डेढ वर्ष छँदै कांग्रेसमा महाधिवेशनको राप

शुक्रबार, १६ कार्तिक २०७५, ०६ : ५३ बालकृष्ण अधिकारी  | @adhikaribal

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताकार्यकतालाई पार्टीको १४औं महाधिवेशनले छोपेको छ। महाधिवेशनका लागि अझै डेढ वर्ष समय बाँकी रहँदा केन्द्रदेखि गाउँसम्मका नेताकार्यकर्ताको ध्यान त्यसतर्फ केन्द्रित भएको छ।

राष्ट्रिय निर्वाचनमा केन्द्र र प्रदेशमा मात्र नभई स्थानीय तहमा पनि पहुँच गुमाएको कांग्रेसले तत्काल सत्ता राजनीतिमा पुनरागमनको सम्भावना नदेखेपछि पार्टीका सबै तहका नेताहरुको ध्यान आन्तरिक राजनीतिमा केन्द्रित बन्न पुगेको छ। निर्वाचनमा पार्टी पराजयसँगै आन्तरिक विवादलाई थाती राखेर संगठन सुदृढीकरण अभियानमा केन्द्रित हुने धेरैको अनुमानलाई कांग्रेस नेताले गलत साबित गरिदिएका छन्। निर्वाचनमा पार्टी पराजयलाई नेतृत्वमा टिक्ने र पुग्ने भ-याङका रूपमा उपयोग गर्दै उनीहरू एकअर्कालाई कमजोर सिद्ध गर्न सक्रिय छन्।

अब नेतृत्वका लागि दाइ पुस्ता नभई भाइ पुस्ताका विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, शेखर कोइरालासहितका नेताबीच प्रतिस्पर्धा हुनुपर्छ।

कांग्रेस केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले पार्टीभित्र नियमित सांगठनिक गतिविधि नहुँदा केन्द्रदेखि गाउँसम्म छिट्टै महाधिवेशन लागेको बताए। ‘राजनीतिक मान्छेले केही न केही काम खोजिरहेको हुन्छ,’ घिमिरे भन्छन्, ‘पार्टीभित्र नियमति गतिविधि पनि छैन। काम नभएपछि केही न केही गतिविधि गर्ने सन्दर्भमा एकअर्काको विरोध गर्ने र कमजोरी खोतल्दै सबैको ध्यान महाधिवेशनतिर तानिएको हो।’

२०७२ फागुनमा १३औं महाधिवेशन गरेको कांग्रेसमा आफ्ना प्रतिस्पर्धीलाई असफल देखाउने र कमजोर साबित गरेर नेतृत्वमा पुग्ने मनोविज्ञान सबै तहका नेतामा हाबी हुँदा संगठन सुदृढीकरणसहितका अन्य कार्यक्रम छायामा परेका छन्। नेतृत्वमा रहेका नेताहरू असन्तुष्ट पक्षलाई पेलेर अघि बढ्ने र असन्तुष्ट पक्ष नेतृत्वलाई असफल देखाएर नेतृत्वमा पुग्ने होडले गर्दा कांग्रेसमा संगठन सुधार कार्यक्रमसमेत तय हुन सकेको छैन।

निर्वाचनमा पराजय हुनुका कारण समीक्षा गर्दै गत वैशाखमा सम्पन्न केन्द्रीय समिति बैठकले संगठन सुदृढीकरणका लागि देशभर अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। तर, निर्णयअनुसार अहिलेसम्म कार्यक्रम तय भएका छैनन्। उल्टै आन्तरिक विवाद चर्कंदो छ।

पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा उमेर हद लगाउने पछिल्लो केन्द्रीय समितिको निर्णयप्रति नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला अलि बढी नै असन्तुष्ट देखिए। हरेक वर्ष कांग्रेसले दसैंको कोजाग्रत पूर्णिमामा गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष केही दिन ढिला भयो । नेता चक्रप्रसाद बास्तोलाको निधनका कारण कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान स्थगित गरेको कांग्रेसले त्यसपछि पनि पौडेल र सिटौलाको समय मिलाउनकै लागि चियापान एक सातापछि कात्तिक १६ सम्म धकेलेको हो। पौडेल र सिटौला देशबाहिर तीर्थाटनमा गएका कारण चियापान एक सातापछि धकेलिएको हो।

पार्टीको केन्द्रीय समिति बैठक नबस्दा नेवि संघको ११औं महाधिवेशन अन्योलमा परेको छ । केन्द्रीय अनुशासन समितिको नेतृत्व विवादले पटकपटक डाकिएको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित हुँदै आएको छ। राष्ट्रिय निर्वाचनपछि विघटन गरिएका कांग्रेस कार्यसम्पादन र संसदीय समिति पनि पुनः गठन हुन सकेका छैनन्। एक वर्षअघि कांग्रेससँग पार्टी एकता गरेको विजयकुमार गच्छदार नेतृत्व फोरम लोकतान्त्रिकका नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा पनि सहमति जुट्न सकेको छैन। वैशाखमा सम्पन्न केन्द्रीय समिति बैठकले एक महिनाभित्र यससम्बन्धी टुंगो लगाउने निर्णय गरेको थियो।

अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरे पनि प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टीको अनपेक्षित पराजयले सबैको ध्यान महाधिवेशनतर्फ केन्द्रित बन्न पुगेको बताउँछन्। ‘सभापतिलाई पनि महाधिवेशनबाट फेरि नेतृत्वमा आएर पार्टीलाई पुरानै अवस्थामा पु-याउँछु भन्ने लागेको होला,’ उनी भन्छन्, ‘अर्को पक्षलाई पनि यो सभापतिबाट भएन, हामी भए केही गथ्र्याैं भन्ने होला। त्यसैले सबैको ध्यान महाधिवेशन केन्द्रित बनेको हो।’ पार्टीलाई पुरानै अवस्थामा फर्काउन आफ्ना कमजोरीहरु पहिचान गरेर नेताहरू संगठन सुधार कार्यक्रम सञ्चालन गर्नुपर्नेतर्फ लाग्नुपर्नेमा जोड दिँदै उनले थपे, ‘हाम्रो प्राथमिकता संगठन सुदृढीकरणमा पर्नुपर्ने हो तर त्यो हुन सकेको छैन।’

अब नेतृत्वमा को
१३औं महाधिवेशनमा नेतृत्वका लागि आमनेसामने भएका शेरबहादुर देउवा र नेता पौडेल अस्वाभाविक परिस्थितिबाहेक आगामी महाधिवेशनमा पनि नेतृत्वका लागि प्रतिस्पर्धाको तयारीमा छन्। नेतृत्व हस्तान्तरणका पक्षमा नरहेका सभापति देउवा र नेता पौडेलले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा १४औं महाधिवेशनमा पनि नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने बताउँदै सोहीअनुसार सक्रियता बढाएका छन्।

केन्द्रीय सदस्य घिमिरेका अनुसार सभापति देउवा र नेता पौडेलको चाहना १४ औं महाधिवेशनमा पनि सभापतिको प्रत्यासी बन्नेछ। ‘भोलि परिस्थिति के–कसरी अघि बढ्छ त्यो अर्को कुरा भयो,’ घिमिरेले भने, ‘आजका दिनसम्म दुवैको तयारी नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने नै छ।’

अर्का केन्द्रीय सदस्य मीनेन्द्र रिजाल पार्टीसामु देखिएका चुनौतीको सामना दाइ पुस्ताबाट अब सम्भव नरहेको बताउँछन्। ‘अब कल्पनाशीलता र क्रियाशीलता दाइ पुस्ताबाट सम्भव हुँदैन,’ रिजालले केही दिन पहिला नागरिकसँग भनेका थिए, ‘उहाँहरू दुवै (देउवा र पौडेल) बाट अब हुँदैन।’

