४ वैशाख २०८१ मंगलबार
अर्थ

चिनियाँ पर्यटक ४८ प्रतिशतले बढे

फाइल फोटो

काठमाडौं - पछिल्लो समय मुलुकमा चिनियाँ पर्यटकको संख्या उल्लेख बढेको छ। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार पछिल्लो नौ महिनामा नेपाल आउने चिनियाँ पर्यटकको संख्या ४८ प्रतिशतले बढेको छ।

सन् २०१८ को जनवरीदेखि सेप्टेम्बरसम्म एक लाख नौ हजारभन्दा धेरै चिनियाँ नेपाल आएका छन्। यो संख्या गत वर्षको सोही अवधिको भन्दा ४८ प्रतिशतले बढी भएको नेपाल पर्यटन बोर्डका दक्षिण एसिया प्रवद्र्धक नविन पोखरेलले बताए।

‘सन् २०१७ जनवरीदेखि सेप्टेम्बरसम्म नेपाल आउने चिनियाँ पर्यटकको संख्या ७३ हजार ६ सय सातमात्र थियो,’ पोखरेलले भने, ‘यो वर्ष यो संख्या एक लाख नौ हजारभन्दा माथि पुगिसकेको छ।’ उनका अनुसार सन् २०१७ को वर्षभरिको चिनियाँ आगमनलाई यस वर्ष नौ महिनाले उछिनेको छ। सो वर्ष कुल एक लाख चार हजार चिनियाँ नेपाल भित्रिएका थिए।

पछिल्लो नौ महिनामा मुलुकमा एक लाख नौ हजारभन्दा धेरै चिनियाँ पर्यटक भित्रिएका छन्।

अघिल्लो वर्षको तुलनामा चिनियाँ पर्यटक आउने क्रम तीव्र रुपमा बढेको पोखरेलले बताए । नेपालले चीनमा पर्यटन प्रवद्र्धन र चिनियाँहरुमा भ्रमणमा चासो बढाउँदै गएकाले उनीहरु आउने क्रम बढेको बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्रले बताए । ‘हामीले चीनमा नेपालको प्रवद्र्धन राम्रोसँग गरिरहेका छौं,’ मिश्रले भने, ‘नेपालमा चिनियाँ पर्यटक बढ्नुमा यो पनि कारण हो।’

नेपालले चिनियाँ भाषामा वेबसाइट बनाउने र चीनमा नेपाल प्रवद्र्धन कार्यक्रम गरिरहेको बोर्डले जनाएको छ । पछिल्लो समय काठमाडौं, पोखरा, पुनहिल लगायत ठाउँमा घुम्ने चिनियाँ बढेका छन् । ‘चिनियाँहरु ट्रेकिङभन्दा अन्य ठाउँमा घुम्न रुचाउँछन्,’ पोखरेलले भने, ‘काठमाडौं र पोखरामा आउनेको संख्या उलेख्य बढेको छ।’

चिनियाँ पर्यटक आगमन गत जुलाईमा ह्वात्तै बढेको थियो। अघिल्लो वर्षको तुलनामा उक्त महिनामा एक सय २५ प्रतिशतले बढी चिनियाँ आए। अफ सिजनमा पनि चिनियाँ पर्यटक नेपाल आउनु राम्रो पक्ष भएको पोखरेलले बताए।

त्यसैगरी, नेपालमा चिनियाँ पर्यटक बढेको उनीहरुको बाहिर घुम्ने इच्छाले पनि हो। पछिल्लो समय चीन सरकारले नै आफ्ना नागरिकलाई विदेश घुम्न प्रेरित गरिरहेको छ।

चीनबाट विदेश घुम्नेको संख्या वार्षिक १४ करोड ५० लाखभन्दा बढी छ। यसमध्ये नगन्य मात्रामा मात्र नेपाल घुम्न आएको बोर्ड जनाएको छ । चिनियाँको आम्दानी बढ्नु, घुम्नु पर्छ भन्ने चेतना बढ्नु लगायत कारणले चिनियाँ पर्यटक बढेको पोखरेलको विश्लेषण छ।

सररकाले सन् २०२० लाई पर्यटन वर्ष मनाउने घोषणा गरिसकेको छ। उक्त वर्ष नेपालमा २० लाख पर्यटक ल्याउने घोषणा गरेको बेला चिनियाँ पर्यटक संख्या बढाउनु आवश्यक छ। पर्यटन वर्षमा २० लाख पर्यटक पु-याउन चिनियाँ र भारतीयलाई नेपाल आउने व्यवस्था सहज गर्नु आवश्यक रहेको पोखरेलले बताए।

‘२० लाख पर्यटक ल्याउन हवाई सिटले पुग्दैन,’ पोखरेलले भने, ‘चिनियाँ र भारतीय पर्यटक ल्याउन स्थलमार्गलाई जोड दिनु पर्छ।’ भारतीय पर्यटक स्थलमार्गबाट आउने भए पनि चिनियाँ हवाई मार्गबाट मात्र आउँछन्। छिमेकी देश भएकाले स्थलमार्गबाट उनीहरु आउने व्यवस्था मिलाउनुपर्ने बोर्डको सुझाव छ।

नेपालमा अहिले स्थलमार्गबाट झन्डै २० प्रतिशत पर्यटक आउने गरेका छन्। २० लाख पर्यटक पु-याउन यो संख्यालाई धेरै माथि पु-याउनुपर्ने पोखरेलको धारणा छ। ‘अहिलेको अवस्थामा मुलुकमा २० लाख पर्यटक पु-याउन एयर सिटले पुग्दैन,’ पोखरेलले भने, ‘यसको विकल्पमा स्थलमार्ग बनाउनुपर्छ।’

भविष्यमा नेपालमा चिनियाँ पर्यटकको संख्या अझ बढ्ने अनुमान गरिएको छ। चीनमा हाल झन्डै १० प्रतिशत जनसंख्याले मात्र पासपोर्ट बनाएको बताइन्छ। यति सानो संख्याले मात्र विदेश भ्रमण गर्न पाउने अवस्थामा यो संख्या ह्वात्तै वृद्धि भएमा नेपालमा पनि चिनियाँ पर्यटक बढ्ने पोखरेलले बताए।

प्रकाशित: १५ कार्तिक २०७५ ०५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App