८ वैशाख २०८१ शनिबार
खेल

पारसकाे टिम चितवनको प्ले अफ सम्भावना बलियो, ज्ञानेन्द्रकाे काठमाडौं १३ रनले पराजित

काठमाडाैंविरूद्द ब्याटिङ गर्दै चितवनका खेलाडी । तस्बिरः उमेश पुन/नागरिक

काठमाडौं – काठमाडौं रोयल्सलाई १३ रनले पराजित गर्दै चितवन राइनोजले पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ।

सुरुका २ खेलमा लगातार हार ब्यहोरेको चितवनले बुधवार भएको तेस्रो खेलमा धनगढी ब्लुजलाई पराजित गर्दै पहिलो जित निकालेको थियो। यो सँगै चितवनले ४ खेलबाट ४ अंक जोडेको छ। काठमाडौंले भने तेस्रो खेलमा आएर पहिलो हार ब्यहोरेको छ। अघिल्ला २ खेलमा लगातार जित निकाल्दै काठमाडौंले २ खेलबाट ४ अंक जोडेको थियो। चितवनसँग हारेपनि काठमाडौंको प्लेअफमा सम्भावना कायमै छ। जितसँगै चितवन तेस्रो स्थानमा उक्लिएको छ।

पोखरा रंगशालामा बिहीबारको पहिलो खेलमा चितवन राइनोजले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको काठमाडौं रोयल्स २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रनमा समेटियो। काठमाडौंका लागि गौरव तोमारले सर्वाधिक ३९ रनको योगदान दिए। ३५ बल खेलेका तोमारले ४ चौंका र १ छक्का प्रहार गरे।

कप्तान ज्ञानेन्द्र मल्ल २२ बलमा ३ चौंका र १ छक्काको मद्दतमा ३० रन जोडेर आउट भए। त्यस्तै पवन सर्राफले २२ बलमा ३ चौंका र १ छक्काको सहयोगमा २८ र जयकिशन कोल्सवालाले १४ बलमा १८ रन बनाउनु बाहेक अन्यको प्रदर्शन राम्रो रहन सकेन।

काठमाडौंलाई १३६ रनमा समेटन चितवनका करण केसीले ३, कप्तान पारस खड्काले २ तथा सन्नी पटेल, सुमित पटेल र भुवन कार्कीले एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पारस खड्काको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४९ रन बनाएपछि ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सले १५० रनको लक्ष्य पाएको थियो।

चितवनका लागि ओपनर अनिलकुमार शाह र हरीशंकर शाहले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरे। अनिल ७.२ ओभरमा २७ रन बनाएर आउट भए। उनले २७ बलको सामना गर्दै ३ चौंका र १ छक्का प्रहार गरे। अनिल आउट भएपछि क्रिजमा आएका कप्तान पारस खड्का १४ रन बनाएर दोस्रो विकेटका रुपमा पवेलियन फर्किए।

अर्का ओपनर हरीशंकर शाहले सर्वाधिक ६० रनको योगदान दिए। उनले ४९ बलमा ५ चौंका र ३ छक्का प्रहार गरे। उनी १८.३ ओभरमा पवन सर्राफको बलमा तेस्रो विकेटका रुपमा आउट भए। त्यस्तै सुमित पटेलले २४ बलमा ३ चौंका र १ छक्काको मद्दतमा ३१ र सन्नी पटेलले ७ बलमा १३ रन बनाए। काठमाडौं रोयल्सका लागि बसन्त रेग्मीले २ तथा नन्दन यादव र पवन सर्राफले एक–एक विकेट लिए। 

प्रतियोगिताको दोस्रो खेलमा दिपेन्द्र सिंह ऐरीको धनगढी ब्लुज र सोमपाल कामीको बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा हुँदैछ। ३ खेलबाट २ अंक जोडेको धनगढीलाई अघिल्लो चरणमा स्थान बनाउन बुटवललाई जित्नै पर्ने हुन्छ। यता बुटवल ३ खेलबाट ४ अंक जोडेर लिगको शीर्ष स्थानमा छ। बुटवल चौथो खेल जितेर प्ले अफ यात्रा बलियो बनाउन चाहन्छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App