८ वैशाख २०८१ शनिबार
समाज

निर्मला हत्या प्रकरण: सय दिन बित्दा पनि हत्यारा पत्ता लागेन

उल्टाखाम (कञ्चनपुर) - भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार एक सय दिन पुग्दैछ। यस अवधिमा कञ्चनपुर प्रहरी प्रशासनको नेतृत्व परिवर्तन र विभिन्न छानबिन समिति गठन भए। न्यायका लागि चौतर्फी दबाब बढिरहँदा पनि सरकार हत्यारा पत्ता लगाउन सफल हुन सकेको छैन।

अनुसन्धान सही दिशामा नगरेको, प्रमाण नष्ट गरेको र निर्दोषलाई दोषी करार गर्न यातना दिएको आरोप खेपेको प्रहरीले चित्तबुझ्दो तथ्य बाहिर ल्याउन सकेको छैन। छानबिनका क्रममा प्रहरीले करिब ढेड सय व्यक्तिसँग सोधपुछ गरिसकेको छ। तर प्रहरी अनुसन्धानको उपलब्धि शून्य छ। ‘अहिलेसम्म अनुसन्धानमा ठोस प्रगति केही भएको छैन’, कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) कुवेर कडायतले भने।

अनुसन्धान सही दिशामा नगरेको, प्रमाण नष्ट गरेको र निर्दोषलाई दोषी करार गर्न यातना दिएको आरोप खेपेको प्रहरीले चित्तबुझ्दो तथ्य बाहिर ल्याउन सकेको छैन। छानबिनका क्रममा प्रहरीले करिब ढेड सय व्यक्तिसँग सोधपुछ गरिसकेको छ। तर प्रहरी अनुसन्धानको उपलब्धि शून्य छ।

निर्मलाको हत्यारा पत्ता लगाउन नसक्नुको कारणबारे चियापसलदेखि सार्वजनिक स्थलसम्ममा विभिन्न तर्कवितर्क सुनिने गरेका छन्। ‘सरकारले हत्यारा सार्वजनिक गर्न नसक्नुको त्यस्तो के कारण हो? हामी जनतालाई भनिदिनुप-यो’, बिहीबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउँदै नागरिक संघर्ष समितिका संयोजक मीना भण्डारीले भनिन्।

प्रहरीले महत्वपूर्ण प्रमाण नष्ट गरेर गल्ती गरेको भनिसके पनि सरकारद्वारा गठित छानबिन समितिले त्यो प्रमाण नष्ट किन भयो भनेर खुुलाउन सकेको छैन। प्रत्येक प्रहरी कार्यालयमा घटनास्थलबाट प्रमाण संकलन गर्न सिपालु तालिम प्राप्त प्रहरी हुन्छन्। निर्मलाले लगाएको सुरुवाल पखालिनु, पानीमा घोप्टो परेको शवलाई उत्तानो पारेर पछाडिको भाग पखालिनु, डिलमा फेला परेका तीनवटा पाइलाको ‘फुट प्रिन्ट’ नलिनु, रातभरि पानी परेर पनि नभिजेका कापीकिताबको ‘फिंगर प्रिन्ट’ नलिनु, अम्बाको रूखबाट फुट र फिंगर प्रिन्ट नलिनुजस्ता अनुसन्धानसँग सम्बन्धित सबुत सुरक्षित राख्न प्रहरीले लापरबाही गरेको स्थानीयको आरोप छ।

यस्तै मुचुल्कामा निर्मलाको बुवाको किर्ते हस्ताक्षर गर्नु, सडकमा फेला परेको कापीकिताब एक मिटर गहिरो पानीभित्र पाइएको भनेर मुचुल्कामा लेखिनु, साउन ११ गते निकालिएको भेजाइनल स्वाब साउन १५ गतेसम्म प्रहरी कार्यालयमा राखिनुलगायतका कार्यले प्रहरी भूमिकाबारे थप शंका उब्जाएको छ। ‘हत्यारालाई बचाउन प्रहरीले सबै प्रमाण नष्ट ग-यो। सुरुमा स्थानीयले दबाब दिँदा पनि प्रहरीले बम दिदीबहिनीमाथि अनुसन्धान गरेन, तर निर्दोषलाई दोषी करार गर्न खोज्यो’, कञ्चनपुर नागरिक समाजका संयोजक भवराज रेग्मी भन्छन्, ‘त्यतिबेला अनुसन्धानमा खटिएका प्रहरी अधिकारीलाई हिरासतमा लिएर सूक्ष्म अनुसन्धान गरेमा दोषी पत्ता लाग्थ्यो, सरकारले त्यसमा चासो दिएको छैन।’

