इलाम– सार्वजनिक सवारीका साधनमा यात्रा गर्दै हुनुहुन्छ? जिल्लाका कच्ची वा कालोपत्रे जुनसुकै सडकमा यात्रा गर्दैहुनुहन्छ भने टिकट लिन नभुल्नुहोला, नत्र ठगिने सम्भावना छ। सवारीका साधनले यात्रुबाट मनलाग्दी भाडा असुल्न थालेपछि बिहीबारदेखि सबै सडकका सबै यात्रुलाई टिकट अनिवार्य गरिएको छ।
लामो वा छोटो दूरीको यात्रा गर्न गाडी चढ्ने सबै यात्रुलाई व्यवसायीले अब अनिवार्य रूपले टिकट दिनुपर्ने भएको हो। कुनै यात्रुबाट तोकिएभन्दा बढी भाडा असुले १ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना असुल्ने नियममा समेत कडाई गरिएको छ।
जिल्लामा तोकिएको नयाँ भाडादर सार्वजनिक गर्दै बिहीवार सदरमुकाममा नियमनकारी निकायका प्रतिनिधिले कच्ची र कालोपत्रे दुवै सडकमा यात्रा गर्दा टिकट अनिवार्य दिनुपर्ने व्यवस्था गरेको बताए। ‘हिजोसम्म यात्रुले पाउने टिकट कालोपत्रेका लागि मात्रै भनेजस्तो बुझाइ थियो,’ यातायात व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले भने, ‘अब सबै सडकमा यात्रा गर्ने यात्रुलाई टिकट अनिवार्य दिनुपर्नेछ।’
सवारी साधनले मनपरी भाडा असुलेको गुनासो आएपछि टिकट अनिवार्य गरिएको उनले बताए। ‘अब कसैले तोकिएभन्दा बढी भाडा लिए प्रहरीलाई खबर गर्नुहोला,’ उनले भने, ‘कुनै व्यवसायीले यात्रुलाई टिकट दिन नमाने पनि खबर गर्नुहोला।’ लामो समयको प्रयासपछि समितिले जिल्लाका कच्ची सडकसमेतको भाडादर तोकेको उनले जनाए। ‘गत ८ गते तोकिएको भाडा कार्यान्वयन गर्न व्यवसायीले टिकट छपाइका लागि समय मागेकाले बिहीबारसम्मलाई पर्खिएका थियौं,’ प्रजिअ तिम्सिनाले बिहीबार भाडादर नयाँ सार्वजनिक गर्दै भने, ‘आजैदेखि नयाँ भाडादर जिल्लामा लागू भएको छ।’
समितिले १ सय ४३ सडक रुटको नयाँ भाडादर भर्खरै हेरफेर गरेको हो। जिल्लामा २०७३ साल चैतयता नयाँ भाडादर तोकिएको थिएन। यसअघि तोकिएको भाडादर र यातायात व्यवस्था विभागले तोकेको मापदण्डलाई आधार बनाएर नयाँ भाडादर निर्धारण गरिएको समितिले जनाएको छ। प्रजिअ तिम्सिनाका अनुसार पहिला कच्ची र अहिले कालोपत्रे भएका कतिपय सडकको भाडादर घटेको पनि छ। तर, कालोपत्रेमा पनि १० प्रतिशतभन्दा बढी नबढाएको उनले दाबी गरे।
यातायात व्यवस्थापन समिति र जिल्लास्थित पूर्वेली जिप तथा ट्याक्सी यातायात प्रालिको समन्वयमा नयाँ भाडादर बिहीबारदेखि नै सबैजसो सार्वजनिक सवारी साधनमा टाँसिदैछ। जिल्ला प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले सवारी दुर्घटनाको प्रमुख कारण चालक नै रहेको तथ्यांक पाइएको बताए। ‘अब चाहिँ कसैले एउटै गल्ती पटक–पटक दोहो-याएको पाइयो भने कालोबजारीअन्तर्गत मुद्दा चलाइने छ,’ उनले भने, ‘टिकट अनिवार्य भएपछि ठगी कम हुने भएकाले यात्रुहरू पनि सचेत रहनु आवश्यक छ।’
प्रालि अध्यक्ष गृष्म सुब्बाले चालकहरूले यात्रुलाई होसियारीसाथ गन्तव्यमा पु¥याएर सहयोग गर्नुपर्ने बताए। ‘इलाम आउने पर्यटकदेखि सबैखाले यात्रुलाई नभ्र, भद्र, सालिन ढंगले व्यवहार गर्नुहोस्,’ उनले चालकहरूलाई भने, ‘जिल्ला भित्रिने पर्यटकको सबैभन्दा पहिलो भेट सवारी चालकसँगै हुने भएकाले तपाइँको व्यवहार नै पर्यटकले बुझ्ने सबै इलामेको व्यवहार हुनेछ भन्ने सोचेर काम गर्न गर्नुपर्छ।’ यात्रुलाई सन्तुष्ट बनाएर सेवा दिन उनले आग्रह पनि गरे।
दसैंतिहार जस्ता चाडबाडको बेला सवारीका साधनले यात्रुबाट दोब्बरसम्म भाडा लिएको गुनासो आउने गरेको छ। जिल्ला ट्राफिक प्रमुख पदम राईले भर्खरै गएको दसैंका बेला पनि कतिपय सवारीका साधनले यात्रुबाट बढी भाडा असुलेपछि प्रहरीले चालकलाई कारबाही गर्दै भाडा फिर्ता गराएको बताए।
प्रकाशित: १५ कार्तिक २०७५ १४:५९ बिहीबार