देउवा र पौडेलले सभापतिको प्रत्यासीमा आफूलाई प्रस्तुत नगरे स्वाभाविक रूपमा दोस्रो तहका नेतामा पार्टी नेतृत्व झर्ने उनले सुनाए। अब नेतृत्वका लागि दाइ पुस्ता नभई भाइ पुस्ताका विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, शेखर कोइरालासहितका नेताबीच प्रतिस्पर्धा हुने उनको बुझाइ छ।

असन्तुष्ट पक्ष राष्ट्रिय निर्वाचनमा पार्टीको पराजयसहित सबै दोष सभापति देउवालाई लगाएर उनलाई असफल सिद्ध गर्न सक्रिय छ। त्यसकै जगमा आआफ्नो स्वार्थपूर्ति गर्न पछिल्लो समय असन्तुष्ट पक्षका नेताहरू एकै ठाउँमा उभिएका छन्। असन्तुष्ट पक्षबाट आगामी महाधिवेशनमा सभापतिको एउटै उम्मेदवार बन्ने सम्भावना कम छ। देउवालाई आफ्नो गुटबाट फेरि सभापतिका लागि सर्वसम्मत प्रत्यासी बन्न सहज भए पनि नेता पौडेलका लागि भने चुनौतीपूर्ण रहेको निकट नेताहरू बताउँछन् । असन्तुष्ट समूहभित्र विभिन्न स्वार्थसहितका उपगुटहरु भएकाले पौडेल सर्वसम्मत प्रत्यासी बन्न सक्ने अवस्था देखिँदैन।

देउवाविरोधी समूहमा सक्रिय महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला मात्र होइन नेता शेखर कोइरालासहितका नेताहरु सभापति पदका आकांक्षी हुन्। एकअर्कालाई सहजरुपमा स्वीकार गर्ने अवस्थामा नरहेका उनीहरू असहज अवस्थाबाहेक नेता पौडेललाई सभापतिको प्रत्यासी स्वीकार गर्ने पक्षमा छैनन्।

१३औं महाधिवेशनमै सभापतिको प्रत्यासी बनेका नेता सिटौलाको भूमिका अबका दिनमा कस्तो हुन्छ भन्ने अझै निश्चित छैन। देउवाविरोधी समूहमा पछिल्ला दिनमा सक्रिय रहेका सिटौलालाई पौडेलले मात्र होइन असन्तुष्ट समूहबाट सभापतिको आकांक्षी देखिएकाहरुले अझै विश्वास गरेका छैनन्। देउवासँगको सम्बन्ध चिसिएपछि नेता शेखर कोइरालासँग निकटता बढाउँदै विरोधी समूहमा सहभागी सिटौला १४औं महाधिवेशनमा पनि सभापतिको प्रत्यासी बन्छन् वा अर्को कुनै गुट वा उपगुटसँग मिलेर आफ्नो स्थान सुरक्षित गर्छन् अझै निश्चित छैन।

देउवाविरोधी समूहबाट पौडेलको विकल्पमा महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहलाई नेतृत्वका लागि बलियो दाबेदारका रुपमा हेरिएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि भएको संसदीय दलको निर्वाचनमा देउवाविरुद्ध सिंहले उम्मेदवारी दिएका थिए। आफ्नो पक्षमा नखुलेर महामन्त्री कोइरालाले पार्टी एकताको वकालत गरेपछि उनीप्रति सिंह रुष्ट छन्। कोइरालालाई सभापतिमा सहयोग गर्न नसक्ने भन्दै सिंहले आगामी महाधिवेशनमा आफैं प्रत्यासी बन्ने जनाउँदै आएका छन्। एक केन्द्रीय सदस्यले भने, ‘प्रकाशमानले शशांकलाई सभापतिमा स्वीकार गरेर अघि बढ्ने सम्भावना देखिँदैन।’ सिटौला र सिंहबीचको सम्बन्ध पनि राम्रो छैन।