सुरुदेखि नै प्रहरी गैरजिम्मेवार
साउन १० गते बिहान खाना खाएर ११ बजेतिर १३ सय मिटर दुरीमा रहेको रोशनी बम र बबिता बमको घरमा विज्ञान विषयको गृहकार्य गर्न गएकी निर्मला घर नफर्केपछि आमा दुर्गादेवी पन्त रोशनीको घरमा गइन्। उनलाई त्यहाँ घरभित्र प्रवेश गर्न दिइएन। साँझसम्म छोरीको अत्तोपत्तो नलागेपछि उनीलगायत छिमेकीले वडा प्रहरी कार्यालयका इन्सपेक्टर र जिल्ला प्रहरी कार्यालयसमक्ष खोजीका लागि आग्रह गरे। तर प्रहरीले चासो देखाएन। छोरी हराएकाले आत्तिएकी निर्मलाकी आमा राति १२ बजे स्थानीय ६ जनासँग मिलेर नजिकको प्रहरी चौकीमा गइन्। सुतिसकेका प्रहरी खोजी गर्न जान सहमत भएर युनिफर्मसमेत लगाए। चौकीका इन्चार्जले जिल्ला प्रहरी कार्यालयमा फोन गरे। तर जिल्लाबाट अनुमति नदिएपछि उनीहरू गएनन्।

साउन ११ गते निर्मलाको घरबाट करिब साढे ६ सय मिटर दुरीमा रहेको उखुबारीको आहालमा घोप्टो परेको अवस्थामा शव फेला प-यो। स्थानीयले निर्मला हराएको बम दिदीबहिनीको घरबाट अनुसन्धान गर्न प्रहरीलाई अनुरोध गरे। तर तत्कालीन एसपी डिल्ली बिष्टले बम दिदीबहिनीलाई थाहा नभएको भन्दै प्रतिवाद गरे। प्रहरीले बम दिदीबहिनीको घरबाट अनुसन्धान सुरु नगरेकै कारण दोषीलाई बचाउने खेल भइरहेको आशंका उब्जेर स्थानीय प्रदर्शनमा उत्रिएको दबाबमूलक समिति संयोजक हेलेन श्रेष्ठ बताउँछिन्। उनी भन्छिन्, ‘सुरुदेखि नै प्रहरीको भूमिका एकपछि अर्को शंकास्पद हुँदै गयो।’

निर्मलाका आफन्त र स्थानीयले बम दिदीबहिनीको घरबाट अनुसन्धान गर्न माग राख्दा प्रहरीले सुनुवाइ गरेन। प्रहरीले भीमदत्त नगरपालिका १९ का ४१ वर्षीय मानसिक सन्तुलन गुमाएका दिलीपसिंह बिष्टलाई भदौ १ गते बजार नजिकैबाट पक्राउ ग-यो। निर्मलाको हत्या गरेको भनेर भदौ ४ गते उनलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरियो। दिलीपलाई दोषी भनेर सार्वजनिक गरेपछि आक्रोशित स्थानीयले भदौ ५ गतेदेखि आन्दोलन चर्काए। भदौ ७ मा गोली चलेर कयौं घाइते भएपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी कुमार खड्का, एसपी डिल्ली बिष्ट र डिएसपी ज्ञानबहादुर सेठीलाई फिर्ता बोलाएर नयाँ टिम खटायो। प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, एसपी कुवेर कडायत र प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले भदौ ८ गतेबाट काम थाले। भदौ ७ गते नै गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा तीन सुरक्षा निकायका डिआइजी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव रहेको ५ सदस्यीय छानबिन समिति गठन गरेर पठायो। भदौ ८ गते प्रहरीले गोली चलाउँदा १ जनाको ज्यान गयो र कयौं घाइते भए।

