाको भारतीय सीमावर्ती गाउँ लटकनियामा सीमास्तम्भ अनुगमन गर्दै प्रतिनिधि सभा सदस्य विमला विक र प्रजिअ रामबहादुर कुरुम्बाङसहितको टोली । तस्बिर : निर्मल/नागरिक

बर्दिया - सीमास्तम्भ अनुगमनका लागि सोमबार प्रतिनिधिसभा सदस्य विमला विक, बर्दियाका प्रजिअ रामबहादुर कुरुम्बाङ, सशस्त्र प्रहरी उपरीक्षक कृष्ण कोइराला र प्रहरी उपरीक्षक तिलक भारती लटकनिया गाउँ पुगे। भारतीय सीमासँग जोडिएको यो गाउँमा पहिलेदेखि रहेको सीमास्तम्भ अनुगमन टोलीले भेटेन। सीमास्तम्भ बाढीले बगाएको अनुमान गर्दै टोली फर्कियो।

बर्दियाको ८० किलोमिटर सीमा भारतसँग जोडिएको छ भने सीमामा रहेका स्तम्भ क्रमशः हराइरहेका छन् । गुलरिया नगरपालिका १० मा पर्ने नेपाल–भारत दसगजा क्षेत्रमा रहेका सीमास्तम्भ बर्सेनि बबई नदीको कटानमा पर्ने गरेका छन्। सीमा भएर बग्ने कर्णाली नदीको समेत कटानका कारण सीमास्तम्भ जोखिममा छन् तर सीमास्तम्भ जोगाउनेतिर दुवै देशका अधिकारीको चासो नदेखिएको स्थानीय बताउँछन् । ‘हाम्रो जग्गा भारतीयले जोत्न दिँदैनन्, सीमाको यकिन सरकार गर्न सक्दैन’, स्थानीय रामकृष्ण यादवले भने । बर्दियामा भारतसँग जोडिएको सीमाक्षेत्र मानखोलापूर्व रहेको ४१ नम्बरको पिलरदेखि कतर्नियास्थित मुख्य पिलर नं. ९७ सम्म पर्छ।

जिल्ला प्रशासन कार्यालय बर्दियाको तथ्यांकअनुसार सहायक र ठूला गरी १ सय २६ वटा सीमास्तम्भ हराएका छन्। सीमास्तम्भ हराएको ठाउँमा भारतीय पक्षले नेपाली भूमि हडप्ने गरेको स्थानीयको भनाइ छ।

गुलरिया नगरपालिका–१० महजिदियाका पाँचवटा सहायक स्तम्भ बबई नदीमा आएको बाढीले बगाएको छ । प्रजिअ कुरुम्बाङले भने, ‘कतिपय ठाउँका सीमास्तम्भ भेटिएका छैनन् । बबईको कटान क्षेत्रमा तटबन्ध कार्य तत्काल सुरु हुँदैछ । यसले सीमास्तम्भ पनि जोगाउनेछ ।’ उनका अनुसार सीमास्तम्भ साबुत र दुरुस्त छैनन् । नदीतटका सीमास्तम्भ बाढीले बगाउने प्रशासनले औंल्याएपनि अन्य सीमास्तम्भ केकति कारण हराउँछन् भन्ने यकिन हुन सकेको छैन । आर्थिक वर्ष ०७०/७१ मा १६, ०७१/७२ मा ६ र ०७३/७४ मा ५ वटा सीमास्तम्भ हराएको पुष्टि भइसकेको छ । केही सीमास्तम्भको ठाउँ फेरिएको पाइएको पनि प्रजिअ कुरुम्बाङले जानकारी दिए।

प्रशासन कार्यालयको रेकर्डमा २ सय ४५ वटा सीमास्तम्भमध्ये मर्मत गर्नुपर्ने ७३, पुनर्निर्माण गर्नुपर्नेमा ४६ वटा छन् । यस्तै बाढीले ३२ वटा सीमास्तम्भ बगाएको छ भने थप ९४ स्तम्भ हराएका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा सहायक र ठूला गरी १ सय २६ वटा सीमास्तम्भ हराएको उल्लेख छ । सीमास्तम्भ हराएको ठाउँमा भारतीय पक्षले नेपाली भूमि हडप्ने गरेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार फत्ता थारुको १० कट्ठा, विश्राम थारुको २ बिघा ७ कट्ठा, खटिक थारुको १४ कट्ठा र रामदत्त थारुको १४ कट्ठा जग्गा भारतीय पक्षबाट अतिक्रमण भएको छ । भारतीय पक्षले जबरजस्ती सीमास्तम्भ सार्दै नेपाली भूमि अतिक्रमण गरिरहेको पीडित किसान वताउँछन् । गुलरिया ९ चौगर्जीका साहादात अली धोवीको २ बिघा १० कट्ठा जग्गा बहराइच जिल्लाको सलारपुरका राजदेव गौडले मिचेको स्थानीयले बताए । जग्गाको लालपुर्जा देखाउँदै जोत्न खोज्दा भारतीय पक्षले धम्की दिने गरेको स्थानीयको गुनासो छ।

स्थानीय प्रशासनले तदारुकता नदेखाएकाले हराएका सीमास्तम्भको खोजी वा पुनर्निर्माणका लागि सरकारले पहल नगरेको स्थानीयको गुनासो छ । सीमास्तम्भ मर्मत र पुनर्निर्माणमा सरकारले चासो नदेखाएका कारण नेपाली भूमि मिचिँदै गएको स्थानीयले बताए । नेपाल–भारत सीमाक्षेत्रका स्तम्भ हराउने र तोडफोड हुने क्रम बढेपछि कतिपय ठाउँका दसगजामा समेत विवाद बढेको प्रतिनिधिसभा सदस्य विकले बताइन् । ‘सीमामा विवादरहित बनाउन जरुरी छ’, उनले भनिन्, ‘सरकारले सीमा विवादरहित बनाउन काम थालेको छ ।’ सशस्त्र प्रहरी उपरीक्षक कोइरालाले सीमास्तम्भको अनुगमन भइरहेको दाबी गरे।

प्रकाशित: १६ कार्तिक २०७५ ०१:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App