अझै महामन्त्री शशांक सभापतिको प्रत्यासी नबनेर नेता शेखर कोइराला सभापतिको प्रत्यासी बन्ने अवस्था आए असन्तुष्ट समूहका सिंह, सिटौला, शशांकमात्र होइन रामशरण महत, अर्जुननरसिंह केसीसहितका नेताहरुको व्यवस्थापनमा थप जटिलता आउने नेताहरू बताउँछन्।

महामन्त्री कोइराला पनि आगामी महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने तयारीमा जुटेका छन्। बिपी पुत्र भएकाले पनि देउवालाई सभापतिमा चुनौती उनले मात्र दिनसक्ने भन्दै निकटहरूले सोहीअनुसारको तयारीमा जुट्न उनलाई सुझाइरहेका छन् । नेताकार्यकर्तासँग कम सम्पर्कमा रहने शशांकले पछिल्लो समय भेटघाट तथा उपत्यकाबाहिरका कार्यक्रममा बढी उपस्थिति जनाउन थालेका छन् । सभापतिकै आकांक्षी शेखरले जिल्ला दौडाहालाई तीव्र बनाएका छन्।

नेत्री सुजाता कोइरालाले शशांक र शेखरले पार्टीको १४औं महाधिवेशनमा एउटै पदमा उम्मेदवारी नदिने बताइन् । कोइराला परिवारका तीन सदस्यबीच कुनै विवाद नरहेको सुनाउँदै सुजाताले नागरिकसँग केही समय पहिला भनेकी थिइन्, ‘उहाँहरू दुईजना जुनसुकै पदमा प्रतिष्पर्धा गरे पनि मेरो पूर्ण समर्थन रहनेछ ।’ अस्वस्थ सुजाताले आफू पदको आकांक्षी नरहेको स्पष्ट गर्दै महाधिवेशनबाट बिपीको लिगेसी बोक्न सक्ने नयाँ नेतृत्व आवश्यक रहेको औंल्याइन्।

सभापति देउवा पनि असन्तुष्ट पक्षसँग सहमति र समन्वयभन्दा उनीहरूलाई कमजोर साबित गरेर आगामी महाधिवेशनमा पनि आफ्नो स्थान सुरक्षित गर्न तल्लीन छन् । देउवाले चाहे उनी आफ्नो गुटबाट फेरि पनि सर्वसम्मत सभापतिको उम्मेदवार बन्नेछन् । उपसभापति विमलेन्द्र निधि पनि देउवाकै ग्रीन सिग्नलसहित महासमिति बैठकपछि सभापतिको तयारीमा लाग्ने योजनामा छन् । गच्छदारले पनि आफूलाई देउवा गुटबाट सभापतिको प्रत्यासीकारुपमा प्रस्तुत गर्न थालेका छन्।

केन्द्रीय सदस्य गुरुराज परम्परागत प्रतिस्पर्धाले पार्टीलाई नयाँ जीवन दिन नसक्ने बताउँछन्। ‘कांग्रेसलाई नयाँ जीवन दिन कि नेतृत्व परिर्वतन हुनुपर्छ होइन भने नेतृत्वको कार्यशैली परिर्वतन आवश्यक छ,’ उनले भने, ‘त्यसले मात्र कांग्रेसलाई अघि बढाउन सक्छ।’ त्यसो भए १४औं महाधिवेशनले कसलाई नेतृत्वमा पु-याउँला त ? ‘कांग्रेसमा विगतदेखि वर्तमानसम्म कोइराला र एन्टी कोइराला समूहबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुँदै आएको छ,’ उनी भन्छन्, ‘कोइराला परिवारभित्रबाटै नेतृत्वका लागि अग्रसर हुने कार्यकर्ताको पहिलो रोजाइमा पर्छन्।’







यसमा तपाईको मत