भदौ ८ गते प्रहरीले रोशनी बम र बबिता बमलाई पक्राउ गरेर अनुसन्धान थाल्यो। भदौ २६ गते डिएनए मेल नखाएर दिलीप रिहा भएपछि घटनाले नयाँ मोड लियो। प्रहरीले दिलीप नै दोषी भनेर गृहमन्त्री र प्रधानमन्त्रीसमेतलाई रिपोर्टिङ गरेको थियो।

भदौ २५ गते निर्मलाका आमाबुवा न्याय माग्दै काठमाडाैं गए। उनीहरूले गृहमन्त्री र प्रधानमन्त्रीलाई भेटे। प्रधानमन्त्रीले आफू पनि निर्मलाको अभिभावक भएको भन्दै न्याय दिलाउने प्रतिबद्धता दिलाएपछि असोज १ गते उनीहरू घर फर्के।

नौ जनाको डिएनए परीक्षण
प्रहरीले ९ जनाको रगत डिएनए परीक्षणका लागी पठाएको छ । सुरुमा चक्र बडू र दिलीप बिष्टको डिएनए मेल खाएन। स्थानीयको दबाबपछि नयाँ प्रहरी टोलीले अनुसन्धान गरेको ३ सातापछि भदौ २८ गते तत्कालीन एसपी बिष्ट, उनका छोरा किरण बिष्ट र अर्का युवक आयुष बिष्टको डिएनए परीक्षणका लागी पठायो । उनीहरूको पनि मेल खाएन। अहिले शंकास्पद थप चार जनाको रगत डिएनए परीक्षणका लागि पठाएको कञ्चनपुरका एसपी कडायतले बताए।

आठवटा छानबिन समिति
निर्मला हत्या भएपछि एसपी डिल्ली बिष्ट नेतृत्वको प्रहरी टोलीले अनुसन्धान ग-यो । साउन १२ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को डिएसपी अंगुर जिसीको नेतृत्वको टोलीले अनुसन्धान ग-यो । भदौ ७ गते नयाँ प्रहरी टोली पठाएपछि एसपी कुवेर कडायतको नेतृत्वमा अनुसन्धान भयो । डिएसपी कृष्ण ओझालाई अनुसन्धान अधिकृत तोकियो। त्यसपछि हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन भयो। सिआइबीका एसएसपी ठाकुरप्रसाद ज्ञवालीको संयोजकत्वमा अर्को अनुसन्धान टोली खटाइयो। एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा फेरि अनुसन्धान टोली खटियो।

उच्चस्तरीय छानबिन समितिले प्रहरीले प्रमाण नष्ट गरेको भनेर प्रारम्भिक प्रतिवेदन पठाएपछि तत्कालीन डिआइजी धिरु बस्नेतको संयोजकत्वमा एसएसपी उत्तम सुवेदीको टिमलाई समेत गाभेर ९ सदस्यीय छानबिन समिति गठन गरियो। त्यसपछि महिला प्रहरी उपरीक्षक दुर्गा सिंहको संयोजकत्वमा अर्को छानबिन समिति गठन भयो। नेपालमा एउटै घटनामा यति धेरै छानबिन समिति गठन भएको सम्भवतः यो पहिलो हो। सबै छानबिन समितिको अनुसन्धानको उपलब्धि शून्य रहेको प्रहरी अधिकारी बताउँछन्।

