वीरगन्ज– वीरगंज पथलैया औद्योगिक करिडर फलामबाट बिभिन्न किसिमका तयारी बस्तु बनाउने उद्योगहरुमा लगानी उल्लेखनीय रुपमा बढेको छ। गत मधेश आन्दोलनताका बन्द भएको वीरगन्ज पुनः सुचारु भएयताको ३ बर्षमा करिडोरमा फलाम उद्योगहरुमा मात्र पाँच सय करोडभन्दा बढीको औद्योगिक लगानी थपिएको छ।
‘आफ्नो किसिमको नेपालकै ठुला उद्योगका रुपमा २ वटा उद्योग हामीले संचालनमा ल्याएका छौं,’ क्याल समूहका अध्यक्ष सत्यनारायण क्यालले भने, ‘बजार अध्ययनपछि हामीले उद्योगको आधुनिकीकरण र बिस्तार आवश्यक ठान्यौं, करिब दुई सय पचास अर्ब लगानीमा नारायणी स्पात र नारायणी स्ट्रीप्स दुई उद्योग हामीले ल्याएका हौं।’
यस करिडोरमा रहेका आधादर्जन बढी फलामे डण्डी उद्योग र फलामका बिभिन्न खाले बस्तु बनाउने उद्योगले आफ्नो क्षमता बिस्तार र नयाँ उद्योगमा गरेको लगानी पाँच सय करोडभन्दा बढीको छ। त्रिभुवन राजपथको वीरगन्ज पथलैया सडकखण्डको छेउमा रहेको, टिएमटी डण्डी, एंगल, पट्टी उत्पादन गर्दै आएको आफ्नो नारायणी रोलिंग मिल नजिकै क्याल समूहले आफ्ना दुई उद्योग संचालनमा ल्याएको हो। फलामे डण्डी (छड)को कच्चा पदार्थ ‘एमएस बिलेट’ उत्पादनको महत्वाकाँक्षी योजनासाँथ सुरु भएको नारायणी स्पातले असार २४ देखी डण्डी उत्पादन थालेको र दुई महिनाभित्र बिलेट उत्पादन सुरु गर्ने क्यालले बताए।
वार्षिक १ लाख मेट्रिक टन उत्पादन क्षमताको उद्योगमा ‘स्पन्ज आइरन’ र पुरानो फलाम प्रसोधन गरेर बिलेट बनाइने उनले जानकारी दिए। त्यसतै ०.२१ ‘एमएम’देखी ०.५५ ‘एमएम’सम्मको बिभिन्न खाले जस्ता पाता उत्पादन गर्ने नारायणी स्ट्रीप्सले करिब एक बर्षदेखी उत्पादन थालेको उद्योगका महाप्रबन्धक कमलजीत बर्माले बताए। दैनिक ३ सय टन उत्पादन क्षमता रहेको उद्योगमा अहिले बजारको माग अनुसार मात्र उत्पादन गरिराखिएको उनले बताए। आफुहरुले ६ फिटदेखी २२ फिटसम्मका गुणस्तरीय जस्तापाता उत्पादन गर्ने गरेको उनले जानकारी गराए।
यस बाहेक वीरगन्ज महानगरपालिका–२८, बगहीमा सर्वोतम स्टील्स प्रालि, बिन्दवासिनी गाउँपालिकामा हुलास आइरन इण्डष्ट्रिज प्रालि स्थापना हुन लागेको छ। त्यस्तै छडको बजारमा ठुलो हिस्सा अगोटेको शंकर औद्योगिक समुहको जगदम्बा स्टिल्सले पनि आफ्नो क्षमता अभिबृद्धीमा पछिल्लो समयमा लगानी बढाएको छ। ‘हामीले बजारको माग अनुसार आपुर्ती गर्नका निम्ति क्षमता बढाउदै लगेका छौं,’ उद्योगका एक जना निर्देशक अनुराग शर्माले भने। जगशक्ति स्टिलका संचालक अनिल रुँगटाले पनि आफुहरुले उत्पादन क्षमता अभिबृद्धी गर्न लागेको बताए।
फलाम आयातमा बृद्धि
फलामका सामान बनाउने उद्योगमा लगानी बढेसंगै उत्पादन र औद्योगिक कच्चा पदार्थको रुपमा बिभिन्न खाले फलामको आयात समेत बढेको छ। देशको प्रमुख ब्यपारिक नाका वीरगन्ज भन्सार र रेलमार्फत समुद्री बन्दरगाहसंग जोडिएको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय भएर गत आर्थिक बर्ष २०७४÷०७५ मा दश लाख ७५ हजार ६ सय ८८ टन बिभिन्न खाले फलाम भित्रिएको छ।
यो भनेको २० टनको दरले त्रिपन्न हजार ७ सय ८४ वटा ठुला ट्रकमा अटाउने बराबर फलाम हो। वीरगन्जका यि दुई नाका भएर अघिल्लो बर्षको तुलनामा आर्थिक बर्ष २०७४÷०७५ मा ११.१५ प्रतिशत बढी फलाम भित्रियो। आर्थिक बर्ष २०७३/०७४ मा दुई नाकाबाट आयात भएको ९ लाख ६७ हजार ७ सय १७.२६ टनभन्दा यो बर्ष एक लाख ७ हजार ९ सय ७० टन बढी फलाम यहाँ भित्रिएको हो।
आयात भएका यी फलाम बिभिन्न मोटाईका फलामे डण्डी (छड), जस्तापाता, ग्रिलका सामग्री, फलामे ट्रस, एँगल, चदरा, तार, जाली, पाइप जस्ता निर्माण सामग्री र ग्यास सिलिण्डर, ट्यांकी, ट्यांकर, बस ट्रकका बडीमा लाग्ने समान आदी बनाउनमा प्रयोग हुने गरेको छ। निर्माण सामग्री बनाउने फलाम भित्रिनु भनेको भानैतिक पुर्वाधार विकासको दृष्टिकोणले साकारात्मक सूचक भएको उद्योगी बताउँछन्।
प्रकाशित: १५ कार्तिक २०७५ १२:४० बिहीबार