coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हराएको हतियार ५० दिनपछि पृतना हाताभित्रै फेला

डोटी– दिपायलस्थित सुदूरपश्चिम पृतना हेडक्वार्टर दिपायलबाट हराएको हतियार शुक्रबार फेला परेको छ। हराएको ५० औँ दिनपछि सो हतियार फेला परेको हो।

नियमित सर्चका क्रममा शुक्रबार बिहान पृतनाको हाताभित्रै हतियार फेला परेको नेपाली सेनाले जनाएको छ।  सुदूरपश्चिम पृतना हेडक्वार्टरले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै पृतनाबाट कुलपाते जाने बाटोमा सो हतियार फेला परेको जानकारी दिएको छ। बिज्ञप्तिमा थप अनुसन्धानको प्रक्रिया जारी रहेको उल्लेख छ।

सुदूरपश्चिम पृतना हेडक्वार्टर दिपायलमा रहेको  गरुड दल गणबाट गत साउन २१ गते एक थान सर्ट मेसिन गन (एसएमजी), २ थान त्यसमा लाग्ने लोडेड अबस्थामा रहेको म्यागजिन र २ सय ८८ राउण्ड गोली गायब भएको खबर थियो। तर त्यो कुरालाई सेनाले आधिकारिक रुपमा पुष्टि भने अझै गरेको छैन। सेनाले सो बारेमा यसअघि जारी गरेका विज्ञाप्तिहरुमा ‘हतियार गन्तीका क्रममा नपुग भएको’ भन्ने व्यहोरा जानकारी गराउँदै आएको थियो।

त्यसपछि सेनाले तत्कालिन अवस्थामा ड्यूटीमा रहेका सैनिक कर्मचारीहरुलाई थुनामा राखेर अनुसन्धान थालेको थियो। त्यसक्रममा उनीहरुमाथि चरम यातना भएको, सैनिक आफन्तहरुलाई भेटघाट गर्न नदिएको, अनुसन्धानमा धामीझाँक्रीको प्रयोग गरिएको  खबरहरु बाहिर आएका थिए। तर, ती सबै कुरालाई सेनाले नकार्दै आईरहेको छ। यसै क्रममा थुनामा रहेका एक सैनिक हबल्दार दीपक खड्काले आफैलाई गोली हानेर आत्महत्या गरेका थिए।

आफन्तले भेट्न नपाएको समाचार प्रकाशित भएपछि केही आफन्तहरुले थुनामा रहेका सैनिक कर्मचारीलाई सामान्य भेटघाट गर्न पाएका थिए। तर, सबै सैनिकका आफन्तहरुलाई भेट्न नदिइएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको थियो। उजुरीका आधारमा अनुसन्धान गर्न पुगेको राष्ट्रिय मानवअधिकारको टोलीलाईसमेत नेपाली सेनाले पृतनाभित्र प्रबेश गर्न दिएको थिएन।

हतियार हराएको मुद्दालाई थप अनुसन्धानका लागि असोज ४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली दिपायल पुगेको थियो। नेपाली सेनाको आग्रहमा एकजना एसएसपी र दुई जना डिएसपीसहितको सिआइबीको टोलीले पनि हतियार हराएकोबारे अनुसन्धान शुरु गरेको थियो।  

शुक्रबार हतियार भेटिए पनि थप अनुसन्धान भने जारी रहेको पृतना हेडक्वार्टर दिपायलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ७ आश्विन २०७३ १३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App