अनुसन्धानमा विज्ञहरू खटाउन माग
विज्ञहरूले निर्मला हत्या प्रकरणमा सरकार अझैसम्म प्रभावकारी अनुसन्धान गर्न चुकेको बताएका छन्। ‘सरकारले अनुसन्धान प्रभावकारी गर्न सकिरहेको छैन’, नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक शरद चन्द भन्छन्, ‘माथिल्लो पदमा रहेका व्यक्तिको संयोजकत्वमा छानबिन समिति गठन गरेरमात्र काम हुँदैन।’ घटना जटिल भइसकेपछि सरकारले अपराधका सम्बन्धमा विज्ञ र अनुभव प्राप्त व्यक्तिलाई देशभित्र वा बाहिरबाट नियुक्त गरेर अनुसन्धान गराउनुपर्नेमा सरकार चुकेको उनी बताउँछन्। ‘देशभित्रैबाट अपराधबारे पढेका र अनुभवी विज्ञलाई पनि प्रयोग गर्न सकिने उनी बताउँछन्। चन्दले भने, ‘घटनास्थलमा कुनै प्रमाण बाँकी छैन, पानीमा १२, १४ घन्टा राखेको शवमा सबै प्रमाण नष्ट भएका छन्। फिंगर प्रिन्ट र फुट प्रिन्ट लिन पनि प्रहरी चुकेको छ। घटना जटिल बनेकाले विज्ञद्वारा प्रभावकारी अनुसन्धान आवश्यक छ।’

शंकास्पद व्यक्तिमाथि सूक्ष्म अनुसन्धान गर्न माग
निर्मलाकी दिदी मनीषाले ३ महिना बितिसक्दासम्म बहिनीको हत्यारा पत्ता नलाग्दा धेरै दुःखी भएको बताउँदै छिटो न्याय दिलाइदिन माग गरिन्। ‘मेरी बहिनीको हत्यारा पत्ता लगाएर न्याय दिलाउन माग गर्दछु’, उनले बिहीबार मुख्यमन्त्री त्रिलोचन भट्टसँग भनिन्, ‘मेरी बहिनीको हत्यारा अहिलेसम्म पत्ता नलागेकाले मुख्यमन्त्रीलाई भेटेर न्याय माग्न आएकी हुँ।’ हत्यारा पत्ता नलाग्दा आफू पनि त्रसित भएको उनले बताइन्। ‘बहिनीको हत्यारा पत्ता नलागेकाले म र मेरी सानी बहिनी त्रासमा बसिरहेका छौं’, उनले भनिन्, ‘त्रासले ट्युसन पढ्न पनि जान सकेका छैनौं।’

निर्मलाका बुवा यज्ञराज पन्तले छोरीको हत्यारा छिटोभन्दा छिटो पत्ता लगाएर न्याय दिलाउन मुख्यमन्त्री समक्ष माग गरे। ‘मेरी छोरीको हत्यारा पत्ता लगाउन के बाधक छ’, उनले भने, ‘सरकारले अहिले पनि प्रहरीलाई भविष्यमा अयोग्य नहुने गरी बर्खास्त गरेर आँखामा छारो हाल्ने काम मात्र गरिरहेको छ।’ छोरीको हत्यारा पत्ता नलगाएसम्म अरू कोहीलाई गरिने कारबाहीले न्याय नमिल्ने उनले बताए। ‘प्रहरीमाथि पनि कारबाही होस। तर छोरीको हत्यारा पत्ता लगाउनुपर्छ भन्ने मेरो मुख्य माग हो’, उनले भने। मजदुरी गरेर जीविकोपार्जन गर्नुपर्ने भएकाले छोरीको न्यायका ३ महिनासम्म लागिरहँदा धेरै असर परेको गुनासो उनले मुख्यमन्त्रीसमक्ष गरेका छन्।

उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका शंकास्पद व्यक्तिमाथि सूक्ष्म अनुसन्धान गर्न स्थानीयले माग गरेका छन्। हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले तत्कालीन एसपी डिल्ली बिष्ट, उनका छोरा किरण, किरणका साथी साजन बुढाएर, शिरीष ठगुन्ना र बम दिदीबहिनी शंकास्पद भूमिकामा रहेको संकेत देखाएको छ।

प्रहरीले छानबिन समितिको प्रतिवेदनमा आधारमा एसपी बिष्ट र प्रहरी निरीक्षक जददीश भट्टलाई जागरिबाट बर्खास्त गरेको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App